प्रवास

अफगानिस्तानमा शान्तिपूर्ण चुनाव

काबुल– अफगानिस्तानमा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान अपेक्षित रुपमा शान्तिपूर्ण रह्यो। निर्वाचन बिथोल्न र चुनावमा खटिएका कर्मचारीमाथि आक्रमण गर्न तालिबानले गरेेको आह्वानका कारण निर्वाचनमा हिंसा हुने अनुमान गरिएको थियो। तर शनिबारको निर्वाचनमा एक जनामात्र मारिएका र एक जना घाइते भएका छन्। 

त्यसबाहेक चुनावमा कुनै हिंसा नभएको निर्वाचन अधिकारीले जनाएका छन्। 
कडा सुरक्षा प्रबन्धका कारण हिंसा हुन नपाएको सरकारले जनाएको छ। साथै यसअघिका चुनावमा भन्दा यसपल्टको चुनावमा सर्वसाधारणले ढुक्क र निर्धक्क रुपमा मतदान गरेको पनि सरकारले जनाएको छ। अफगानहरू मतदानका लागि उत्साहित देखिएका र हत्या गर्ने तालिबानी धम्कीका बाबजुद पनि उनीहरूले लामो समयसम्म पालो पर्खेर मतदान गरेका थिए। 
निर्वाचन अधिकारीले कति प्रतिशत मत खस्यो भन्ने कुनै तथ्यांक नदिए पनि यस पटक धेरै प्रतिशत मत खसेको मात्र बताएका छन्। निर्वाचनका लागि ६ हजार मतदान केन्द्र राखिएका थिए। ती केन्द्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा थियो। तर निर्वाचनको पूर्वसन्ध्यामा भएको एक विदेशी महिला पत्रकारको हत्याले भने अफगानिस्तान स्तब्ध बनाएको थियो।
सबै निर्वाचन क्षेत्रबाट मत पेटिका ल्याउने क्रम सुरु भएको छ। चुनावको अन्तिम नतिजा यही अप्रिल २४ मा घोषणा गरिने छ। अफगानिस्तानका करिब १ करोड २० लाख सर्वसाधारण मतदानका लागि योग्य छन्। ती मध्ये ३५ प्रतिशत महिला छन्। 
अफगानिस्तानका ३४ वटा प्रान्तमा प्रान्तीय परिषद् सदस्य पनि यसै निर्वाचनबाट चुनिने निर्वाचन अधिकारीले जनाएका छन्। परिषद् सदस्यका लागि करिब दुई हजार ५ सयले उम्मेदवारी दिएका छन्। जिल्ला र दुर्गममा हुने निर्वाचन भने निकै कठिन भएको छ। 
त्यसैगरी राष्ट्रपतिका लागि ८ जना उम्मेदवार मैदानमा छन्। राष्ट्रपतिको दौडमा वर्तमान विदेशमन्त्री पनि छन्। निर्वाचनका लागि सरकारले कम्तीमा पनि २ लाख सैनिक परिचालन गरेको छ। त्यस्ता सैनिकमध्ये केही नेटो सैनिक पनि रहेका छन्।
तालिबानले निर्वाचन बहिस्कार गरेका थिए। उनीहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक हट्नुपर्नेमा अमेरिकाकै निर्देशनमा चुनाव गराइएको आरोप लगाएका छन्।

प्रकाशित: २२ चैत्र २०७० २२:०८ शनिबार