प्रवास

शंखमूलमा पार्क बनाउन एनआरएनले २ करोड संकलन गर्ने

बार्सिलोना, (स्पेन)- गैरआवासीय नेपाली संघ (एनआरएन)ले बागमती नदी किनारको शंखमूल घाटमा पार्क निर्माणका लागि २ करोड संकलन गर्ने भएको छ।

नेपालमा सरकारी तथा निजी क्षेत्रसमेत पवित्र बागमती सफाइमा लागिरहेका बेला होस्टेमा हैंसे थप्न रकम संकलन गर्न लागेको एनआरएनका महासचिव कुमार पन्तले जानकारी दिए। युरोप बैठकमा भाग लिन स्पेनको बार्सिलोना आउन लागेका पन्तका अनुसार अधिकार सम्पन्न बाग्मती सभ्यता विकास समिति र गैरआवासीय नेपाली संघबीच यसबारे छिट्टै एउटा समझदारीपत्रमा हस्ताक्षर गरिन लागेको छ।

उत्तरी किनारको झण्डै ३२ रोपनी क्षेत्रमा बनाउन लागिएको उक्त पार्क निर्माणमा २ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। ‘पार्क बागमती सभ्यताको संरक्षण तथा प्रबर्द्धनमा संसारभरि फैलिएका नेपालीहरुको योगदानको चिनोका रुपमा रहनेछ,’ उनले भने। पार्क निर्माणका लागि रकम संकलन,डिजाइन लगायतका सबै कामहरुको संयोजन गर्न संघको कल्याणकारी तथा मानवीय सहायता समितिको हालै बसेको बैठकले समितिका सहअध्यक्ष कुल आचार्यलाई जिम्मा दिएको छ। बागमती नदीको संरक्षण सबै नेपालीलाई मन खोलेर सघाउन सहअध्यक्ष आचार्यले अनुरोध गरे।
शंखमूलमा निर्माण गरिने भएकाले पार्कमा एउटा शंख,धारा तथा पदयात्राका लागि छेउमा बाटो बनाउने गरी डिजाइन तयार भैरहेको उनले बताए।
पार्कको निर्माणका क्रममा र निर्माण सम्पन्न भैसकेपछि पनि गैरआवासीय नेपाली संघलेनै रेखदेख र व्यवस्थापन गर्ने बताइएको छ।

प्रकाशित: २२ जेष्ठ २०७१ ००:३० बिहीबार