मलेसियाको राष्ट्रिय ध्वजावाहक वायुसेवाको बोइङ ७७७ जहाज राजधानी क्वालालम्पुरबाट बेइजिङका लागि उडेको एक घन्टामा नै बेपत्ता भएको थियो। चालक दलका १२ जनासहित २ सय ३९ जना बोकेको जहाज उड्दाउड्दै बेपत्ता भएको १५ दिन बितेको छ। खोजी अभियानमा २६ देशका सयभन्दा बढी जहाज र पानीजहाज जुटे पनि बेपत्ता जहाजको कुनै चिह्न भेटिएको छैन।
चार दिनअघि अस्ट्रेलियाले बेपत्ता जहाजको सम्भावित अवशेष हुनसक्ने दुईवटा ठूला टुक्रा हिन्द महासागरको सुदूरदक्षिणी जल क्षेत्रमा फेला परेको जानकारी दिएको थियो। अस्ट्रेलियाली भूउपग्रहले सम्भावित अवशेषको तस्बिर जारी गरेपछि चिनियाँ भूउपग्रहले पनि शनिबार थप तस्बिर जारी गरेको थियो। तस्बिरमा देखिएका वस्तु अस्ट्रेलियाली सहर पर्थबाट करिब २५ सय किलोमिटर दक्षिण पश्चिममा छन्। फ्रान्सेली उपग्रहबाट प्राप्त तस्बिरमा भने ती वस्तु पर्थबाट २३ सय किलोमिटर टाढा छन्। सम्भावित अवशेषको खोजीमा अस्ट्रेलियाली र चिनियाँ जहाज जुटेका भए पनि त्यस जल क्षेत्रको मौसम खराब भएका कारण फेला पार्न सकेका थिएनन्।
त्यस क्षेत्रमा समुद्री आँधी र बाक्लो कुहिरो लागेकाले बेपत्ता जहाजको खोजी अवरुद्ध भएको थियो। शनिबार भने एउटा खोजी जहाजले हिन्द महासागरको सुदूरदक्षिणी जल क्षेत्रमा अन्य ससाना वस्तुसहित काठको एउटा फल्याक देखेको थियो। आइतबार मौसममा सुधार आएको खोजी कार्यको समन्वय गरिरहेको अस्ट्रेलियाको जल सेनाले जनाएको छ।
प्रकाशित: ९ चैत्र २०७० २०:३७ आइतबार