कुनै पनि चिनियाँ नेताले उत्तर कोरियाभन्दा अघि दक्षिण कोरियाको भ्रमण गरेको यो पहिलो अवसर हो। दक्षिण कोरियाली राष्ट्रपति पार्क गुएन–हाईले उत्तर कोरियालाई जसरी भए पनि आणविक शस्त्ररहीत बनाउन चीन र दक्षिण कोरिया दुवै सहमत रहेको बताइन्। उत्तर कोरियाले केही समययता नियमितजस्तै लगातार मिसाइल परीक्षण गरेपछि दुवै छिमेकी देशले विरोध जनाएका हुन्।
उत्तर कोरियाले समुद्रमा छोटो दुरीको रकेट परीक्षण गरेको एक दिनपछि चिनियाँ राष्ट्रपति दक्षिण कोरियाको भ्रमणमा गएका हुन्। गएको वर्ष उत्तर कोरियाले तेस्रो आणविक परीक्षण गरेको थियो। अहिले भने उसले चौथो आणविक परीक्षणको तयारी गरिरहेकेा अनुमान गरिएको छ।
सोलमा भएको संयुक्त पत्रकार सम्मेलनमा दक्षिण कोरियाली राष्ट्रपति पार्कसँग उपस्थित चीनका राष्ट्रपति सिले उत्तर कोरियालाई आणविक शस्त्ररहीत बनाउनु दुवै राष्ट्रको साझा लक्ष्य भएको बताएका थिए। साथै उनले वार्ता र सहमतिबाटै उत्तर कोरियालाई आणविक निशस्त्र बनाउनु पर्नेमा जोड दिए।
राष्ट्रपति सिले उत्तर कोरियासँग आणविक वार्तामा संलग्न ६ राष्ट्रसँग सहमतितर्फ जान पनि आग्रह गरेका थिए। उत्तर कोरियाले वार्तामा कुनै अभिरुची नदेखाए पनि दक्षिण कोरिया भने उसँग शान्ति वार्ता गर्न चाहन्छ।
उत्तर कोरियालाई आणविक निशस्त्र बनाउन दक्षिण कोरिया र चीन दुवै सहमत भए पनि कसरी निशस्त्र बनाउने भन्नेमा दुवैबीच मतैक्य छैन। दक्षिण कोरिया आणविक निशस्त्र बनाउन उत्तर कोरियामाथि चीनले दबाब देओस् भन्ने चाहन्छ। तर चीन भने कुनै पूर्वसर्त बिनै उत्तर कोरियासँग वार्ता गर्न र त्यहाँको स्थायित्वमा ध्यान दिनु पर्ने बताउँदै आएको छ।
दुवै देशबीच लामो समयदेखि मतान्तर रहँदै आए पनि चीन र दक्षिण कोरियाबीच द्विपक्षीय सम्बन्ध सुधार हुन थालेको महसुस गरिएको छ। दुवैले जलसीमा सम्झौताको घोषणा गरेका छन्। साथै दुवै देशबीच प्रत्यक्ष मुद्रा सटही र क्षेत्रीय आर्थिक सहयोगको पनि घोषणा गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ।
चिनियाँ राष्ट्रपति सिको भ्रमण टोलीमा विभिन्न कम्पनीका २ सय ५० जना प्रमुखहरू समावेश छन्। उनको टोलीमा अलिबाबा इकमर्सका संस्थापक ज्याक मा र चिनियाँ सर्च इन्जिन बाइडुका अध्यक्ष रोबिन लि समेत दक्षिण कोरिया भ्रमणमा छन्। सि र पार्कले राष्ट्रपति पद सम्हालेयता दुवै देशबीच भएको यो पाँचौं द्विपक्षीय छलफल हो। गत वर्ष दक्षिण कोरियाली राष्ट्रपति पार्कले चीन भ्रमण गरेकी थिइन्।
प्रकाशित: १९ असार २०७१ १९:३७ बिहीबार