प्रवास

नौ वर्षकी छात्राले बच्चा जन्माइन्

मेक्सिको सिटी, माघ २५ (एजेन्सी) - मेक्सिकोको पश्चिमी प्रान्त जलिस्कोमा एक नौ वर्षकी स्कूले छात्राले स्वस्थ बच्चा जन्माएकी छिन्। छात्राका आमा बुबासहित सबै यो घटनाबाट अचम्ममा परेका छन्।

उनीहरुले आफ्नी छोरी गर्भवती भएको र घर वरपर बस्ने छोरीको केटा साथी केही दिनदेखि नदेखिएको जानकारी प्रहरीलाई दिएका थिए।

बच्चाको पिता उही भएको प्रमाणित भयो भने उनलाई बलात्कारको आरोपमा गिरफ्तार गर्न सकिने प्रहरीले बताएको छ।

जलिस्को प्रान्तमा अवस्थित गुयादालाजारा सहरको अस्पतालमा एक साताअघि छात्राले बच्चा जन्माएकी हुन्।

मेक्सिकन पत्रिका मिलेनियोसँग कुरा गर्दै सरकारी अभियोजनकर्ता जोर्गे भिल्लासेनोरले आफूहरु बच्चाको बाउ खोज्दै गरेको जानकारी दिए। यसलाई बलात्कार वा बाल यौन दुराचारको अभियोग लगाउन सकिने उनले बताए।

कम उमेरमा बच्चा जन्माउने रेकर्ड भने पेरुकी एक साढे पाँच वर्षकी बालिकाको छ। उनले सन् १९३९ मा एक छोरा जन्माएकी थिइन्।

प्रकाशित: २५ माघ २०६९ ०१:११ बिहीबार