एनआरएन अमेरिकाका नवनिर्वाचित अध्यक्ष खगेन्द्र जिसीले दोहोरो कर प्रणाली र अध्ययनका लागि अमेरिका आएका नेपाली विद्यार्थीको सोसल सेक्युरिटी सम्बन्धी व्यवस्थामा रहेका केही समस्यालाई प्राथमिकतासाथ उठाउन लागिएको जानकारी दिए। निर्वाचित भएपछि नागरिकन्युजसँग कुरा गर्दै अध्यक्ष जिसीले नेपाल र अमेरिकी सरकारबीच आयकर सम्बन्धी सन्धि नहुँदा दुवैतर्फ अर्थात् दोहोर कर तिर्न बाध्य हुनुपरेको गुनासो गरे।
'नेपालमा रहेको आफ्नो घरजग्गा वा अन्य बस्तुको खरिदबिक्री गर्दा त्यहाँ आयकर तिर्नुपर्छ भने त्यो रकम यहाँ ल्याउँदा फेरि अमेरिकी सरकारलाई आयकर तिर्नुपर्छ,' जिसीले प्रस्ट्याए– एउटै वस्तुको खरिदबिक्रीमा दुईपटक आयकर तिर्नुपर्ने अवस्थाबाट मुक्त गरियोस् भन्ने हाम्रो माग हो। यस सम्बन्धमा नेपालमा अर्थ र परराष्ट्रमन्त्रीसँग व्यक्तिगत रूपमा एक चरण छलफल भइसकेको जानकारी दिँदै अध्यक्ष जिसीले त्यसलाई संस्थागत गरिने बताए। नेपालले चाहे यो सन्धि हुनसक्ने जिसीको विश्वास छ।
एकमुष्ठ दश हजार डलरभन्दा बढि रकम ल्याए त्यस्को स्रोत खुलाई आयकरसमेत बुझाउनुपर्ने अमेरिकी कानुनमा उल्लेख छ। यसैगरी अमेरिकामा अध्ययनरत विद्यार्थीले काम गर्दा काटिएको 'सोसल सेक्युरिटी' बापतको रकम ऊ नेपाल फर्कंदा लान पाउने व्यवस्थाका लागि पनि दुवै पक्षसँग कुरा गर्ने जिसीले बताए। एक वर्षमा दुई हजार डलरका दरले कुनै विद्यार्थीले सोसल सेक्युरिटी बापतको रकम बुझाए फर्कने बेलासम्म त्यो पन्ध्र–बीस हजार पुगेको हुनसक्छ। जिसीले भने– 'यो रकम हाम्रो लागि सानो होइन।'
विश्वव्यापी आप्रवासीको साझा माग 'दोहोरो नागरिकता'को विषयले आफ्नो कार्यकालमा पनि निरन्तरता पाउने नवनिर्वाचित अध्यक्ष जिसीले दाबी गरे। नेपाल जाँदा एउटा खल्तीमा अमेरिकी पासपोर्ट र अर्को खल्तीमा नेपाली नागरिकता बोकेर हिँड्नुपरेको सन्दर्भ कोट्ट्याउँदै जिसीले त्यो गैरकानुनी काम रोक्न पनि सरकारले दोहोरो नागरिकताको व्यवस्था गर्नुपर्ने औंल्याए। 'यो व्यवस्था भए हामीले जानीजानी गैर कानुनी काम गर्नुपर्दैनथ्यो।' जिसीले संसारभर छरिएका आप्रवासी नेपालीको बाध्यता खुलस्त पारे
यसअघि आठ दिन लगाएर विद्यूतीय माध्यम र हुलाकमार्फत संकलित मतपत्रको, गणनाअनुसार जिसी अत्यधिक बहुमतका साथ अध्यक्षमा निर्वाचित भएका हुन्। न्यूर्योकमा सार्वजनिक गरिएको परिणामअनुसार जिसी आफ्ना प्रतिष्पर्धी शिबकुमार राईलाई एक हजार भन्दा बढी मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका थिए। जिसीले एक हजार नौ सय अठार पाएका थिए भने राईको पक्षमा जम्मा आठ सय आठ मत खसेको थियो।
यसैगरी बरिष्ठ उपाध्यक्षमा लोक तिवारी र दुई उपाध्यक्षमा क्रमशः श्री पराजुली र बनिता कतिला विजय भएका छन्। त्यस्तै महासचिवको जिम्मेवारी कृष्ण पोख्रेलले पाएका छन् भने कोषाध्यक्षमा बेदराज बस्नेत चुनिएका छन्। साथै, दिलबहादुर श्रेष्ठ सह–सचिव, सञ्जीव श्रेष्ठ सह–कोषाध्यक्ष, नारायण गुरुङ प्रवत्ता र कृष्ण सञ्जेल सञ्चार संयोजक पदमा निर्वाचित भएका छन्। यसैबीच राजा घले, नवीन शेरचन र विनोद शाहले एनआरएन आइसीसी प्रतिनिधिको चुनाव जितेका छन् भने बर्षा मोक्तान युवा संयोजकमा र उमा कार्की महिला संयोजकमा निर्विरोध छानिएका छन्।
प्रकाशित: ४ असार २०७१ २०:१७ बुधबार