प्रवास

सीको उदय, जियाङको विजय

पूर्ण बस्नेत, बेइजिङ, मंसिर ३ -दस वर्ष चीनको नेतृत्व गरी आर्थिक विकासमा चमत्कार देखाएका हु जिन्ताओको ठाउँ सी जिनपिङले लिएपछि बेइजिङको सत्ता हस्तान्तरण प्रक्रियाले औपचारिकता पाएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) र शक्तिशाली सेना दुवैको प्रमुख बनेर चीनको सर्वोच्च नेताका रुपमा उदाएका सीले शनिबार सेनाको कमान्ड आफ्नो हातमा लिए।

शनिबार बेइजिङमा सेनाका उच्च अधिकारीहरूको ठूलो समूहलाई सम्बोधन गर्दै राष्ट्रपति हु जिन्ताओले केन्द्रीय सैन्य आयोगमा नयाँ अध्यक्ष बनेका सी जिनपिङ सेनाको ऐतिहासिक मिसनको नेतृत्व गर्न सक्षम रहेको बताए। करिब २३ लाखको संख्यामा रहेको चीनको सेना विश्वकै ठूलो फौजी संगठन मानिन्छ।
सिपिसीको कंग्रेसले सैन्य क्षमता वृद्धि गर्न जोड दिएको छ भने हुले चीनमा नेतृत्व परिवर्तन विश्व शक्तिको रणनीतिक अवसर नियन्त्रणमा राख्न सार्थक हुने विश्वास गरेका छन्।

विश्वकै ठूलो जनसंख्या र दोस्रो अर्थतन्त्र चीनलाई आगामी दशक सही बाटोमा डोर्यातउने दायित्व बेइजिङको सत्तामा उदाएका सीको काँधमा आएको छ। नेतृत्व लिएपछि बिहीबार ग्रेट हलको पत्रकार सम्मेलनमा सीले 'राजनीतिक पुनर्संरचना' नरोकिने प्रस्ट गर्दै आफ्नो मुख्य चुनौती भने भ्रष्टाचार भएको संकेत दिए। विदेशी पत्रकारसामु कम्युनिस्ट शब्दजाल प्रयोग नगरी दिएको छोटो मन्तव्यको 'हामी सन्तुष्ट छैनौँ' भन्ने अंशले चीनमा व्यापक चर्चा पाएको छ।
आफ्नो प्राथमिकता संकेत गर्दै सीले भने,'पार्टीभित्र विशेषगरी भ्रष्टाचारलगायत केही समस्या छन्, हामी यसको समाधान चाहन्छौं।'
माओत्सेतुङ, देङ सियाओपिङ, जियाङ जेमिन, हु जिन्ताओपछि पाँच्ाौं पुस्ताका नेताको रुपमा सीको उदयसँगै चीन नयाँ राजनीतिक युगमा प्रवेश गरेको छ। मार्चमा हुको उत्तराधिकारीका रुपमा सीले राष्ट्रप्रमुखको जिम्मेवारी लिएपछि ग्रेट हलको नेतृत्व हस्तान्तरण प्रक्रिया पूरा हुनेछ।
हुले दस वर्षमा विश्वको सातौंबाट दोस्रो अर्थतन्त्र बनाएको चीनलाई अर्को दशक सीले नेतृत्व गर्नेछन्। सामान्यतः चिनियाँ नागरिक व्यापारबाट पैसा कमाउनुमै बढी रमाउँछन्। तर खासगरी सोसल मिडिया सन्जालले गर्दा महाशक्ति राष्ट्र अमेरिकाको एसिया केन्द्रित दबाब सामना गर्दै सीले चीनको आर्थिक र राजनीतिक सुधारलाई कता डोर्याटउँछन् भन्ने चासो निकै बढाएको छ।
चीनमा सीको उदयलाई पूर्व राष्ट्रपति जियाङ जेमिनको 'कट्टर पुरातनवादी' गुटको विजयका रुपमा हेरिएको छ। नौबाट सातमा सीमित पारिएको स्थायी समितिमा पार्टी महासचिव सीसहित पाँचजना सदस्य जियाङ समर्थक छन्। स्थायी समिति सदस्य झाङ डेजियाङ (६५), यिउ झेङसेङ (६७), वाङ कसियान (६४) र झाङ गाओली (६५) जियाङको राजनीतिक अगुवाइमा हुर्केबढेका हुन्।

