कम्पनीसँगको सम्झौताअनुसार बिदा लिएर नेपाल गएपछि फेरि फर्कन समस्या हुने भन्दै उनीहरू एमआरपी बनाउन रियादस्थित नेपाली दूतावास धाइरहेका छन्। वैदेशिक रोजगारमा जानेहरूले वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ बमोजिम श्रम स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था छ। विभागले श्रम स्वीकृति दुई वर्षका लागि दिन्छ। यो अवधि सकिएपछि नेपाल फर्केर पुनः स्वीकृति लिनुपर्छ।
नेपाली दूतावासले एमआरपीका लागि निवेदन गर्न अनुरोध गरेपछि दूतावास र अनौपचारिक सम्पर्क केन्द्रहरूमा घुइँचो बढेको हो। दूतावासका अनुसार दैनिक २ सय ५० जना एमआरपीका लागि निवेदन दिन आइरहेका छन्। रियादस्थित दूतावास कार्यालय र गैर आवासीय नेपाली संघ (एनआरएन) साउदीको सहयोगमा जेद्दा, दमामलगायत ठाउँमा खुलेका अनौपचारिक सम्पर्क स्थानबाट निवेदन संकलन भइरहेको छ। दूतावासका मिसन उपप्रमुख हरिश्चन्द्र घिमिरेले समयमै सबैले एमआरपी बनाऊन् भनेर धेरै नेपाली काम गर्ने कम्पनीमा पत्राचार गरी सूचित गराइएको जानकारी दिए।
‘सम्बन्धित कम्पनीको मानव संशाधन विभागका कर्मचारीलाई एमआरपीका लागि फारम भर्ने प्रशिक्षणसमेत दिन लागेका छौं,' उनले नागरिकसँग भने।
नेपालबाट एमआरपी बनेर आउने क्रम पनि विगतको तुलनामा दुई गुणा बढी रहेको उनले जानकारी दिए। दूतावासका अनुसार अहिले प्रतिमहिना ३ हजार ५ सयभन्दा बढीले एमआरपी पाइरहेका छन्। निवेदन प्राप्त गरेको ३ देखि ४ महिनामा दूतावासले एमआरपी उपलब्ध गराउँदै आएको जनाएको छ।
धेरै नेपाली काम गर्ने जुबैलस्थित एक कम्पनीका एक सय कामदारमध्ये ३५ जनासँग मात्रै एमआरपी छ। साउदी अरबमा लगभग ६ लाख नेपाली कामदार रहेकामा ६५ प्रतिशतको हस्तलिखित राहदानी रहेको अनुमान छ। यही गतिमा बाँकी ३ लाख ९० हजारको एमआरपी तोकिएको अवधिमा बनाउन सम्भव छैन।
प्रकाशित: ३० वैशाख २०७१ २०:५४ मंगलबार