प्रवास

२४ घन्टासम्म जहाज फेला परेन

क्वालालम्पुर,(एजेन्सी )– मलेसियाको राजधानी क्वालालम्पुर विमानस्थलबाट शनिबार बिहान उडेको एक घन्टापछि मलेसिया एयरलाइन्सको बेपत्ता जहाज अझै फेला परेको छैन। बेइजिङका लागि उडेको जहाज खोजी जारी रहे पनि शनिबार राति अबेरसम्म नभेटिएको मलेसियाका प्रधानमन्त्री नजिब रजाकले शनिबार बेलुकी जानकारी दिएका हुन्।एयरलाइन्सको बोइङ ७७७–२०० जहाज २ सय २७ यात्रु लिएर १२ चालक दलका सदस्य चीनको राजधानी बेइजिङतर्फ जाँदै थिए। दक्षिण चीनको समुद्री आकाशमा जहाज एक्कासि राडार स्त्रि्कनबाट हराएको थियो। जहाज मलेसिया र भियतनामबीच समुद्रमा कतै दुर्घटना भएको अनुमान गरिएको छ।
प्रधानमन्त्री रजाकले मलेसिया र भियतनामको दक्षिणी तटीय क्षेत्रमा खोजी कार्य भइरहे पनि जहाजको कुनै संकेत नभेटिएको जानकारी दिए। रजाकाले विभिन्न देशका १५ सैनिक जहाज, ६ यात्रुबाहक र तीन तटरक्षक जहाजले दक्षिण चीन समुन्द्रमा धुइँपत्ताल खोजी गरिरहेको जानकारी दिए।
खोजीमा चीन र फिलिपिन्सले पनि जहाज पठाएका छन्। अमेरिका र सिंगापुरले पनि सैनिक जहाज परिचालन गरेका छन्। आवश्यक परे जहाज र अन्य सहयोग तत्काल परिचालन गर्न तम्तयार राखेको चिनियाँ यातायातमन्त्री याङ चुन्ताङले जानकारी दिएका छन्।
भियतनामको आकाशबाटबाट बेपत्ता
भियतनामले उक्त जहाज आफ्नो हवाइक्षेत्रबाट हराएको जानकारी दिएको छ। जहाजको सम्पर्क ‘एयर ट्राफिक कन्ट्रोलर' सँग आफ्नो हवाइक्षेत्र नजिकैबाट टुटेकाले भियतनाम पनि खोजीमा लागेको छ।
शनिबार साँझसम्म पनि जहाज फेला नपरेपछि यात्रुका आफन्तले यात्रुको अवस्थाप्रति गम्भीर हुन सबैलाई आग्रह गरिरहेका छन्।
वायुसेवाले बेपत्ता जहाजबाट कुनै समस्याको संकेत प्राप्त नगरेको जानकारी दिएको छ। तर हनोईमा भने जहाजको सम्पर्क भएको भियतनामका अधिकारीले जनाएका छन्।
जहाजको ‘ट्राफिक कन्ट्रोलर्स' सँग कामाउ प्रान्तनजिकै सम्पर्कविच्छेद भएको थियो। हो ची मिन्हका एयर ट्राफिक कन्ट्रोलसँग भने जहाजको सञ्चार सम्पर्क नभएको अधिकारीले जनाएका छन्। कामाउ प्रान्त भियतनामको सुदूरदक्षिणी भागमा पर्छ।
जहाजको सञ्चारसम्पर्क स्थानीय समयअनुसार शनिबार बिहान २ः४० बजे विच्छेद भएको थियो। सम्पर्क विच्छेद हुनुभन्दा दुई घन्टाअघि मात्र विमान क्वालालम्पुर विमानस्थलबाट उडेको वायुसेवाका प्रमुख कार्यकारी जौहरी याहयाले बताए। विमानमा १५३ जना चिनियाँ, ३८ मलेसियाली तथा १२ इन्डोनेसियाली नागरिक थिए। तीसँगै विमानमा ७ अस्ट्रेलियाली, ३ फ्रान्सेली, २ बालबालिका, ४ अमेरिका अरु देशका नागरिक रहेको वायुसेवाले जनाएको छ।
मलेसिया वायुसेवाको सुरक्षा व्यवस्था निकै सुदृढ मानिन्छ। यसको एउटा जहाज सन् १९७७ मा अपहरण र दुर्घटनामा पर्दा चालक दलका ७ र ९३ यात्रुको मृत्यु भएको थियो।
वायुसेवाले बेपत्ता जहाजका क्याप्टेन ५३ वर्षे जहारी अहमद साह सन् १९८१ देखि विमान उडाइरहेको जानकारी दिएको छ। जहाजका ‘फर्स्ट अफिसर' २७ वर्षे फरिक अब्दुल सन् २००७ देखि कार्यरत थिए।
विमान ११ वर्ष पुरानो भएको बताइएको छ। जहाज हराएको समाचारले आफूहरूलाई चिन्तित बनाएको चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा जनाए।
मलेसिया वायुसेवा एसियाकै ठूला विमान कम्पनीमध्ये पर्छ। वायुसेवाका विमानबाट विश्वभर दैनिक करिब ८० गन्तव्यमा जान ३७ हजारभन्दा बढी यात्रु उड्ने गर्छन्।

तेल पोखिएको फेला
जहाज खोजी क्रममा भियतनाम वायुसेनाले सामुद्रिक क्षेत्रमा व्यापक तेल पोखिएको फेला पारेको छ। तेल हराएको जहाजबाटै पोखिएको निश्चित भइसकेको छैन। भियतनामको दक्षिणी तटीय क्षेत्रमा क्रमशः १० र १५ किलोमिटरसम्म तेल पोखिएको फेला परेको छ। भियतनामले भने हराएको जहाजका दुई इन्धन ट्यांकबाट तेल पोखिएको भन्नेमा आफू विश्वस्त भएको जनाएको छ।
त्यहाँका यातायात उपमन्त्री फाम काई टिऊले भियतनामी खोजी विमानले टो चु टापुको पश्चिमी समुद्री क्षेत्रमा तेल पोखिएको फेला पारेको जानकारी दिए। तर टिऊले समुद्रमा पोखिएको तेल बेपत्ता जहाजकै भएको निश्चित गर्न नसकिएको बताए।
टिऊले त्यस क्षेत्रमा खोजी गर्न केही सैनिक र गैरसैनिक डंुगा पठाइएको पनि जानकारी दिए। उनले एउटा डुंगामा २० उद्धारकर्ता रहेको पनि जनाए। टिऊले जनाएअनुसार ती डुंगा करिब ३/४ घन्टामा तेल पोखिएको क्षेत्रमा पुग्नेछन्।

प्रकाशित: २४ फाल्गुन २०७० २०:१३ शनिबार