राहुलको र्यालीमा बनारस कंग्रेसको रंगमा रंगिएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्। राहुलको र्यालीमा कंग्रेस समर्थकको निकै ठूलो सहभागिता रहेको थियो। राहुल कंग्रेस उम्मेदवार रायसँग एउटा खुल्ला ट्रकमा सहभागीहरूको अभिभावदन गरेका थिए। राहुलको र्यालीका कारण शनिबार बनारसमा सार्वजनिक यातायात ठप्प भयो। तर शनिबार त्यहाँका सडकमा स्थानीय बासिन्दाकै भीड निस्केको सञ्चारमाध्यमले जनाएका छन्।
र्यालीमा सहभागीहरू नाचगान गरिरहेका थिए भने कतिपय ‘इन्दिरा राजीव अमर रहुन्'जस्ता नारा लगाइरहेका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। र्यालीका कतिपय सहभागीले राहुललाई एक झलक हेर्न बिहानैदेखि पर्खेको बताए। लोकसभाको ९औं तथा अन्तिम चरणको चुनाव प्रचारप्रसारका लागि शनिबार अन्तिम दिन हो। राहुलको र्यालीभन्दा एक दिनअघि शुक्रबार आप नेता केजरीवालले बनारसमा र्याली गरेका थिए।
कंग्रेस नेता गुलाम नबी आजादले राहुल कुनै दल वा नेताविरुद्ध प्रतिस्पर्धा गर्न बनारस आएका नभई आफ्ना दलका उम्मेदवारको चुनाव प्रचार गर्न आएको बताए।
भारतमा सामान्यतया वरिष्ठ नेताले अर्को दलको वरिष्ठ नेताको चुनाव क्षेत्रमा प्रचार नगर्ने अघोषित प्रचलन भए पनि मोदीले राहुलको चुनाव क्षेत्र अमेठीमा चुनावी र्याली गरेका थिए। राहुलले पनि मोदीको चुनाव क्षेत्र बनारसमा शनिबार कंग्रेसी उम्मेदवार रायका लागि चुनाव प्रचारप्रसार गरे।
प्रचारको अन्तिम दिन शनिबार
शनिबार भारतमा निर्वाचन प्रचारको अन्तिम दिन थियो। भारतमा गएको महिनायता नौ चरणमा संसदको तल्लो सदन लोकसभाका लागि चुनाव भइरहेको छ। जारी निर्वाचनमा विभिन्न दलका प्रचार अभियान निकै प्रतिस्पर्धात्मक र तीखो आलोचनायुक्त रहेका छन्।
सोमबार भारतका तीन राज्यमा निर्वाचन हुँदैछ। आम चुनावको मत गणनाको अन्तिम नतिजा मे १६ तारिखसम्म गरिसकिने आयोगले जनाएको छ। बनारसमा पनि सोमबार नै मतदान हुदैछ। करिब ८१ करोड मतदाता रहेको भारतको चुनाव विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यासका रुपमा समेत परिचित छ। जारी निर्वाचनमा कंग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र भाजपाबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
प्रकाशित: २७ वैशाख २०७१ २०:२१ शनिबार