प्रवास

डिसीको नेपाली दूताबासमा दशैँ-तिहार शुभकामना

भर्जिनिया— अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली राजदूताबासले २०७० सालको नेपालीहरुको महत्वपूर्ण चाड पर्वहरु बडा दशैँ, दीपावली, नेपाल सम्बत ११३४ तथा छठ एक मुष्ठ रुपमा एकै साथ शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको गरेको छ। अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्माले सबैलाई चाड पर्वको उपलक्ष्यमा राजदूत निवासमा स्वागत गर्दै शुभकामना दिएका थिए भने शुभकामना दिन र लिन आएका सबैले राजदूत शर्मा तथा दूताबास परिवारलाई शुभकामना पनि दिएका थिए।
दूताबासको कार्यक्रममा अतिथिहरुलाई जलपानको व्यवस्था गरिएको थियो भने शुभकामना साँझ अक्टोबर २७ आइतबार, दिउँसो २ देखि ५ बजेसम्म चलेको थियो। आफ्नो समय अनुकुल यस क्षेत्रका समुदाय सदस्यहरु आउने जाने क्रम जारी रहेको थियो। दूताबासले वर्षेनी शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ। पहिला यो क्षेत्रमा नेपालीहरुको जन घनत्व पातलो रहेकोले संचार माध्यमबाट सम्पर्क गर्ने गरिन्थ्यो भने हाल नेपालीहरुको जनसंख्या बाक्लिदै गए पछि सार्वजनिक सूचनाबाट जानकारी गराइएको राजदूत शर्माले जानकारी दिए।

नेपाल सरकारको प्रतिनिधित्व गर्ने दूतावास हो र सारा नेपालीहरुको आस्थाको केन्द्र दूतावास नै भएकोले यस्तो अवसरमा चिनजान गर्न पाउनु र दूताबासमा सम्पर्कमा रहनु सकारात्मक भएको एक सहभागीले बताए।

प्रकाशित: ११ कार्तिक २०७० ००:१७ सोमबार