प्रधानमन्त्री वेन जियाबाओको उत्तराधिकारी बन्ने तयारीमा रहेका ५७ वर्षीय ली खछ्याङ सीपछि दोस्रो नम्बरमा आएका छन्। उनी निवर्तमान महासचिव हु जिन्ताओको 'नरम सुधारवादी' धार समर्थक मानिन्छन्। स्थायी समितिमा लीलाई साथ दिने लिउ युनसान (६५) मात्र छन्, जो हु समर्थक हुन्। सुधारवादी युवा नेता ली युनचाओ र वाङ याङ स्थाई समितिमा नपर्नुले हुको पकड कमजोर भएको देखाएको छ। तर पोलिटब्युरो, केन्द्रीय समिति र पार्टीको केन्द्रीय सैन्य आयोगमा दुई समूहबीच सन्तुलन यथावत छ।
गतिशील नेताको छवि बनाएका सीको स्थायी समितिमा पुरातनवादी वृद्ध नेताहरूको पकडले चीनको राजनीतिक सुधारको गति ढिलो बनाउने विश्लेषण पनि गरिँदैछ। तर अमेरिका निवासी चीन विश्लेषक चेङ लीका अनुसार आर्थिक तथा वित्तीय मामिलामा निकै सक्षम भएकाले सीको टिमका शीर्ष नेताहरूबाट विश्वको दोस्रो अर्थतन्त्र चीनले बढी फाइदा लिनसक्नेछ।
बेइजिङको शक्ति हत्याउन जियाङले नेतृत्व गरेको पूर्व शीर्ष नेताका सन्तानहरूको कट्टर पुरातनवादी गुट र युथ लिगबाट आएका हु जिन्ताओको नेतृत्वमा रहेको नरम सुधारवादी धारबीच पार्टी मुख्यालय झोङनानहाइभित्र हुने कसरत बाहिर आउँदैन। तर २३ सय सातजना प्रतिनिधि उपस्थित भएको राष्ट्रिय कंग्रेसमा पार्टीको कुनै औपचारिक पदमा नभएका ८६ वर्षीय जियाङ हावी देखिनुलाई ग्रेट हलको नेतृत्व चयनशैली परिवर्तन नभएको प्रमाणका रुपमा हेरिएको छ।
बुधबार सकिएको कंगे्रसले २०५ पूर्ण र १७१ वैकल्पिक गरी ३ सय ७६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ जसमा दसजना महिला छन्। केन्द्रीय समितिको पहिलो विस्तारित बैठकले दुई महिलासहित २५ सदस्यीय पोलिटब्युरो, सात सदस्यीय स्थायी समिति र महासचिव चयन गरेको हो। कंग्रेसले चीनमा भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी मानिने पार्टीको अनुशासन निरीक्षण केन्द्रीय आयोग पनि गठन गरेको छ। १३० सदस्यीय आयोगको शक्तिशाली अध्यक्षको जिम्मेवारी वाङ कसियानलले पाएका छन् जो नयाँ स्थायी समिति सदस्य हुन्।
स्थायी समिति सदस्य लिउ युनसानको नेतृत्वमा पार्टी सचिवालय गठन गरिएको छ।
सीका चुनौती
