प्रवास

मलेसियाद्वारा यात्रुको मृत्यु प्रमाण पत्र वितरण

क्वालालम्पुर, (एजेन्सी)– मलेसियाले बेपत्ता जहाजका यात्रु र चालक दलका परिवारलाई मृत्यु प्रमाणपत्र वितरण थाल्ने भएको सञ्चारमाध्यमले मंगलबार जनाएका छन्।बेपत्ता जहाजका यात्रु र चालक दलको मृत्यु प्रमाणपत्रले उनीहरूका परिवारलाई आर्थिक राहत उपलब्ध गराउन बाटो खुल्नेछ। बेपत्ता यात्रुका परिवार मलेसिया वायुसेवाविरुद्ध अदालत जान सक्ने पनि बेलायती अखबार डेली मिररले उल्लेख गरेको छ। 
मृत्यु प्रमाणपत्र वितरण गरिने समाचारले बेपत्ताका परिवारले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्। मलेसियाको क्वालालम्पुरबाट मार्च ८ मा बेइजिङका लागि उडेको मलेसिया वायुसेवाको बोइङ जहाज एक घण्टामा नै बेपत्ता भएको थियो। अस्ट्रेलियाबाट करिब २५ सय किलोमिटर दक्षिण पश्चिममा बेपत्ता जहाजको खोजी अभियान अहिलेसम्म सफल हुन सकेको छैन। हिन्द महासागरको सुदूर दक्षिणी जल क्षेत्रमा जहाज र ब्ल्याक बक्सको खोजी अभियान सफल हुन सकेको छैन।
बेपत्ता जहाजका यात्रुका परिवारले उक्त जहाज अपहरण गरिएको र यात्रु अझै जीवित नै हुनसक्ने सम्भावना व्यक्त गर्दै आइरहेका छन्। बेपत्ता जहाजमा रहेका २३९ जनामध्ये १५३ जना चिनियाँ थिए। मलेसियाली जहाज हिन्द महासागरको सुदूर दक्षिणी जल क्षेत्रमा दुर्घटनाग्रस्त भएको विश्वासमा खोजी भइरहेको छ।

प्रकाशित: ९ वैशाख २०७१ २०:११ मंगलबार