इलाम– सीमापारिको दार्जिलिङ क्षेत्रमा 'गोर्खाल्यान्ड' राज्यनिम्ति आन्दोलन चर्काउँदा पक्राउ परेका आधा दर्जन नेपालीभाषी अगुवा नेता झन्डै ६ महिनापछि सोमबार साँझ जेलमुक्त भएका छन्। भारतमा आन्ध्र प्रदेशबाट तेलंगनालाई छुट्टै राज्य दिइने घोषणापछि १०१३ जुलाईदेखि सेप्टेम्बर पहिलो सातासम्म चर्केको आन्दोलनमा पक्राउ पर्ने 'गोर्खाल्यान्ड टेरिटोरिअल एडमिनिस्ट्रेसन' (जिटिए) का सभासद अदालतको आदेशपछि दार्जिलिङ जेलबाट मुक्त भएका हुन्।
दार्जिलिङ जिल्ला अदालतका न्यायाधीश रञ्जित रेको आदेशपछि जेलमुक्त हुने 'गोर्खाल्यान्ड' पक्षधर तथा 'जिटिए' सभासदमा खरसाङका अनिल थापा, योगेन्द्र राई, अनुज थापा र प्रणय थापा छन्। सौरेनीका अरुण सिंग्जी र सुनादहका महेन्द्र प्रधान पनि रिहा भएका छन्। उनीहरूमाथि २ अगस्ट १०१३ मा रिम्बिकस्थित वन विभागको आवासगृहमाथि आगजनीको आरोप थियो। सरकारी सम्पत्ति तोडफोडको आरोपमा झन्डै एक हजार नेपालीभाषी जेल परेका थिए।
'३५ दिनसम्म चर्किएको आन्दोलनमा १३ सभासदसहित एक हजारभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ परेका थिए', मोर्चाका एक नेताले भनेका छन्, 'लामो दबाबपछि सबै सभासद जेलमुक्त भइसकेका छन् भने केही कार्यकर्ता अझै जेलमै छन्।' १६ लाख हाराहारी नेपालीभाषी रहेको प्रस्तावित 'गोर्खाल्यान्ड' क्षेत्रबाट पक्राउ उनीहरूलाई दार्जिलिङ, खरसाङ, कालिम्पोङ र सिलिगुडीमा जेल तथा हिरासतमा राखिएको थियो। त्यहाँबाट अहिले सबैजसो आन्दोलनकारी मुक्त भइसकेका छन्।
जाति, भाषा, कला, संस्कृति नमिलेको भन्दै पश्चिम बंगालबाट अलग्गिन आन्दोलन चर्काउने विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाका नेता तथा 'जिटिए' सभासदहरू जेलमुक्त हुँदा दर्जनौं कार्यकर्ताले खादा ओढाउँदै सम्मान गरेका छन्। नेपालीभाषी सम्मिलित राजनीतिक दल, मानवअधिकारवादी र थुप्रै संघसंस्थाको प्रयासपछि उनीहरू रिहा हुने भएपछि कार्यकर्ताको हुल अदालत हुँदै कारागारसम्मै पुगेको मंगलबार प्रकाशित भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
'छुट्टै राज्य गठनबाहेक कुनै प्रस्तावमा सम्झौता नगर्ने' उदघोषसहित ३५ दिनसम्म 'बन्द' आह्वान गरी चर्काएको आन्दोलन खासै उपलव्धिबिनै टुंगिएको थियो। मोर्चाले राज्य र केन्द्र सरकारलाई दबाब दिन गरेको आन्दोलन 'जिटिए' पुनः प्राप्तिमैं रोकिएपनि पक्राउ परेका नेता कार्यकर्ता जेलमुक्त हुनसकेका थिएनन्। एक हजार दुई सय मानिसको ज्यान जानेगरी सन् १९८६ ताका चर्केको गोर्खाल्याण्ड आन्दोलनपछि दार्जिलिङमा सबैभन्दा धेरै नेपालीभाषी जेल परेको यसैपल्ट थियो।
प्रकाशित: १४ माघ २०७० ०६:२८ मंगलबार