विपक्षीविहीन सत्तारुढ पार्टीको महासचिव र सैन्य आयोगको अध्यक्ष समेत भएकाले चीनका राष्ट्रपति विश्वकै शक्तिशाली मानिन्छन्। स्थायी समितिको अनुकूल संरचनाले सीलाई महŒवपूर्ण निर्णय गर्न बढी सहज बनाइदिएको छ। जियाङको साथमा बनेको स्थायी समितिको संरचना र सैन्य आयोगको अध्यक्षले सुरुदेखि नै सीलाई हुभन्दा शक्तिशाली देखाएको छ। तर खासगरी नेतृत्व हत्याउने मामिलामा स्पष्ट रुपमा विभाजित दुई धारलाई सन्तुलन गर्नु उनका लागि कम्ती कठिन हुनेछैन।
आठ करोड तीस लाख सदस्य भएको ९१ वर्ष पुरानो पार्टी सीपीसीको नेतृत्व गर्दै सीले राष्ट्रपतिका रुपमा विश्वकै ठूलो एक अर्ब ३० करोड जनसंख्यालाई नेतृत्व गर्नेछन्। ६३ वर्ष पुरानो कम्युनिस्ट शासन व्यवस्थामा व्यापक राजनीतिक सुधार गर्दै चीनमा बढ्दो सामाजिक असन्तुष्टिलाई सम्बोधन गर्नु सीका लागि प्रमुख चुनौती हुने ठानिएको छ।
३० वर्षयता चीनले तीव्र गतिमा आर्थिक प्रगति गरेको छ र यो निकै प्रभावकारी देखिएको छ। तर चीनको नेतृत्वको चार पुस्ता देखेका प्रोफेसर वाङ होङवेईका अनुसार अन्य विकासशील राष्ट्रहरूमा जस्तै चीनमा अझै पनि भ्रष्टाचार, धनी र गरिबबीचको खाडल, सामाजिक असमानता धेरै छन्। 'यसलाई सुधार गर्ने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको छ,' वाङले बेइजिङमा नागरिकसँग भने, 'आगामी दश वर्ष नयाँ नेतृत्वले पश्चिम चीनको विकासलाई प्राथमिकता दिनेछ, जसको प्रभाव नेपाल जस्ता छिमेकी देशहरूमा पर्नेछ।'
बेइजिङको नयाँ नेतृत्वमाथि बााह्य रुपमा अमेरिकाको एसिया रणनीतिको दबाब परेको प्रस्टै अनुभूति गर्न सकिन्छ। नयाँ नेतृत्वले मूलतः पहिलेकै परराष्ट्र नीतिलाई निरन्तरता दिने भनिए पनि बेइजिङका विज्ञहरूले अमेरिकी रणनीतिअनुसार यसमा हेरफेर हुने संकेत गरेका छन्। 'चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स-सिआइसिआइआर' का दक्षिण तथा दक्षिण पूर्व एसिया निर्देशक हु सिसेङका अनुसार बेइजिङको नयाँ नेतृत्वले छिमेकीसँगको सम्बन्धलाई बढी महŒव दिनेछ।
'राम्रो सम्बन्ध विकास गरी छिमेकीलाई स्थिर र समृद्ध नबनाएसम्म चीन विश्व शक्ति बन्न सक्दैन', हुले बेइजिङमा भने, 'हामीले पहिला अमेरिकासँगको सम्बन्धलाई प्राथमिकता दियौं, अहिलेको भूराजनीतिक स्थिति फरक छ, त्यसैले आगामी दस वर्ष छिमेकीसँगको सम्बन्धलाई प्राथमिकता दिनेछौं।'
'छिमेकी र चिनियाँ जनतालाई कसरी खुसी राख्ने भन्ने कुराले महŒव पाउनेछ,' नयाँ नेतृत्वले दुइटा विषयलाई प्राथमिकता दिने बताउँदै हुले थपे, 'त्यसैले नयाँ नेतृत्वले आन्तरिक रुपमा सामाजिक निर्माण र बाह्य रुपमा छिमेक निर्माणमा प्रथमिकता दिनेछ।'

