प्रवास

तालिवानविरुद्ध आक्रामक कारबाही

इस्लामाबाद– पाकिस्तानले त्यहाँका तालिवानका विरुद्धमा सुरु गरेको आक्रामक कारबाही मङ्गलबार तेस्रो दिनपनि जारी रहेको समाचार छ।पाकिस्तानी तालिवानहरुले गत हप्तामात्र पाकिस्तानको कराँची विमानस्थलमा आक्रमण गरी दर्जनौँ व्यक्तिको हत्या गरेपछि पाकिस्तान सरकारले त्यहाँका तालिवानहरुका विरुद्ध कारबाही थालेको हो।
कारबाहीका क्रममा कयौं तालिवान मारिएको समाचारमा जनाइएको छ। सरकारले तालिवानका विरुद्धमा सुरु गरेको सो बारबाहीका क्रममा तीन दिनमा कम्तीमा पनि १९० जना तालिवान मारिएका बताइएको छ।
सेनाले तालिवानहरुको सम्भावित आश्रयस्थलका साथै सबै सम्भावित क्षेत्रहरुमा आक्रमण गरिरहेको छ। कारबाही निरन्तर रहेको एकजना सैनिक अधिकारीले जानकारी दिएका छन्। सम्भावित क्षेत्रहरुमा तालिानहरुको खोजीगरी उनीहरुका आश्रयस्थलहरु पनि भत्काउने योजना सरकारी सुरक्षा समूहको रहेको बताइएको छ।
सरी जारी गरिएको कारबाहीपछि पाकिस्तानका तालिवानहरु पूर्वी अफगानिस्तानतर्फ भागेको आशङ्का पाकिस्तानी सेनाले गरेको छ। सेनाका अनुसार पाकिस्तानका तालिावनहरुका सम्भावित कयौं आश्रयस्थलका साथै उनीहरुले हत्या हिंसा मच्चाउने र हतियार बनाउने कारखानाहरुमा पनि खोजी गरिएको छ। 
खोजीपछि तालिवानहरु भाग्नसक्ने सम्भावनाका कारण अफगानिस्तानको पूर्वी क्षेत्रको सीमा बन्द गर्नका लागि पाकिस्तानले अफगानिस्तानसँग आग्रह गरेको छ। पाकिस्तानी प्रधानमनन्त्री नवाज शरिफले अफगानिस्तानका राष्ट्रपति हमिद कारजायीलाई देशको सीमा क्षेत्रमा कडाई गर्न आग्रह गर्नुभएको छ। 
उहाँले हाल पाकिस्तानले आफ्नो देशका तालिवानहरुका विरुद्धमा कडा कारबाही सुरु गरेको र जसका कारण उनीहरु अफगानिस्तानतर्फ भाग्नसक्ने भएकोले सो कारबाहीको समयसम्मका लागि सीमा बन्द गर्न आग्रह गर्नुभएको बताइएको छ।
कारबाहीको क्रम मङ्गलबार पनि जारी रहेको छ। मङ्गलबार पाकिस्तानी सेनाले उत्तरी वाजिरिस्तान क्षेत्रमा हवाई कारबाही गरिरहेको छ। कारबाहीका क्रममा त्यहाँ मङ्गलबार मात्र कम्तीमा पनि १३ जना तालिवानको ज्यान गएको छ। कारबाही अझै केही दिन जारी रहने बताइएको छ। 
यसअघि पाकिस्तानी सरकारले तालिवानहरुलाई वार्ताका लागि पनि पहल गरेको थियो। केही समयसम्म तालिवानहरुसँग वार्ताको प्रयास भएको बताइएको भए पनि पछि तालिवानहरुले युद्धविराम एकपक्षीय रुपमा भङ्ग गरेको थियो। गतहप्ता पाकिस्तानको एक ठूलो एवम् अन्तर्राष्ट्रिय विमानस्थलमा नै आक्रमण गरेपछि भने पाकिस्तान सरकार निकै कडा रुपमा प्रस्तुत भएको हो।
झडपमा सात मारिए 
पाकिस्तानको लाहोर सहरमा पाकिस्तान प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा कम्तीमा सात व्यक्तिको मृत्यु भएको समाचार छ। 
जानकारी अस्पताल स्रोतले दिएको छ। उक्त झडपको क्रममा अन्य ५० भन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ। झडपमा ताहिर उल कादरीसमर्थक व्यक्तिहरु रहेका जनाइएको छ। अस्पताल स्रोतका अनुसार दुई महिलासहित सात व्यक्तिको मृत्यु भएको छ। जन्हा अस्पतालका निर्देशक चिकित्सक अब्दुल राउफका अनुसार सो झडपमा परेकाहरुमध्ये अधिकांशलाई गोली लागेको अवस्थामा अस्पताल ल्याइएको थियो।

प्रकाशित: ३ असार २०७१ १९:४४ मंगलबार