प्रवास

नेपाल चिनाउँदै चिनियाँ 'वेबो'

सेन्जेन (चीन)– 'शाक्यमुनी बुद्धको खास जन्मस्थान नेपालको लुम्बिनी हो, भारत होइन,' राष्ट्रपति रामवरण यादवले दुई महिनाअघि चीनको युनानबाट नेपाल भ्रमणमा आएको चिनियाँ पत्रकार टोलीलाई बुद्ध जन्मभूमिबारे आफ्नै भाषामा चिनियाँ नागरिकलाई बुझाउन सन्देश दिए।

तीन वर्षअघि ल्हासा हुँदै सान्सी र संघाईसम्म पुग्दा चिनियाँ भाषाको प्रभाव महसुस गरेका यादवले सन्देशमा थपेका थिए, 'तपाईंहरूले आफ्नै भाषा र क्यामेराबाट बुद्ध जन्मभूमिको इतिहास र संस्कृतिबारे चिनियाँ नागरिकलाई बुझाउनुहुनेछ भन्ने आशा छ।'
राष्ट्रपति यादवको सन्देश चिनियाँ भाषाको सामाजिक ब्लग 'सिना वेबो' ले तत्कालै पोस्ट गर्यो । ट्राभल कम्पनी, सञ्चारकर्मी, विद्यार्थी, व्यवसायी र सर्वसाधारणबीच सामाजिक सञ्जालको प्रयोग बढिरहेको चीनमा 'सिना वेबो' नेपाल चिनाउने 'आइकन' बन्दैछ। 
चीनको युनानबाट सञ्चालन हुने डिजिटल पत्रिका इनकुनमिङकी अंग्रेजी सम्पादक चेन यिङयिङ नेपालसम्बन्धी प्रारम्भिक सूचनाका लागि 'सिना वेबो' नै सर्च गर्छिन्। 'वेबोमा नेपालसम्बन्धी पोस्टिङ बढेकाले हामी पत्रकार पनि केही खोज्नुपरे पहिले वेबो नै खोल्छौं,' इनकुनमिङकी सम्पादक चेन भन्छिन्, 'वेबो चीनमा निकै प्रख्यात छ र चिनियाँलाई नेपाल चिनाउन यो प्रभावकारी माध्यम बन्दैछ।' 
४५ करोडभन्दा बढी प्रयोगकर्ता रहेको चीनको सबभन्दा लोकप्रिय माइक्रोब्लग 'सिना वेबो' मा नेपालसम्बन्धी बढ्दो पोस्टिङ चीनमा नेपाल प्रवर्द्धन गर्न प्रभावकारी साधन बन्दैछ।
नेपालमा चिनियाँ पर्यटक बढाउन चीनमा चिनियाँ भाषामै नेपाल प्रवर्द्धनको विकल्प छैन। वेबोले परोक्ष रूपमा त्यही काम गरिरहेको छ, निःशुल्क। यसमा काठमाडौं, पाटन, भक्तपुर दरबार स्क्वायर, बौद्ध स्तुपा, स्वयम्भू, सगरमाथा, फेवाताल, माछापुच्छ्रे हिमाल, चितवन राष्ट्रिय निकुञ्ज र लुम्बिनीका प्रशस्तै तस्बिर र भिडियो भेटिन्छ। 
बेइजिङ, सांघाई, ग्वान्झाओ, सेन्जेन, हङकङ, चेङदु, कुनमिङ, ल्हासालगायत चीनका प्रमुख सहरका पर्यटकले नेपाली खाना र संस्कृति झल्कने तस्बिरसहित आफ्नो नेपाल अनुभवले वेबोका पृष्ठ रंग्याएका छन्। फूलमाया, नेपाली केटी, नेपाल बोईजस्ता वेबोमा भेटिने उपनामले चिनियाँ पर्यटकमा नेपालको प्रभाव ठम्याउन सकिन्छ। 
तिब्बत हुँदै एयर चाइनाबाट हिमाल काटेर डिसेम्बर अन्त्यमा काठमाडौं उत्रिएकी बेइजिङकी झाङ यिनको मुख्य गन्तव्य पोखरा थियो। 'नेपालमा बत्ती गइरहन्छ, पानी र टेलिफोन नेटवर्कको समस्या छ, मासिक आम्दानी केही सय चिनियाँ युआन मात्र छ,' झाङ वेबोमा नेपाल अनुभव लेख्छिन्, 'तर नेपालीहरू धेरै मिलनसार र खुसी छन्, उनीहरूमा आत्मविश्वास छ, त्यो नै पर्याप्त हो।'
नेपालको पर्यटकीय आकर्षण तथा पूर्वाधार समस्याबारे सञ्चारकर्मी र ट्राभल व्यवसायीका माइक्रोब्लग बढी व्यवस्थित भेटिन्छन्। चिनियाँ भाषाका सेभेन नेपाल डटकम तथा क्युयेर डटकमले पनि नेपाल भ्रमणसम्बन्धी विस्तृत जानकारी दिन्छन् भने गुगलको चिनियाँ संस्करण वाइडुले इन्टरनेट सर्च इन्जिन र युकुले यु–ट्युबको काम गरेका छन्।
