नयाँ दिल्ली– भारतका राष्ट्रपति प्रणव मुखर्जीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सरकारको राजीनामा स्वीकृत गर्दै त्यहाँ राष्ट्रपति शासन लागू गरेका छन्।
'राष्ट्रपतिले केन्द्रीय सरकारको सिफारिसमा दिल्लीमा राष्ट्रपति शासन लागू गरेका छन्,' उपराज्यपाल नवीन जंगको कार्यालयले सोमबार विज्ञप्ती जारी गर्दै भनेको छ, ‘दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसहित उनको मन्त्रिमण्डलको राजीनामा राष्ट्रपतिले तत्काल स्वीकार गरेका छन्।'
‘राष्ट्रपति शासन लागू गर्ने केन्द्रीय सरकारको सिफारिस मुखर्जीले स्वीकार गरेका छन्,' केन्द्रीय गृहमन्त्री सुशीलकुमार सिन्धेले सोमबार लोकसभामा बताए। आम आदमी पार्टी (आप) सरकारले पेश गर्न लागेको जनलोकपाल विधेयक एक वित्तीय विधेयक भएको र यो प्रस्तुत गर्न केन्द्रीय सरकारको मन्जुरी आवश्यक पर्ने उनले दाबी गरेका छन्।
केजरीवालले विधानसभामा जनलोकपाल विधेयक पेस गर्न नपाएपछि शुक्रबार राजीनामा दिएका थिए। उपराज्यपाल नवीन जंगले विधानसभा अध्यक्षलाई पत्र लेख्दै उनको अनुमतिबिना जनलोकपाल विधेयक संसदमा प्रस्तुत हुन नसक्ने बताएका छन्।
प्रकाशित: ५ फाल्गुन २०७० ०४:३८ सोमबार