प्रवास

भेनेजुएलाका राष्ट्रपति रहेनन्

काराकास, फागुन २३ (एजेन्सी) - दुई वर्षदेखि क्यान्सरसँग संघर्ष गरिरहेका भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा मंगलबार निधन भएको छ। आफूलाई २१ औँ शताब्दीको समाजवादी र अमेरिकी साम्राज्यवादको शत्रुका रुपमा चिनाउन चाहने चाभेज १४ वर्ष भेनेजुएलाको सर्वोच्च पदमा रहे।

उनको निधनको घोषणा उपराष्ट्रपति निकोलास मादुरोले सरकारी टेलिभिजनमा स्थानीय समय अनुसार अपराह्न ४ बजेर २५ मिनेटमा गरेका थिए। मादुरोले चाभेजलाई विष दिइएको हुनसक्ने अनुमान गरेका छन्। सोही सम्बोधन कै क्रममा मादुरोले अमेरिकी दूतावासका एक कर्मचारीलाई भेनेजुएला सरकारविरुद्ध षड्यन्त्र रचेको भन्दै देश निकाला गरिएको घोषणा समेत गरे। अमेरिकी विदेश मन्त्रालयले ती आरोपलाई अस्वीकार गरेको छ। चाभेज स्वयंले पनि जीवित हुँदा आफ्नो हत्या गर्ने षड्यन्त्र अमेरिकाले रचेको बताउने गरेका थिए।

भेनेजुएलाको संविधान अनुसार ३० दिनभित्र राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने हुन्छ। त्यतिन्जेल उपराष्ट्रपति मादुरो अन्तरिम राष्ट्रपति हुनेछन्।

चाभेजको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले ट्विट गरेका छन्।

 

प्रकाशित: २२ फाल्गुन २०६९ २१:५५ मंगलबार