हुको संकेत
पूर्व राष्ट्रपति जियाङ जेमिनले पार्टी महासचिव र राष्ट्रपतिको जिम्मेवारी हस्तान्तरण गरिसकेपछि पनि दुई वर्षसम्म सैन्य आयोगको अध्यक्ष भएर सत्ताको चाबी आफ्नै हातमा राखेका थिए। हु जिन्ताओले पार्टीको नेतृत्वसँगै सैन्य नेतृत्व पनि सीलाई दिएर सत्ता हस्तान्तरण सहज बनाएका छन्। अहिलेको शक्ति सन्तुलन र भविष्यको समीकरणलाई विचार गरेर हुले पार्टीमा आफ्नो पकड कमजोर हुन नदिन यस्तो निर्णय गरेको बताइन्छ।
विधान संशोधन गरी आफूले विकास गरेको 'विकासमा वैज्ञानिक दृष्टिकोण' लाई पार्टीको निर्देशक विचार बनाउन हु सफल भएका छन्। स्थायी समितिमा समर्थन बढाउन वा सैन्य आयोगमा केही वर्ष बसेर आलोचना सामना गर्नुभन्दा सत्ता हस्तान्तरण सहज बनाएर पार्टीमा विचार स्थापित गर्नुलाई हुले महŒव दिएको देखिन्छ। समापन समारोहपछि ग्रेट हलमा वितरण गरिएको प्रस्तावमा 'विकासमा वैज्ञानिक दृष्टिकोण चिनियाँ विशेषताको समाजवाद निर्माणको पछिल्लो उपलब्धि' भएको उल्लेख छ। २००२ मा भएको पार्टीको १६ औं महाधिवेशनले जियाङको 'महŒवपूर्ण तीन प्रतिनिधित्व' को सिद्धान्तलाई पार्टीको निर्देशक विचारको रुपमा समावेश गरेको थियो।
सामान्यतः पार्टीका दुई समूहले दस वर्षका दरले पालैपालो बेइजिङको शासन चलाउने परम्परा अहिलेको परिवर्तनले झन् बलियो बनाएको छ। जियाङपछि हु सत्तामा आए, अब सीपछि २०२२ मा फेरि हुकै युथ लिग गुटले सत्ता लिने संकेत देखिएको छ। नयाँ पोलिटब्युरोमा चयन भएका 'लिटिल हु' को रुपमा चिनिने हु चुन्वा र सुन झेङकाइलाई छैठौँ पुस्ताको उदीयमान नेतृत्वका रुपमा हेरिएको छ, जो हु जिन्ताओ समर्थक हुन्।
७० वर्षपछि शीर्ष नेतृत्वमा नरहने परम्परा अनुसार सी र लीबाहेक स्थायी समितिका पाँचजनाले २०१७ मा हुने १९ औं कंग्रेसबाट अवकाश लिनेछन्। त्यही कंग्रेसबाट स्थायी समिति सदस्यका रुपमा हु र सुनको उदय हुने धेरैको अनुमान छ। सम्भवतः शीर्ष नेतृत्व तहमा यससम्बन्धी सहमति भएरै हु लचिलो रुपमा प्रस्तुत भएका हुन सक्छन्। 'कंग्रेसले गरेका सबै निर्णय र उपलब्धि वर्तमान तथा दूरगामी ऐतिहासिक महŒवका छन्, चिनियाँ चरित्रको समाजवाद स्थापना गर्न यसले मार्गदर्शक भूमिका खेल्नेछ,' समापन समारोहलाई सम्बोधन गर्दै हुले भनेका थिए।

