ती आक्रमणपछि उनी भागेर सोमालिया गएको आशंका गरिएको थियो। उनी सोमालियामा अल शबाब समूहसँग आबद्ध थिए। उक्त समूह अल कायदासँग आबद्ध भएको अमेरिकी अनुमान छ।
सामोलिया छिरेर अमेरिकी सेनाले सलेहलाई मारे पनि अमेरिकी आक्रमणले सोमालियालीहरुलाई चिन्तित बनाएको विश्लेषकहरुले बताएका छन्। विदेशी सेनाको यस्तो आक्रमणले सोमालियामा अतिवादीहरुले गतिविधि थप चर्काउने आशंका गरिएको छ।
अमेरिकाले सोमालियामा पछिल्लो पटक ठूलो आक्रमण अघिल्लो वर्षको मे महिनामा गरेको थियो। त्यतिबेला अल शबाब समूहका सैन्य नेतासहित अन्य १० जना मारिएको अमेरिकाले जनाएको थियो।
पछिल्लो हमलामा मारिएका सलेह अल कायदाका सबैभन्दा उच्च नेतामध्ये पर्छन्। उनले अलकायदाको पूर्वी अफ्रिका सेल हेर्दै आएका थिए। यदि उनको मृत्यु पुष्टि भएमा यस क्षेत्रमा थप गतिविधि संचाल गर्न अल कायदाको क्षमतामा गम्भिर धक्का लाग्ने अमेरिकास्थित सोमालिया विज्ञ आन्द्रे ले सागाले बिबिसीलाई बताए।
संचारमाध्यमहरु केही ढिलो गरी आएका जानकारी अनुसार विशेष अमेरिकी सेनाले सोमबार दिउँसो सलेहमाथि आक्रमण गरेको हो। सोमालियाली अधिकारीहरुले पनि अमेरिकी आक्रमणमा सलेह मारिएको विश्वास गरेका छन्।
यसअघि फ्रान्सेली सेनाको पोशाक लगाएकहरु एउटा जहाजबाट हेलिकोप्टरमा चढेर आक्रमण गर्न गएको खबर प्रकाशमा आएका थिए। तर फ्रान्सेली सेनाले तत्काल त्यस्तो खबरको कडा खण्डन गर्दै आफ्ना सेना सहभागी नभएको जनाएको थियो।
सोमालियाको दक्षिणमा पर्ने तटीय शहर बारावेमा सलेह चढेको आशंकामा दुई वटा कारलाई ६ वटा हेलिकोप्टरले आक्रमण गरेका थिए। उक्त शहरमा लडाकू समूह अल शबाबको पकड रहँदै आएको थियो।
रोयटर्सले उधृत गरेको एक अमेरिकी अधिकारीका अनुसार समुद्रबाट अमेरिकी सेनाको जहाजबाट विशेष सैनिकहरु हेलिकोप्टरमा गएर सलेह चढेको भनिएको कारलाई उडाइदिएका थिए। सलेहको भनिएको शव अमेरिकी सेनाले नियन्त्रणमा लिएको छ। शव परीक्षणपछि मात्र सलेहको मृत्यु पुष्टि गर्न सकिने अधिकारीहरुले बताए।
केन्याको मोम्बासा शहरमा इजरेली स्वामित्वको एउटा होटलमा सन् २००२ मा भएको विष्फोटमा सलेहको संलग्नता आशंका गरिन्छ। त्यही वर्ष एक इजरेली विमानलाई आकाशमै उडाउन खोज्ने पनि सलेह नै भएको बताइन्छ। पूर्वी अफ्रिकामा रहेका दुई वटा अमेरिकी दुतावासमा सन् १९९८ मा बम पड्काउने पनि सलेह नै भएको केन्याली अधिकारीहरुको विश्वास छ।
केन्या नजिकैको देश जाबोटीमा अमेरिका र फ्रान्सका सेना रहँदै आएका छन्। उनीहरुले बेलाबेलामा यस क्षेत्रमा शंकास्पद आतंकवादीहरुविरुद्ध आक्रमण गर्दै आएका छन्।
प्रकाशित: ३० भाद्र २०६६ ०५:५२ मंगलबार