प्रवास

भाइचुङ भुटिया दार्जिलिङबाट चुनाव लड्ने

कोलकाता– तृणमूल कांग्रेसको टिकटबाट भारतीय फुटबल टोलीका पूर्व कप्तान भाइचुङ भुटिया लोकसभा चुनावमा उम्मेदवार हुने भएका छन्। लोकसभा चुनावको मिति घोषणापछि तृष्णमूल कांग्रेसले उम्मेदवारहरूको नाम घोषणा गरेको हो।
भाइचुङका साथै ममता बनर्जीका भतिजा अभिषेक बनर्जीले पनि टिकट पाएका छन्। तृणमूल युवा कांग्रेसका प्रमुख समेत रहेका उनी डाइमन्ड हार्बरको चुनावी मैदानमा हुनेछन्। यसैगरी चर्चित अभिनेत्री सुचित्रा सेनकी छोरी मुनसुन सेन बाँकुडाबाट, सुवासचन्द्र बोसकी नातिनी सुगत बोस यादवपुरबाट, कांग्रेस नेता प्रियरन्जन दासमुंसीका भाइ सत्यरन्जन रायगन्जबाट, गायक इन्द्रनील सेन बरहनपुरबाट र अभिनेत्री सन्ध्या रायलाई मेदिनीपुरको उम्मेदवार बनाइएको छ।
पूर्व रेलमन्त्री दिनेश त्रिवेदी बैरकपुरबाट चुनाव लड्नेछन्। तृणमूल कांग्रेसले पश्चिम बंगाल राज्यबाहिर पनि केही स्थानमा उम्मेदवारी दिने निर्णय गरेको छ। जसअनुसार छिमेकी राज्य त्रिपुराको दुई, झारखण्डको दुई र मणिपुरको दुई क्षेत्रबाट पार्टीले लोकसभा चुनावमा उम्मेदवारी दिने भएको छ।

प्रकाशित: २२ फाल्गुन २०७० ०५:०० बिहीबार