प्रवास

रुससमर्थक पृथकतावादी गढ त्याग्दै

डोनेस्क,युक्रेन – पूर्वी युक्रेनमा रुससमर्थक पृथकतावादीले आफ्नो बलियो नियन्त्रण रहेको गढमध्ये एउटा स्लाभिन्स्क त्यागेर हिँडेका छन्।युक्रेनी सेनाले पृथकतावादीले सहर छोडेर हिँडेपछि त्यहाँ युक्रेनको झण्डा फहराएको छ। स्लाभिन्स्कका स्वघोषित मेयरले विद्रोहीले उक्त नगर परित्याग गरेको बताए। स्थानीय एक वासिन्दाले फोनमा विद्रोहीले नियन्त्रणमा लिएको क्षेत्र बिहानैदेखि खाली देखिएको बताए। 
स्लाभियान्स्क मुलुकको सबैभन्दा ठूलो हतियार भण्डार हो र त्यसलाई अप्रिल ६ देखि विद्रोहीले नियन्त्रण्मा लिएका थिए। यस नगरलाई पुनः आफ्नो नियन्त्रणमा लिने क्षमताले युक्रेनको क्षमता विकास भएको देखाएको छ। 
युक्रेनका गृहमन्त्री आर्सन आभाकोभले फेसबुकमा लडाकूका कमान्डर इगोर स्त्रेलकोभको नेतृत्वमा लडाकूहरु फिर्ता गएको बताउनुभयो। स्त्रेलकोभ रसियाली गुप्तचर सेवा जीआरयुको कर्णेल भएको आरोप लगाइएको छ। 

स्त्रेलकोभ तथा मस्कोले जीआरयुको कुनै संलग्नता भएको अस्वीकार गरेका छन्। पश्चिमी मुलुकले किभलाई अथिर बनाउन विद्रोहीलाई क्रेमलिनले कोष तथा हतियार उपलब्ध गराएको आरोप लगाएका छन्। विद्रोहीले युक्रेनको पूर्वी भागको रसियाली भाषा बोल्ने क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको छ। 
युक्रेनका प्रतिरक्षामन्त्री भालेरी गेलेटीले राष्ट्रपति पेत्रो पोरोसेन्को तथा उहाँको सेनाले नगरको सभाकक्षमा राष्ट्रिय झण्डा फहराएको बताउनुभयो। युक्रेन सन् १९९१ मा स्वतन्त्र भएको हो भने मे २५ मा भएको निर्वाचनमा पोरासेन्कोले विजय हासिल गर्नुभएको हो। 
नगरका एक वासिन्दा कोल्या चेरेपले टेलिफोनमा लडाकूको गिरफ्तारी अचम्मलाग्दो भएको र कसैलाई पनि यो घटना भएको थाहा नभएको बताए। 
स्त्रेलकोभले क्रेमलिन समर्थक लाइफन्युज च्यानललाई आफ्नो सैनिक एकाइ एक वा दुई सातामा नष्ट गरिने जानकारी दिएका थिए। 
युक्रेनको राजधानी किभमा क्रेमलिन समर्थक सरकार पतन भएपछि स्लाभियान्स्कमा पनि विद्रोह आरम्भभएको थियो। यसपछि रसियाले क्राइमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो। 
यसपछि पूर्वी युक्रेनमा ४७० व्यक्तिको मृत्यु भइसकेको छ। राष्ट्रपति पोरोसेन्कोले शुक्रबार विद्रोही तथा रसियासँग तत्कालै वार्ता गर्ने बताउनुभएको थियो। राष्ट्रपति पोरोसेन्कोको आह्वानप्रति शनिबारसम्म मस्को वा मध्यस्थ युरोपमा सुरक्षा तथा सहयोग सङ्गठनले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन्।

प्रकाशित: २१ असार २०७१ १९:३१ शनिबार