प्रवास

मृत्युदण्ड दिइएका कसाबप्रति बलिउड कलाकारको सहानुभूति

मुम्बई, मंसिर ८ (एजेन्सी)- मुम्बई आक्रमणका दोषी अजमल अमिर कसाबलाई बुधबार भारतमा दिइएको मृत्युदण्डप्रति धेरैले समर्थन जनाए पनि बलिउड अभिनेता आशिष चौधरीले सहानुभूति व्यक्त गरेका छन्। आशिषका दिदी र भिनाजु ओबराय होटलमा डिनर खाइरहेका बेला सोही आक्रमणमा मारिएका थिए।  

'कसाबको मृत्युमा म किन आनन्दित हुने? आनन्दित त्यति बेलामात्र हुनेछु जब एउटा निर्दोष बालकलाई धर्म र ईश्वरको नाममा अरुको ज्यान लिन सिकाइने काम रोकिनेछ, अज्ञानताले हामी ईश्वरलाई फरक देख्छौं, जबकि सबै ईश्वर र धर्म एक हो र वास्तवमा मानवता नै धर्म हो तर कसाबलाई यो कुरा सिकाइएको थिएन होला,' आशिषले ट्वीटरमा लेखेका छन्।

ईश्वरका नाममा अरुको हत्या गर्न हुन्छ भन्ने कुरा कसाबलाई रटाइएको हुनसक्ने विश्वास आशिषको छ। 'कसाबप्रति मेरो सहानुभूति छ, ऊ कुनै बेला मेरो छोराजस्तै एक निर्दोष बालक थियो होला, दुर्भाग्यवश गलत मानिस र शिक्षा पद्धतिको घेरामा ऊ परेको हुनसक्छ, म निश्चित छु, कसाबले जुन कदम उठायो, उसलाई दिइएको गलत शिक्षाको परिणाम थियो,' पूर्व मोडल आशिषले लेखेका छन्।

'म मेरो बालबच्चालाई कसैको पनि मृत्युमा खुसी मनाउन सिकाउँदिन, कसाबको मुद्दाप्रति भएका फैसला र प्रक्रियाको मैले विरोध गर्न खोजेको होइन, तर हामीले विचार गर्नुपर्ने कुरा धेरै छ, मान्छेले पौराणिक कथा बनायो, मूर्ति ठडायो, मान्छेले फरकफरक धर्म र फरकफरक पूजा गर्ने ठाउँ स्थापित गर्‍यो र अलगअलग नियम रच्यो। के ईश्वरले यस्तो गर्लान् र?' आशिषले प्रश्न उठाए।

'कसाबको मुद्दा चलेको यो चार वर्षको अवधिमा अरु थुप्रै कसाबको जन्म भइसकेको हुनसक्छ र यो चाहिँ समस्या हो। त्यसैले त्यतिबेला आनन्दित हुनुस्, जतिबेला यो समस्या रोकिनेछ,' बलिउडका 'कयामत', 'धमाल', 'भूतनाथ', 'ड्याडी कुल'जस्ता फिल्म खेलेका आशिषले आग्रह गरेका छन्।

प्रकाशित: ७ मंसिर २०६९ २२:४८ बिहीबार