भारतले पोहोर रुसमा निर्मित एक अर्ब अमेरिकी डलर मूल्यको आणविक पनडुब्बी आइएनएस चक्र समुद्रमा उतारेर आणविक शक्तिसम्पन्न राष्ट्रको हाराहारीमा उत्रेको थियो। आइएनएस चक्रले १० वर्षसम्म काम गर्नेछ। रक्षा विशेषज्ञका अनुसार आणविक पनडुब्बी जल सेनामा सामेल भएपछि भारतको रक्षा क्षमता वृद्धि भएको छ। रक्षा विशेषज्ञले सामुद्रिक परीक्षण सफलतापूर्वक सकिएपछि आणविक ऊर्जासम्पन्न अरिहन्तले आगामी दुई वर्षमा काम गर्न थाल्नेछ।
अरिहन्तले सय जनासम्म बोक्न सक्नेछ भने सात सय किलोमिटरसम्म प्रहार गर्नसक्ने १२ वटा मिसाइल यसमा तैनाथ गर्न सकिन्छ। आणविक ऊर्जा चालित पनडुब्बी लामो समयसम्म पानीभित्रै रहन सक्छ। पानीभित्र यसलाई सजिलै फेला पार्न सकिँदैन। यसको विपरित डिजल चालित पारम्परिक पनडुब्बी इन्धन भर्न र ब्याट्री चार्ज गर्न बारम्बार पानीको सतहमा आउनु पर्छ।
भारतले सन् १९९१ सम्म रुस निर्मित पनडुब्बी सञ्चालन गर्थ्यौ। अहिले पनि भारतले आफ्ना सेनाका लागि ७० प्रतिशत सैनिक सामग्री रुससँग किन्ने गरेको छ। आइएनएस अरिहन्तका चालक दललाई प्रशिक्षण समेत रुसले नै दिने भारतको अपेक्षा छ। आइएनएस चक्रका चालक दललाई पनि रुसले नै सेन्ट पिट्सबर्गमा गोप्य रुपमा प्रशिक्षण दिएको थियो।
पनडुब्बीमा जडान गरिने सानो रिएक्टर निर्माण आणविक ऊर्जा विभागका लागि ठूलै चुनौती थियो। अधिकारीका अनुसार रिएक्टरले राम्ररी काम गरिरहेको छ। ८३ मेगावाटको प्रेसराइज्ड लाइट वाटर रिएक्टरबाट निस्कने ऊर्जाले सानोतिनो सहरलाई विद्युत आपूर्ति गर्न सकिन्छ। यस्तै क्षमताको अर्को आणविक पनडुब्बीको रिएक्टर समेत जल सेनालाई हस्तान्तरण गरिएको छ।
लागत १५ हजार करोड भारतीय रुपैयाँ लागतको अरिहन्त ६ हजार टन वजनको छ। ४९ फिट चौडाइ भएको अरिहन्त ३ सय ६७ फिट लामो छ। अरिहन्त एक घन्टामा ४४ किलोमिटर यात्रा गर्नसक्छ। परीक्षण सकिएपछि भारतले अरिहन्तमा ५ आणविक मिसाइलसमेत तैनाथ गर्नेछ। अरिहन्तले पानीमुनिबाटै मिसाइल प्रहार गर्नसक्छ। हिन्द महासागर क्षेत्रमा आणविक ऊर्जायुक्त पनडुब्बी चलाउने भारत एक मात्र राष्ट्र भएको छ।
प्रकाशित: २७ श्रावण २०७० २१:२६ आइतबार