प्रवास

बेलायतमा कोइराला पक्षको छुट्टै कांग्रेस

लण्डन- नेपाली कांग्रेस सभापति सुशील कोइराला पक्षले भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायत टुक्राएर छुट्टै समिति गठन गरेका छन्। आइतबार लण्डनस्थित स्वीलबीचमा सम्पन्न भेलाले चेतनाथ खनालको अध्यक्षतामा नयाँ समिति गठन भएको हो।सभापति सुशील कोइरालासँग परिवारिक रुपमा नजिक रहेका बेलायतमा कार्यरत चिकित्सक डा. सम्पूर्णानन्द ढुंगाना र कोइरालाकै सिफारिसमा नेपाली जनसम्पर्क समिति विभाग सदस्यमा मनोनित सदस्य विज्ञान प्रसाई र संस्थापक सभापति पुरुषोत्तम पौडेलको सक्रियतामा भेला आयोजना भएको थियो।
यसअघि जुन महिनामा सम्पन्न तेस्रो अधिवेशनले लोक गुरुङको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो। सो अधिवेशनमा प्रसाई समूहले भाग लिएको थिएन। अहिले भइरहेको नेपाली जनसम्पर्क समितिले सबै साथीलाई समेट्न नसकेपछि असन्तुष्टले नयाँ समिति गठन गरेको प्रसाईले जानकारी दिए। संस्थापक पक्षले निषेधको राजनीति गरेको भन्दै प्रसाईले दुबै पक्षलाई मिलाएर लैजान दबाबस्वरुप नयाँ समिति गठन गरेको बताए।
नेपाली जनसम्पर्क समिति समन्वयन विभागका प्रमुख अर्जुनप्रसाद जोशीले भने जनसम्पर्क समिति बेलायतको विभाजनबारे अनविज्ञता प्रकट गरे। जनसम्पर्क समिति बेलायतको विभाजनबारे औपाचारिक जनाकारी छैन। 'मलाई जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्पन्न भएको जनाकारीमात्र आएको छ,' उनले भने, 'तर लिखतरुपमा केही प्राप्त भएको छैन।' 
एउटा देशमा दुईवटा जनसम्पर्क समिति हुन नसक्ने भन्दै जोशीले कांग्रेसभित्र एकता अपरिहार्य भएको बताए। उनले जनसम्पर्क समितिलाई एकजुट बनाएर लैजान आग्रह गरे। यसअघि जोशीकै सिफारिसमा प्रसाईं जनसम्पर्क समिति समन्वयन विभागको सदस्यमा मनोनित भएका थिए।
नेपाली कांग्रेसका युवा नेता विश्वआर्दश पण्डितले पार्टीभित्रका असन्तुष्टिलाई आन्तरिक रुपमा छलफल गरेर समाधान गर्नुको सट्टा फुटाएर हिँड्नु पार्टीहित विपरित भएको बताए। अहिले पार्टी निर्वाचनको राष्ट्रिय अभियानमा जुटेको छ। सबै पक्षले एकता देखाउने बेलामा छुट्टै समिति बनाउनु भनेको बेमैसमको बाजा हो। उनले पार्टीलाई कमजोर बनाउने खेलमा नलाग्न कार्यकर्तालाई आग्रहसमेत गरे।
नेपाली जनसम्पर्क समितिका महामन्त्री शिव तिमल्सिनाले असन्तुष्टलाई मूलधारमा ल्याउने प्रयास भइरहेको जानकारी दिए। उनले भेलाबाट नयाँ समिति गठन भएको समाचारले आफूले आश्चर्य नमानेको बताउँदै सो समूहले पटक-पटक समिति गठन गर्दै बिघटन गर्दै गरेको स्मरण गरे। उनले पार्टीको विधानअनुसार प्रक्रियामा आएर नेतृत्व लिन आग्रह गर्दै पार्टीको अहित गर्ने काममा संलग्न कार्यकर्तालाई तत्काल कारबाही गर्ने माग गरे।
नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति हेर्न केन्द्रीय सदस्य जोशीलाई जनसम्पर्क समिति समन्वयन बिभागको प्रमुख तोकेको छ। जोशीले विभाग समालेपछि समस्याको झन बल्झिएको कतिपय कांग्रेसजनको भनाइ छ। कांग्रेसले अमेरिका, जापान, बेल्जियम लगायतका देशमा भएको विवाद मिलाउन पटक-पटक प्रायस गरे पनि समस्या जिउका त्यूँ रहेको बताइन्छ।

प्रकाशित: ७ आश्विन २०७० ०९:०६ सोमबार