प्रवास

क्यानडाको हेरिटेज फेस्टिभलमा नेपाललाई अवार्ड (फोटो फिचर)

क्यानडा — क्यानाडाको एडमन्टनमा प्रत्येक वर्ष हुने हेरिटेज फेस्टिभलको ३८ औं संस्करण सम्पन्न भएको छ। ३ दिनसम्म लगातार चल्ने यो मेला संसारका धेरै देसका मान्छेहरु एकै ठाँउमा भेला भएर आफ्ना खानपान, भेषभुसा, कला संस्कृति साटासाट गर्ने र तिनको परख गर्न, हेर्न, बुझ्न यहाँ आउने लाखौं मान्छेहरुको उपस्थतिले आफैंमा एक अनौठो घटना मानिन्छ।अगस्ट महिनाको पहिलो सोमबारलाई सार्वजनिक विदा गरी अघिल्ला शनिबार र आइतबारको हप्तान्तसँग जोडेर ३ दिने बिदाको जोहो मिलाइन्छ। सन् १९७६ देखि निरन्तर हुँदै आएको यो बहुदेशीय मेलामा सहभागी देशहरुले सास्काचुन नदीतिरस्थित विलियम हर्लक पार्कको बिशाल क्षेत्रमा आ-आफ्ना पाल-सिबिर खडा गर्छन्। आफ्ना संस्कृति झल्काउने खाना र पेयका परिकार आयोजकले तोकेको मापदण्डभित्र रहेर बेच्ने, मनोरन्जनात्मक कला संस्कृति देखाउने र आ-आफ्नो देशका सीप कौशलता झल्काउने सरसामान बिक्री गर्ने, पोस्टर पर्चाहरु प्रदर्शनमा राख्ने र चासोचर्चा चाहनेहरुका जिज्ञासा मेटाउने काममा आ-आफ्ना समुदायका स्वयंसेवकहरु सिविरमा खटेका हुन्छन्। मेला घुम्न आउने असंख्य मान्छेको खचाखच भिडले भरिएका त्रिपाल-झुपडी र चउर कतै खुट्टो टेक्ने ठाँउ हुदैन। यसरी ३ दिनसम्म चल्ने यो फेस्टिभलमा बर्षेनी मेला भर्ना आउनेको बढिरहेको छ।

अगस्ट ३,४ र ५ मा सम्पन्न ३८ औं हेरिटेज फेस्टिभलमा यस वर्ष ६० देशका पाल-सिबिरले बिभिन्न ८५ संस्कृतिको प्रतिनिधित्व गरे भने ३ लाख भन्दा बढी मान्छे मेला घुम्न आएको आयोजकले बताए।

मेलामा नेपालले जित्यो तेस्रो स्थान

सन् २००१ देखि फेस्टिभलमा सहभागी हुन थालेको नेपालले यसपाली पहिलो पटक 'बेस्ट आर्ट एन्ड क्र्याफट' समूहको तेस्रो स्थानको अवार्ड अफ एक्सलेन्स र २५० डलरको नगद पुरस्कार पायो। आयोजकले 'बेस्ट आर्ट एंड क्र्याफ्ट', 'बेस्ट फुड' र 'बेस्ट इन्टरटेनमेन्ट' ३ छुट्टाछुट्टै शिर्षकमा उत्कृष्ट ठहरिने देशलाई प्रथम, दितीय र तृतीय स्थानका पुरस्कार र प्रमाणपत्र बाँडेको थिए। बेस्ट आर्ट याण्ड क्र्याफ्टको प्रथममा इजरायल र दोस्रोमा युक्रेन रहे।

नेपालका दुईवटा बडेमानका पाल-सिबिर र त्यसको अगाडिपट्टि सांस्कृतिक प्रदर्शनीका लागि एउटा मञ्च थियो। आर्ट याण्ड क्र्याफ्टको पालमुनि नेपाली पश्मिना, ऊनका हातबुना पन्जा, झोला, स्वेटर, गहना, हस्तकलाका सामग्रीहरुको बिक्री कक्ष राखिएका थिए। नेपाली दुताबासको सूचना कक्षमा आई नाम दर्ता गराउनेलाई नेपाल र पर्यटनसम्बन्धी जानकारी गराउने विभिन्न पोस्टर र पर्चा निशुल्क बाँडेको थियो। दुताबासले ल्याएको समग्री नेपालको पर्यटनसम्बन्धी सूचना र चासो लिन आउने भीडका सामु अपुग भयो।

सन् २००१ मा पहिलो पटक मेलामा सहभागी हुँदा नेपालले दुःखले आर्ट याण्ड क्र्याफ्टमा मात्रै भाग लिएको थियो। सन् २००२ मा फुडमा पनि सहभागी भयो र २००६ देखि मनोरन्जन पनि गरेर मेलाका तीन वटा शीर्षकमा नेपाल पूर्णरुपले सहभागी हुन थालेको हो।

सुरुमा आफ्नो गोजीबाट बेहोरेर र घर परिवारका सबैजना खटेर मेलामा भाग लिनु परेको अग्रजहरु बताउनुहुन्छ। अहिले नेपालीको सङ्ख्या पनि बढ्यो, स्वयंसेवकमा पनि युवा तन्नेरीहरुको उत्साहजनक योगदान रह्यो। 'फलस्वरूप नेपालको उपस्थिति निक्कै सशक्त भयो र पुरस्कृत हुने सम्मको सफलता मिल्यो' मेलाका प्रमुख संयोजक ऋषिकेश अधिकारीले बताए।

मेलामा नेपाली खाना खाने बिदेशीहरुको भिड हेर्न लायक थियो। छेवैमा टांगिएको नेपाली परिकारको सचित्र सूचिको बडेमानको पोस्टरमा नियाल्दै खाना किन्नेहरुको लर्को जतिखेरै देख्न पाइयो. भात, कुखुराको मासु, आलुप्याज र बेसनको पकौडा, पश्चिम नेपालतिरको लोकप्रिय परिकार चुकाउनी(आलु, प्याज र मरमसलासँग साँधेको दहि), आलुकाउली आदिको मिश्रीत तरकारी, गोलभेंडाको चखिलो अचार र नेपाली दूधचिया नेपाली खानाको सूचीमा थिए।

सबै देश महादेशका मान्छेहरुको बसोबास रहेको क्यानाडामा सांस्कृतिक विविधता, जातीय सद्भाव र मानवीय सहिष्णुताप्रतिको आपसी स्वीकारोक्ति र हार्दिकता साट्ने महत्व बोकेको साझा थलोको रुपमा यो मेलालाई लिइन्छ। यो मेला सम्भबत: उतर अमेरिकी समाजमा हुने सबै भन्दा ठुलो भूमण्डलीय चरित्रको सांस्कृतिक मेला पनि हो।

प्रकाशित: २५ श्रावण २०७० ०७:५६ शुक्रबार