बेइजिङबाट प्रकाशित हुने ग्लोबल टाइम्स दैनिककी विचार सम्पादक यु जिनसुई वेबोमा राखिएका नेपालसम्बन्धी तस्बिर र पर्यटकका अनुभवले नेपाल प्रवर्द्धन गरिरहेको सुनाउँछिन्। 
'होटल तथा एयरलाइन्सले पनि नेपालसम्बन्धी सूचना वेबोमा राखेका छन् भने कतिपय चिनियाँ नेपाल जान वेबोबाटै ट्राभल कम्पनी खोजिरहेका भेटिन्छन्,' यु भन्छिन्, 'सुन्दर तस्बिर र मन छुने अनुभवले धेरै नागरिकलाई नेपाल जान प्रेरित गरिरहेको छ।' 
पश्चिम चीनको सिन्ज्यानमा सन् २००९ मा सरकारविरोधी प्रदर्शन भएपछि बेइजिङले फानफोउ नामको सामाजिक सञ्जाल बन्द गर्योज। त्यसपछि फेसबुक, टि्वटरलगायत अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल पनि चीनमा चलाउन दिइएन। चिनियाँ व्यापारी चाल्स चाओले त्यही मौका छोपेर २००९ अगस्टमा व्यापारिक इन्टरनेट कम्पनी सिना डटकमसहित सिना वेबो सुरु गरे, जुन अहिले वेबो अर्थात् माइक्रोब्लगका रूपमा चिनिन्छ।
आफ्नो अंग्रेजी संस्करण पनि तयार भइरहेको चिनियाँ भाषाको वेबोले जनाएको छ। टि्वटर र फेसबुकको हाइब्रिड संस्करण मानिन्छ वेबो, तर यसका बढी फिचर टि्वटरसँग मिल्छ। वेबोमा पनि १ सय ४० चिनियाँ अक्षरको छोटो वाक्य फोटो र भिडियो लिंकसँग पोस्ट गर्न सकिन्छ। टेक्स्ट म्यासेज र इमेल पठाउन मिल्ने माइक्रोब्लगप्रति चीनमा आकर्षण र प्रभाव ठूलो रहेको जनाउँदै चाइना डेलीले लेखेको छ, 'व्यक्तिसँगै व्यापारिक, शैक्षिक, व्यावसायिक, गैरसरकारी संस्था र सरकारी कर्मचारीमा वेबो ठूलो लत बनेको छ– सूचना आदानप्रदान र बहसनिम्ति।'
एक अर्ब ३६ करोड जनसंख्या भएको चीनमा ६१ करोड ८० लाखले इन्टरनेट प्रयोग गर्छन्। २०१२ मा ५० करोड ३० लाखले वेबो प्रयोग गरेको र दैनिक १० करोडसम्म पोस्टिङ भएको रिपोर्ट सार्वजनिक भएको थियो। तर कम्युनिस्ट पार्टी र सरकारप्रति आलोचना गरिएका सामग्रीको पोस्टिङ बढेसँगै वेबो सरकारी निगरानीमा परेपछि गत वर्ष यसका प्रयोगकर्ता ९ प्रतिशत घटे।
स्वतन्त्रताप्रेमी चिनियाँ अहिले वेबोबाट 'वि–च्याट' तिर सर्दैछन् भने रेनरेन, टेन्सेन्ट, डोउवानजस्ता सामाजिक सञ्जाल पनि प्रतिस्पर्धामा तम्सिँदैछन्। चीनलाई उदारीकरणमा अगाडि बढाउन सामाजिक सञ्जाल नयाँ अभिव्यक्ति बनेका छन् भने नेपालजस्ता पर्यटन विकासमा उन्मुख देशलाई चीनको विशाल बजारमा पुग्ने सशक्त माध्यम।
बेइजिङस्थित नेपाली दूतावासले पनि नागरिक तहमा सम्बन्ध विस्तार गर्ने माध्यम बनाउन खोज्दैछ वेबोलाई। दस महिनाअघि मात्र वेबोमा दूतावासले सुरु गरेको माइक्रोब्लगका फ्यान ३१ हजार पुगिसकेका छन्। तर दूतावासका गतिविधिमा सीमित माइक्रोब्लगमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने सामग्रीको अभाव खड्किन्छ।
'हामीले दूतावासको वेभपेजमा राखेका सामग्री चिनियाँ भाषाको वेबोमा पनि राख्ने व्यवस्था मिलाएका छौं,' राजदूत महेश मास्के भन्छन्, 'नागरिकको ठूलो समूहमा पुग्न वेबो राम्रो माध्यम बनेको छ।'
नेपाल घुम्न आएकी बेइजिङकी लारिसा फेवा तालमा र माछापुच्छ्रेअगाडि एक चिनियाँ जोडी। चिनियाँ भाषाको सामाजिक सञ्जाल 'सिना वेबो'ले नेपालसम्बन्धी सूचना र तस्बिर निरन्तर पोस्ट गर्छ।

प्रकाशित: १७ माघ २०७० २०:२७ शुक्रबार