प्रवास

माओवादी आक्रमणमा १५ जना मारिए

रायपुर (छत्तिसगढ), (एजेन्सी)– भारतमा संसदको तल्लो सदन लोकसभाका लागि भइरहेको चुनावका बेला शनिबार छत्तिसगढ राज्यमा भएका दुई माओवादी आक्रमणमा १५ जना मारिएका छन्।माओवादीले पहिलो आक्रमण बिजापुर जिल्लामा निर्वाचन अधिकारीको समूहमाथि गरेको थियो। आक्रमणमा सात जना मारिएका छन्। माओवादीले दोस्रो आक्रमण बस्तरको दरभानजिक स्वास्थ्य विभागको एम्बुलेन्समा गरेका थिए। आक्रमणमा केन्द्रीय रिजर्व प्रहरी बलका ६ जवानसहित ८ जना मारिएका छन्। 
प्रहरी प्रवक्ता दिपांसु काबराले बिजापुर जिल्लाको कुटरु थानाअन्तर्गत केतुलनार गाउँनजिकै बसमा फर्किरहेको निर्वाचन टोली बम विस्फोटमा परेको बताए। काबराका अनुसार गाउँ छेउको तलाउनजिक माओवादीले राखेको बम विस्फोटमा निर्वाचन टोली परेको थियो। उनले विस्फोटमा सात जना मारिएको र केही घाइते भएको जानकारी दिए। 
अर्को घटना दरभानजिक तामनारमा स्वास्थ्य विभागको एम्बुलेन्समा माओवादीले आक्रमण गर्दा केन्द्रीय प्रहरी बलमा ६ जवानसहित ८ जना मारिएका हुन्। प्रहरीले कांगेर नेसनल पार्कसँग जोडिएको राष्ट्रिय राजमार्गमा खाली आउँदै गरेको एम्बुलेन्समा प्रहरी बलले लिफ्ट लिएर चढेका थिए। १० जना चढेको एम्बुलेन्स दरभाबाट जगदलपुरतर्फ मोडिनासाथ बारुदी सुरुङको चपेटामा परेको थियो। प्रहरीले सडकमा माओवादीद्वारा पहिले नै बारुदी सुरुङ बिछ्याएको आशंका गरेको छ। शक्तिशाली विस्फोटमा एम्बुलेन्स पुरै ध्वस्त भएको छ। ६ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो। विस्फोटमा प्रहरीका अलावा एम्बुलेन्समा रहेका एक जना प्राविधिक र चालकको पनि मृत्यु भएको छ। विस्फोटबाट एम्बुलेन्सको इन्जिन १५ मिटर पर उछिट्टिएको थियो।
बस्तरमा बिहीबार मतदान भएको थियो। मतदानका क्रममा सात ठाउँमा माओवादीले गोलीबारी गरेका थिए र केही ठाउँमा विस्फोट गराएका थिए। माओवादी विस्फोटमा केही व्यक्ति घाइते भएका थिए।

प्रकाशित: २९ चैत्र २०७० २०:५५ शनिबार