प्रवास

स्कूलको खाजा खाँदा २० बालबालिकाको मृत्यु

छप्रा (भारत) — सरकारले प्रदान गर्ने दिवा खाजा खाँदा बिहारको छप्रामा विद्यालयका २० बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुने अधिकांश बालबालिका १० वर्ष मुनिका छन्। विद्यार्थीका लागि खाना पकाउने महिला तथा उनका बच्चाहरुको पनि मृत्यु भएको छ।मंगलबार दिउँसो जाउलो र स्वाबिनको तरकारी खाएपछि विद्यार्थी बिरामी परेका थिए। स्कूल नजिकै १२ बालबालिकाको मृत्यु भएपछि स्थानीयले घटनाको छानवीन गर्न माग गर्दै विद्यालयविरुद्ध प्रदर्शन गरेका छन्। आफन्तहरुले सिकिस्त रहेका बच्चाका उपचारमा पटना टिचिङ अस्पताले बेवास्ता गरेका कारण मर्नेहरुको संख्या बढेको गुनासो गरेका छन्।

बिहारका शिक्षामन्त्री पिके शाहीले नपखालीकन खाना पकाउँदा यस्तो घटना भएको हुनसक्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन्। मेडिकल रिपोर्टले देखाए अनुसार स्वाबिन खाने बच्चाहरुलाई मात्र स्वास्थ्यमा समस्या देखिएको छ। खराब विषाक्त तेलमा खाना पकाएकाले मृत्यु भएको स्थानीयले आरोप लगाएका छन्। आक्रोसितहरुले विद्यालयकी प्रधानाध्यापक मीना देवी र अन्य शिक्षकविरुद्ध उजुरी दर्ता गराएका छन्।

२० जना बालबालिकाको मृत्युको विषयलाई छानवीन गर्न केन्द्र सरकारले एक टोली छप्रा पठाएको छ। पटना नजिकै रहेको छप्रा सहर बिहारको शरन जिल्लाको सदरमुकाम हो।

बिहारका मुख्यमन्त्री नितिशकुमारले घटनाको छानवीन गर्न निर्देशन दिँदै मृतकका परिवारलाई २ लाख भारु राहत दिने घोषणा गरेका छन्। भारतीय जनता पार्टीले घटनालाई 'आपराधिक हेल्चेक्राइ' भनेको छ।

प्रकाशित: २ श्रावण २०७० ०२:२१ बुधबार