इजिप्ट,(एएफपी)– इजिप्टको एक अदालतले सोमबार छ सयभन्दा बढी नागरिकमाथि सुनाएको मृत्युदण्ड फैसलाको अमेरिका र संयुक्त राष्ट्रसंघले निन्दा गरेका छन्।इजिप्टको दक्षिणी प्रान्तस्थित मिन्याको अदालतले सोमबार मुस्लिम ब्रदरहुडका प्रमुख मोहमद बादिएलगायत ६ सय ८३ जनालाई मृत्युदण्डको फैसला सुनाएको थियो। उक्त फैसलाले विश्वको ध्यान तानेको छ। फैसलाको देशव्यापी रूपमा विरोध भइरहँदा अमेरिका र संयुक्त राष्ट्रसंघले पनि निन्दा गरेका हुन्। विश्वका अधिकारवादीहरूले पनि उक्त सजायको निन्दा गरेका छन्। उनीहरूले अहिलेको युगमा पनि कारबाहीका नाममा यतिधेरै नागरिकलाई मृत्युदण्डको फैसला सुनाइनुलाई पासवकि कार्यको संज्ञा दिएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सोमबार साँझ प्रकाशन गरेको विज्ञप्तिमा विश्व मानवअधिकारप्रति इजिप्टले व्यक्त गरेको प्रतिबद्धताको अवज्ञा भएको जनाएको छ। फैसला तुरन्तै फिर्ता लिन अमेरिकाले आग्रह गरेको छ। त्यसैगरी, संयुक्त राष्ट्रसंघले पनि उक्त कारबाहीको निर्णय तुरन्त फिर्ता लिन माग गरेको छ। विज्ञप्तिमार्फत उसले उक्त कारबाहीको निर्णयलाई अमानवीय भनेर टिप्पणी गरेको छ। मुस्लिम ब्रदरहुडसँग आबद्ध ती व्यक्तिमाथि गत अगस्त १४ मा दक्षिणी मिन्या प्रान्तमा प्रहरीको हत्या गर्नेसम्मको कोसिस गरेको आरोप लगाइएको छ। त्यस दिन प्रहरी र पूर्व राष्ट्रपति मोहमद मोर्सी समर्थकबीच भएको झडपमा सयौं मोर्सी समर्थक व्यक्तिको मृत्यु भएको थियो। उक्त हत्याकाण्डको आरोप अदालतले मुस्लिम ब्रदरहुडमाथि लगाएको छ।
प्रकाशित: १६ वैशाख २०७१ २०:४४ मंगलबार