मोदीका पाँच जना प्रस्तावकमा एक जना चिया पसले किरण माहिदा पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उम्मेदवारी दिनुअघि मोदी रोड सोमा सामेल भएका थिए। उम्मेदवारी दिँदा मोदीसँग गुजरात मन्त्रीमण्डलका सदस्यहरुका साथै गुजरात भाजपाका नेतासमेत थिए।
उम्मेदवारीपछि बोल्दै मोदीले वडोदराबाट उम्मेदवारी दिन पार्टीले छान्नु आफ्ना लागि सौभाग्यको कुरा भएको बताए। वडोदरा लोकसभा क्षेत्रमा कंग्रेसले मधुसुदन मिस्त्रीलाई उम्मेदवार बनाएको छ भने आम आदमी पार्टीले सुनील कुलकर्णीलाई उठाएको छ।
‘बनारसले मोदीलाई स्वीकार्दैन'
बनारस लोकसभा चुनाव क्षेत्रमा मोदीविरुद्ध कंग्रेसका उम्मेदवार अजय रायले
मोदी बाहिरबाट आएका अपरिचित भएकाले स्थानीयवासीले अस्विकार्ने दाबी गरेका छन्।
बेलायती सञ्चारमाध्यम बिबिसीसँग रायले मोदीविरुद्ध चुनावमा आफूले राजनीतिक दमखम देखाउने बताए। सन् १९९६यता लगातार पाँचपल्ट विधानसभा चुनाव जितेका रायले बनारसका जनता बाहिरबाट आउनेलाई नरुचाउने भएकाले आफू जित्ने दाबी गरेका छन्।
रायले आफू बनारसको छोरो, भाइ, बनारस परिवारको सदस्य भएको भन्दै मोदीसँगको चुनावी प्रतिस्पर्धा ‘धरतीपुत्र'को लडाईं भएको बताए। आफू बनारसको माटोमा हुर्केकाले ‘आप्रवासी' उम्मेदवार मोदीलाई बनारसवासीले दुत्कार्ने दाबी गरे। उनले बनारस सहिष्णु सहर भएकाले भाजपा महासचिव अमित साह साम्प्रदायिक आधारमा बनारसका मतदातालाई ध्रुविकरण गर्न नसक्ने भन्दै त्यहाँ हिन्दू, मुस्लिम, सिख र इसाई सबै मिलेर बसेको बताए। रायले बनारसमा बिजुली, पानी र सडकको समस्या रहेको र गएका २५ वर्षयता बनारसबाट जितेका भाजपा सांसद र विधायकले माखोसमेत नमारेकाले त्यसको परिणाम मोदीले भोग्नुपर्ने दाबी गरे।
आज ९२ क्षेत्रमा मतदान
बिहीबार नेपालसँग सीमा जोडिएका दुई राज्य बिहार र उत्तर प्रदेशसहित छत्तीसगढ, हरियाणा, जम्मु कास्मिर, झारखनड, केरला, मध्यप्रदेश, महाराष्ट्र, उडिसा, अन्डमान निकोबार, चण्डिगढ, लक्ष्यद्विप र राजधानी दिल्लीका ९२ निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ।
त्यस्तै बुधबार भने अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम र नागाल्यान्डका सात निर्वाचन क्षेत्रका लागि मतदान भयो।
प्रकाशित: २६ चैत्र २०७० २१:०४ बुधबार