प्रवास

भारतीय ऊर्जा नीतिविरुद्ध अमेरिका

जेनेभा, माघ २५ (एजेन्सी) -भारतको राष्ट्रिय सौर्य ऊर्जा नीतिविरुद्ध अमेरिकाले विश्व व्यापार संगठन (डब्लुटिओ) मा उजुरी हालेको छ। भारतीय नीतिले अमेरिकी उत्पादनलाई 'विभेद' गरेको भन्दै अमेरिकाले डब्लुटिओ गुहारेको हो।

भारतले सौर्य ऊर्जा उत्पादकलाई स्थानीय उत्पादन (सोलार ब्याट्री र मोड्युल) नै प्रयोग गर्नुपर्ने अनिवार्य गरेको दाबी गर्दै अमेरिका डब्लुटिओ गएको हो। अमेरिकाले यस किसिमको 'जबर्जस्ती स्थानीयकरण' का कारण भारतीय बजारमा अमेरिकी निर्यात रोकिएको दाबी गरेको छ।

अमेरिकाले दर्ता गराएको उजुरीमा भारतीय सौय ऊर्जा नीतिले डब्लुटिओको नियम उल्लंघन गरेको उल्लेख गरिएको छ। नीतिबारे यसअघि नै भारती निकायहरूसँग विभिन्न समय र अवसरमा कुरा उठाइए पनि बेवास्ता गरिएको पनि उजुरीमा जनाइएको छ।

डब्लुटिओमा पुगेको यो उजुरी भारत र अमेरिकाबीच व्यापार विवादको पछिल्लो घटनाक्रम हो। गत वर्ष पनि अमेरिकी कुखुरा र कुखुराजन्य उत्पादन आयातमा लगाएको प्रतिबन्धलाई चुनौती दिँदै अमेरिकाले यसै गरी भारतलाई डब्लुटिओ पुर्याउएको थियो।

भारतले सन् २००७ मा बर्डफ्लुको फैलने भन्दै कुखुराको मासु, अन्डासहित अमेरिकी कृषि उत्पादनको भारत आयातमा प्रतिबन्ध लगाएको थियो। त्यसविरुद्ध अमेरिकाले डब्लुटिओमा उजुरी दर्ता गरेको थियो।

त्यसबेला पनि अमेरिकी निकायहरूले स्थानीय उद्योग संरक्षण गर्नका लागि भारतले जबर्जस्ती आफूहरूको उत्पादनमाथि प्रतिबन्ध लगाएको दाबी गर्दै त्यसबाट विश्व व्यापारको नियम उल्लंघन भएको बताएका थिए। 'विश्वमा जहाँ पनि प्रतिस्पर्धा गर्न सक्ने हाम्रा सौर्य ऊर्जा उत्पादन र सेवामाथि भारतीय कदमले गम्भीर प्रभाव पारेको छ,' अमेरिकी व्यापार प्रतिनिधि रोन किर्कले भने।

यसैबीच भारतले पनि अमेरिकी कदमविरुद्ध डब्लुटिओमा उजुरी दर्ता गराएको छ। भारतीय स्टिल उत्पादनमा आयात कर उच्च बनाएको भन्दै उसले अमेरिका विरुद्ध उजुरी हालेको हो। अमेरिकाले भारतबाट आयात गर्ने केही स्टिल पाइपमा करिब २ सय ८६ प्रतिशत कर लगाएको र यो 'नियतवस' भएको भारतीय उजुरीमा उल्लेख गरिएको छ।

आर्थिक वृद्धि ५ प्रतिशतमा बस्ने
यसैबीच भारतको केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष आर्थिक वृद्धि पाँच प्रतिशतमै सीमित रहने प्रक्षेपण गरेको छ। यसअघि गत साता केन्द्रीय बैंकले देशको आर्थिक वृद्धि ५.५ प्रतिशतमा अड्ने प्रक्षेपण गरेको थियो। त्यसअघि बैंकले ५.८ प्रतिशत पुग्ने अनुमान गरेको थियो।

प्रकाशित: २५ माघ २०६९ २१:५९ बिहीबार