प्रवास

पृथु बाँस्कोटाको उपचारार्थ मैत्रीपूर्ण क्रिकेट

सिड्नी— नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पृथु बाँस्कोटाको स्वास्थ्य उपचारको सहयागार्थ अष्ट्रेलियाको सिड्नीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। गएको आइतवार सिड्नीको पश्चिम लिड्कममा रहेको वाइट पार्कमा प्रवासी नेपाली मञ्च, अस्ट्रेलिया र नेप्लिज क्रिकेट एशोसिएसन अष्ट्रेलियाले संयुक्त रुपमा उक्त ट्वान्टी–ट्वान्टी प्रतियोगिता आयोजना गरेका हुन्।

नेप्लिज क्रिकेट एबोसिएसन अष्ट्रेलिया (एनसिसिए ११) र लुम्बिनी क्रिकेट क्लब बिच भएको यो मैत्रीपूर्ण खेलमा बास्कोटा पनि दर्शकको रुपमा मैदानमा उपस्थित भएका थिए।

घुँडाको लिगामेन्ट च्यातिएका कारण सिड्नीको नेपियन अस्पतालमा उपचार गराइरहेका बास्केटाको दुई हप्ता अघि शल्यक्रिया भएको थियो। अहिले उनले साप्ताहिक रुपमा फिजीयोथेरापी गराईरहेका छन्।

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले बास्कोटाको खाने बस्ने र अस्पताल लैजाने ल्याउने ब्यवस्था मिलाएको अध्यक्ष डा बिनोद श्रेष्ठले नागरिकन्युजलाई बताए। हेल्प पृथ्यु बास्कोटा अभियानले उपचारका लागि आवश्यक १५ हजार डलर मध्ये अधिकांस संकलन गरिसकेको बताइएको छ। सिड्नीका मनिष गौतम र ब्रिसवेनका बिपिन कार्कीको अगुवाइमा वेबसाईट र फेसबुक मार्फत संसारभरका नेपालीहरुले सहयोग जुटाइरहेका छन्।

शल्यक्रियापछि पूर्ण रुपमा खेल्न लायक भएर मैदानमा उत्रने अभिलासा उनमा छ। 'फुटबल र क्रिकेटका विश्व प्रसिद्ध खेलाडीहरुले पनि यस्तो अप्रेसन गरेका हुन्छन् र निको भएपछि पुन खेलमा फर्किएका छन्', बास्कोटाले भने, 'म अझ स्वस्थ र बलियो भएर मैदानमा फर्कने छु।'

प्रकाशित: ९ असार २०७१ ०२:४४ सोमबार