प्रवास

ओबामाको एसिया आउँदै

वासिङटन, (एजेन्सी)– अमेरिकी राष्ट्रपति बाराक ओबामाले आउँदो साता एसियाको भ्रमण गर्नुहुने र त्यसले यस क्षेत्रसँग अमेरिकी गठबन्धनलाई अझै बलियो बनाउने अपेक्षा गरिएको छ। यसबीच यस क्षेत्रमा तनाव बढिरहेको देखिएको छ।राष्ट्रपति ओबामाले जापान, दक्षिण कोरिया, मलेसिया तथा फिलिपिन्सको भ्रमण गर्नुहुने बताइएको छ। यसबीच उहाँमाथि अमेरिकाका सहयोगी मुलुक तथा चीनबीच जलक्षेत्रका विषयमा भएका विवाद समाधान गर्न दबाब पर्नेछ। 
भ्रमणका समयमा राष्ट्रपति ओबामाले अमेरिकी कडा समर्थन पुनः दोहोर्‍याउनुहुने, प्रशान्त क्षेत्रमा शक्तिको रूपमा उनीहरूको शक्तिमा जोड दिनुहुने र एसियालाई पुनः सन्तुलित बनाउने उहाँको रणनीति कायमै रहेको आश्वासन दिन खोज्नुहुने उहाँका सहयोगीहरूले बताएका छन्। 
उहाँले अन्तरप्रशान्त क्षेत्रीय साझेदारीका विषयमा हाल लम्बिएको छलफलमा प्रगति प्राप्त गर्न प्रयास गर्नुहुनेछ। उहाँले आफ्ना साझेदारहरूलाई यस साझेदारीलाई संसदबाट पारित गराउने आश्वासन दिनुहुने छ। राष्ट्रपति ओबामा मङ्गलबारदेखि भ्रमणका लागि तयार हुनुभएको छ। उहाँको ध्यान युक्रेन तथा मध्यपूर्वमा पनि कायम रहनेछ। 
राष्ट्रपति ओबामाले एसियाका लागि पाँचौ भ्रमण बुधबार जापानमा पुगेर आरम्भ गर्नुहुनेछ। उहाँ त्यहाँ जापानी प्रधानमन्त्री सिन्जो आवेसँग साँझको भोजमा सरिक हुनुहुनेछ। अर्को दिन उहाँ इम्पेरियल प्रसादमा पुग्नुभएपछि भ्रमण औपचारिक बन्नेछ र औपचारिक वार्ता हुनेछ। यसपछि उहाँले प्रधानमन्त्री आवेसँग पत्रकार सम्मेलनमा भाग लिनुहुनेछ। 
सोलमा राष्ट्रपति ओबामाले दक्षिण केरियाली राष्ट्रपति पार्क गुन हेसँग वार्ता गर्नुहुनेछ र उक्त वाता उत्तर कोरियाको विषयमा केन्द्रित हुने बताइएको छ। यसपछि राष्ट्रपति ओबामा मलेसिया पुग्नुहुनेछ र त्यहाँ उहाँले प्रधानमन्त्री नजिब रजाकसँग वार्ता गर्नुहुनेछ। अप्रिल २८ मा अमेरिकी राष्ट्रपति ओबामा फिलिपिन्स पुग्नुहुनेछ र त्यहाँ राष्ट्रपति बेनिग्नो अक्विनोसँग वार्ता गर्नुहुनेछ।

प्रकाशित: ६ वैशाख २०७१ २१:४० शनिबार