प्रवास

गृहयुद्धले सिरियाको गरिब जनसंख्या १ बाट १९ प्रतिशत पुग्यो

दमास्कस – सिरियाली राष्ट्रपति बसर असदविरुद्ध २०११ मा सुरु भएको आन्दोलन गृहयुद्धमा परिणत भएपछि देशका दुई ठूला सहर दमास्कस र एलेप्पोको व्यवसाय मन्द भएको छ भने महँगी अकासिएको छ। 
यो वर्षको सुरुमा विद्रोहीले तेल र प्रचुर कृषियोग्य भूमि भएको उत्तरी सहर रक्कामा कब्जा जमाएपछि सरकारी राजस्वको ठूलो हिस्सा उनीहरुको हातमा परेको थियो। अहिले युद्ध क्षेत्रमा सरकार बलियै भए पनि आर्थिकमा कमजोर भइसकेको छ।
बेरोजगारी दर ६० प्रतिशत पुगेको छ भने सरकारी ढुकुटी लगभग रित्तिएको छ। दैनिक ३ लाख ८० हजार ब्यारेल हुने गरेको तेल उत्पादन २० हजार ब्यारेलमा झरेको छ। सरकारी तथ्यांकलाई आधार मान्ने हो भने तेल बिक्रीमा लगाइएको नाकाबन्दी र कब्जाले कम्तीमा १३ अर्ब डलर सरकारले गुमाइसकेको छ। खेतीपाती, व्यापार र औद्योगिक उत्पादन गतिविधि युद्धअघिको तुलनामा एक तिहाइमात्र हुने गरेको छ। युद्धअघि अमेरिकी डलरसँग ४७ पाउन्डका दरले सटही हुने सिरियाली मुद्रा अहिले २ सय ५० मा पुगेको छ। बेरुतस्थित राष्ट्र संघीय विज्ञका अनुसार अहिले १९ प्रतिशत सिरियाली गरिबीको रेखामुनि बाँचिरहेका छन्। युद्धअघि यो अनुपात एक प्रतिशतमा सीमित थियो।
अहिलेसम्म सरकारले जसोतसो यो दुरावस्थालाई धानिरहेको छ। युद्धले केही क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी नै घटाइदिएको छ। बेरुतस्थित आर्थिक न्युजलेटर सिरिया रिपोर्टरका लेखक जिहाद याजिगीका अनुसार गरिबी बढेसँगै सरकारी सेवाको आवश्यकता बढ्नु पर्ने हो तर युद्धका कारण अस्पताल, विद्यालयलगायत बन्द भएकाले सरकारले यो क्षेत्रमा रकम छुट्याउनु परेको छैन।
सडक निर्माणमा सरकारले युद्धअघि बजेटको ५० प्रतिशत विनियोजन गर्थ्यो। संसारमै सबैभन्दा धेरै बजेट सडकलाई छुट्याउने सिरीयाली सरकारलाई अहिले त्यो झन्झट छैन। बरु सरकारले २० लाख कर्मचारीको तलब बढाएको छ। सरकारले तलब बढाएको दुई दिनमै इन्धनको पनि भाउ बढेकोले बढेको तलबबाट खुसी हुने कोही भेटिएनन्।
सरकार स्थितिलाई अझै खराब बनाउन लागिपरेको छ। अघिल्लो साता राष्ट्रपति असदले विदेशी मुद्राको चलनचल्तीमा रोक लगाए। सरकारी स्वामित्वको विद्युत वितरण कम्पनीले बक्यौता उठाउने अभियानै चलाइरहेको छ। मोबाइल कम्पनीले खर्च धान्न विदेशमा गरिने कलको महसुल बढाएका छन्।
युद्धरत दुवै पक्ष एकअर्कालाई आर्थिक रुपमा कमजोर पार्न खोजिरहेका छन्। आफ्नो नियन्त्रणबाहिरका क्षेत्रमा भएका अन्नपात, तेल खानी र उद्योगमा आगो लगाउने तथा बम विष्फोट गराउने काम उनीहरुले गरिरहेका छन्। सरकारलाई निस्तेज पार्न विद्रोहीले लेबनानबाट आउने विद्युत प्रसारण लाइन र ट्यांकर ध्वस्त पारिदिएका छन्।
आर्थिक अस्त्र प्रयोग गरेर र अर्को पक्षलाई हराउन नसके पनि वार्ताको टेबलमा ल्याउने गरी झुकाउन सकिने रणनीति दुवै पक्षले लिएको विश्लेषक बताउँछन्। कृषि र तेलको धनी पूर्वी भाग विद्रोहीको हातमा गएपछि युद्धअघि आत्मनिर्भर सिरियाले आयातको लागि टेन्डरको सूचना निकालेको छ। जाडो महिनामा खाद्यान्न र इन्धनको माग उच्च हुने भएकाले सरकारको चुनौती थपिने उनीहरुको अनुमान छ। युद्धअघिको १८ अर्ब डलर विदेशी मुद्रा सञ्चिति रित्तिन लागे पनि तीन महिनाको आयात थेग्ने अवस्था रहेको सरकारी अधिकारीले दाबी गरेका छन्।
रसिया र इरानबाट सरकारले हालसम्म सहयोग पाइरहेको छ। हालै इरानले ३ अर्ब ६० करोड डलर बराबरको ऋण, तेल र औषधि सहयोग गरेको छ। सिरियालीहरु युद्ध अर्थतन्त्रमा विस्तारै अभ्यस्त हुँदै छन्। मर्मत सम्भार गर्ने कम्पनीलाई क्षतिग्रस्त संरचना पुननिर्माण गर्न भ्याइनभ्याई छ। राष्ट्रपतिले निजी सुरक्षाकर्मी राख्न सकिने व्यवस्था गरिदिएकाले यो व्यवसाय पनि फस्टाउने अनुमान गरिएको छ। अर्थतन्त्र घरेलु र निर्वाहमुखी बन्दै गएको छ। पैसा कमाउने नयाँ र अनौठा बाटा खुलेका छन्। सरकारी संरक्षणमा गुन्डा समूहले व्यावसायिक प्रतिष्ठानमा कब्जा जमाउन थालेका छन्। विद्रोही युद्ध सरदार पनि विप्लवभन्दा नगद जम्मा पार्ने होडमा लागेका छन्।

प्रकाशित: २७ श्रावण २०७० २१:१४ आइतबार