प्रवास

बोस्टनमा स्वरुपा १९३ औं

अमेरिका (एजेन्सी)– अमेरिकामा बसोबास गर्दै आएकी सौखिन नेपाली धाविका स्वरुपा खड्काले बोस्टन म्याराथन पूरा गरेकी छन्।

बोस्टन म्याराथनको बेवसाइडमा उल्लेख भएअनुसार सोमबार सम्पन्न ११८औं संस्करणको म्याराथन स्वरुपाले ३ घन्टा ४ मिनेट ०५ सेकेन्डमा पार गरिन। म्याराथन पूरा गर्नेमध्ये समग्रमा ३ हजार ५५औं स्थानमा आएकी स्वरुपा महिलातर्फ १ सय ९३औं स्थानमा रहिन्। 
१६ वर्षदेखि अमेरिकामा रहेकी ३६ वर्षीया स्वरुपाले गत वर्ष यसै म्याराथन ३ घन्टा ०५ मिनेट ०५ सेकेन्डमा पूरा गरेकी थिइन्। उनले गत कात्तिकमा सिकागो म्याराथनबाट सात वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी थिइन्। त्यति बेला उनले २ घन्टा ५७ मिनेट १० सेकेन्डमा दौड पूरा गरेकी थिइन्। 
काठमाडौंको चाबहिल मैंजुबहालमा जन्मेकी स्वरुपाको सेन्ट मेरिज पढ्दादेखि एथलेटिक्ससँग नाता जोडिएको थियो। स्कुले जीवनमा १ सय, २ सय, ४ सय र १ सय मिटर हर्डल्स उनको रुचिको इभेन्ट हुन्थे। १९९५ एसएलसीपछि उनले सेन्ट जेभियर्सबाट आइएस्सी गरिन्। आइएस्सी सकेलगत्तै उनी १९९७ मा उच्चशिक्षाका लागि अमेरिका पुगेकी हुन्।

२ घन्टा १८ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै केन्याकी रिता जेप्टुले बोस्टन म्याराथन जितिन्। उनको यो समय कोर्स कीर्तिमान हो। पुरुषतर्फ अमेरिकाका मेब केफ्लीजिही (२ घन्टा ८ मिनेट ३७ सेकेन्ड) विजयी भए। १९८३ यता मेब बोस्टन म्याराथन जित्ने पहिलो अमेरिकी हुन्।

प्रकाशित: ९ वैशाख २०७१ २०:२९ मंगलबार