प्रवास

क्यानेडेली स्वयंसेवीले सुनाए नेपाल अनुभव

एडमन्टन (क्यानडा)— नेपालमा गएर स्वास्थ्य, शिक्षा र अन्य जीवन उपयोगी सीप र सचेतनाका क्षेत्रमा विभिन्न समयमा स्वयंसेवक भएर खटेका क्यानेडेलीले यहाँ नेपालीहरु माझ आफ्ना अनुभव सुनाए। युनिभर्सिटी अफ अल्बर्टामा अध्ययनरत् नेपाली बिद्यार्थीको संगठन नेप्लिज स्कलर्ज एसोसिएसन अफ युनिभर्सिटी अफ अल्बर्टा(नेसा)ले अक्टोबर २७ मा विश्वविद्यालयको क्यान्सर रिसर्च सेन्टरमा आयोजना गरेको 'भोलनटियरिंग इन नेपाल: सेयरिंग द इकस्पियरियनस'नामक कार्यक्रममा नेपालमा स्वयंसेवा गरेको अनुभव सुनाउन २५ वर्ष देखि ८६ बर्ष सम्म उपस्थित थिए।कार्यक्रमकी मुख्य अतिथि बनाइएकी ८६ बर्षीय डा. हेलेन हस्टनले युनाइटेड मिसन टु नेपालमार्फत ३२ वर्ष नेपालमा रहेर गोरखाको जिल्लामा सन् १९६० मा आँपपिपल अस्पताल खोलेको र सन् १९९२ मा निबृत नहुँदासम्म सोही अस्पतालसँग आबद्ध भएर गरेका स्वास्थ्य सेवासम्बन्धी अनुभव सुनाइन. सारी ब्लाउज र गलामा पोते पहिरेर आएकी हस्टनले तत्कालिन नेपालको ग्रामीण जीवनमा भएका खानेपानी, बिजुली, यातायात, स्वास्थ्य सेवा आदिको नाजुक अवस्थासँग जुधेको किस्सा सुनाइन्।

सबैले आ-आफ्ना क्षेत्रका सेवाग्राही एवं लक्षित समुदायसँग गरेका क्रियाकलापको कम्प्युटरबाट भित्तामा तस्बीर देखाउँदै आफ्ना कामको सारसक्षेप प्रस्तुत गरे। कतिले बालबालिकाको शिक्षामा गरेका काम, कतिले अस्पताल खोलेका, कतिले बिभिन्न स्वास्थ्य सेवासम्बन्धी चलाएका शिबिरका र कतिले हस्तकला र जीवन उपयोगी अन्य सीप सिकाएको कुरा गरे।

आफ्ना अनुभव सुनाउनेमा रिचार्ड कुर्री र उनकी श्रीमती लाउला कुर्री (जनउत्थान मञ्च, आपचौर गुल्मी),वण्डा विवेक्विन (क्याम्पियन अगेन्स्ट क्याटर्याक्ट्स, हिमालयन क्याटर्याक्ट्स(मोतिबिन्दु) प्रोजेक्ट, चेल्सी क्रुपा(ग्रीन पास्चर लेप्रोजी एंड स्पाइनल कर्ड इन्ज्युरी), डा. किम सोलेज(पाटन एकेडेमी अफ हेल्थ साइन्स), अलि जजायरी(नेपाल चिल्ड्रेन एजुकेसन प्रोजेक्ट), प्रदिप न्यौपाने(फिल्टर फर फ्यामली, चितवन), डा. ल्यारी लोई र जोना वांग(सेवा क्यानडा), जोडी रिच्टर(एस्सोसियसन अफ क्र्याफ्ट प्रड्युसर) थिए।

आयोजक नेसाका अध्यक्ष सुदिप सुबेदीले निम्तारुलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उदेश्य नेपाल र नेपालीको क्यानडेली समाज र विद्वत बर्गसँगको सम्पर्कको दयारा फैलाउनु रहेको बताए. एडमन्टनस्थित नेपाली समुदायको संगठन नेकासेका अध्यक्ष आइबहादुर गुरुङले आयोजक र सहभागीलाई धन्यबाद मन्तब्य दिएका थिए।

प्रकाशित: ११ कार्तिक २०७० २३:०८ सोमबार