पाँच वर्षको तयारी
हु जिन्ताओका उत्तराधिकारीका रुपमा पाँच वर्षदेखि तयार गरिएका सी जिनपिङले दस महिनाअघि अमेरिका भ्रमण गरी राष्ट्रपति बाराक ओबामासँग 'भ्यालेन्टाइन वार्ता' गरेका थिए। अमेरिकी प्रतिरक्षा मुख्यालय पेन्टागनले दिएको सैनिक सलामीसँगै नयाँ चिनियाँ नेताका रुपमा उनी अन्तर्राष्ट्रिय चर्चामा थिए। अमेरिकी अधिकारीहरूसमक्ष खुला, लचक र नरम रुपमा प्रस्तुत भएका सीले विश्वकै जटिल एजेन्डा चीन-अमेरिका सम्बन्ध सम्हाल्न योग्य रहेको सन्देश दिन खोजे।
'क्रान्तिकारी हिरो' को छवि बनाएका उनका पिता सी झोङयुन एक प्रमुख कम्युनिस्ट नेता थिए जसले माओको साथमा गुरिल्ला युद्ध लडे, चीनको उपप्रधानमन्त्री भए र सेन्जेनमा चीनको पहिलो 'विशेष आर्थिक क्षेत्र' आर्थिक सुधारको एजेन्डा लागु गर्न देङ सियाओपिङलाई साथ दिए। ८८ वर्षको उमेरमा २००२ मा झोङयुनको मृत्यु हुनुअघि नै छोरा सी जिनपिङ पार्टीमा स्थापित भइसकेका थिए। चीनमा कम्युनिस्ट शासन स्थापना भएको चार वर्षपछि १९५३ जुनमा बेइजिङमा जन्मेका सी १९७४ मा पार्टी प्रवेश गरे। बेइजिङस्थित छिङ्ह्वा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङ गरेका सीले सान्सी, हेवेई, फुजियान र झेजिङमा राज्यपाल वा पार्टी प्रमुख भएर करिब २५ वर्ष बिताए। सात वर्ष झेजेङ प्रान्तको नेतृत्व गरेका सीले स्थानीय तहमा आर्थिक खुलापन र राजनीतिक सुधार अभियान चलाए।
बेलायतका पूर्व चिनियाँ राजदूतकी छोरी के सिओमिङसँग सम्बन्धविच्छेद भएपछि चीनकी चर्चित लोकगायिका पेङ लियुङसँग सीले दोस्रो विवाह गरे। सीकी एकमात्र छोरी सी मिङझे अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्दैछिन्। २००७ मार्चमा सी नयाँ पार्टी प्रमुखका रुपमा चीनको प्रमुख आर्थिक केन्द्र सांघाई आए। लगत्तै १७ औं कंग्रेसबाट उनी स्थायी समिति सदस्यका रुपमा केन्द्रीय राजनीतिमा उदाए। २००८ मा उपराष्ट्रपति र २०१० मा केन्द्रीय सैन्य आयोगको उपाध्यक्ष बनाएर उनलाई पाँच वर्षदेखि राष्ट्रपति हु जिन्ताओको उत्तराधिकारीका रुपमा तयार गरिएको थियो।
स्थायी समितिमा सीपछि दोस्रो स्थानमा रहेका ली खछ्याङ सामान्य पार्टीमा कार्यकर्ताका छोरा हुन्, हु जिन्ताओको पकडमा रहेको युथ लिग हुँदै उनी सिपिसीको नेतृत्वमा उदाएका हुन्। सिपिसीको नेतृत्वमा रहेर उनले चीनको कृषि केन्द्र हेनान र औद्योगिक प्रान्त लीओनिङको नेतृत्व गरेका थिए।पेकिङ विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका लीले कानुनमा मास्टर्स गरेका छन्। मार्चमा वेन जियाबाओको उत्तराधिकारी बनेपछि उनी १९४९ पछिको चीनमा सबभन्दा शिक्षित प्रधानमन्त्री हुनेछन्।
अंग्रेजी भाषामा दक्ष लीले गत वर्ष हङकङ भ्रमण गर्ने क्रममा हङकङ विश्वविद्यालयको कार्यक्रममा अंग्रेजीमै बोलेर नेतृत्वमा बसेका अधिकारीले चिनियाँ भाषा बोल्ने परम्परा तोडेका थिए। लीकी श्रीमती चेङ होङ बेइजिङमा अंग्रेजी भाषाको प्रोफेसर छिन्, उनी अमेरिकी साहित्यकी ज्ञाता मानिन्छिन्।

राष्ट्रपति हु पहिला कम्युनिस्ट युथ लिगमा आफूसँगै काम गरेका ली खछ्याङलाई नै उत्तराधिकारी बनाउन चाहन्थे। तर पार्टी अन्तर्संघर्षको क्रममा सीले लीलाई उछिने र उपराष्ट्रपति भएर आफ्नो स्थान सुरक्षित गरे। १७ औं कग्रेसबाट स्थायी समितिको सातौं नम्बरमा आएका लीलाई त्यही वर्ष कार्यकारी उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्री वेन जियाबाओको उत्तराधिकारीका रुपमा तयार गरिएको थियो।

प्रकाशित: २ मंसिर २०६९ २१:०७ शनिबार