प्रवास

गुरुङलाई पत्रकार महासंघ यूकेबाट सहयोग

लण्डन-भारतको एपोलो अस्पतालमा मृगौला रोगको उपचार गराइरहेका पत्रकार चुनबहादुर गुरुङलाई नेपाल पत्रकार महासंघ यूके शाखाले ६५ हजार रुपैयाँ उपलब्ध गराएको छ।यूके शाखाबाट प्राप्त रकम शुक्रवार नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले चुनबहादुर गुरुङ स्वाथ्योपचार सहयोग समितिका संयोजक डण्ड गुरुङलाई हस्तान्तरण गरे।

पत्रकार गुरुङलाई महासंघको विदेश शाखाबाट पहिलो पटक सहयोग प्राप्त भएको संयोजक गुरुङले बताए। उनले सहयोगप्रति आभार ब्यक्त गरे। यूके शाखाका अध्यक्ष चिरन शर्माले पत्रकारलाई अप्ठ्यारोमा यसअघि पनि पटकपटक सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तरता दिने बताएका छन। पत्रकार महासंघ यूकेका कार्यसमितिका सदस्यहरुले गुरुङको सहयोगार्थ यूकेमा समन्वयनकारी भूमिका खेलेका थिए।

प्रकाशित: १४ वैशाख २०७१ ०५:५९ आइतबार