प्रवास

अमेरिकामा नेपाली सकुशल

काठमाडौं, कात्तिक १५ (नागरिक) - समुद्री आँधी स्यान्डीको कारण भएको विध्वंशमा अमेरिकामा रहेका नेपाली सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिकाले आँधी प्रभावित क्षेत्रका बसोबास गर्नेलाई सुरक्षित स्थानमा जान तथा घरबाट बाहिर ननिस्कन आग्रह गरेको थियो। आँधीले अमेरिकाका विभिन्न सहरमा ठूलो क्षति पुर्‍याए पनि त्यहाँका नेपाली सुरक्षित रहेको परराष्ट्रले जनाएको छ।

अमेरिकाले न्युयोर्कस्थित नेपाली स्थायी नियोगका कर्मचारीलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको थियो। नेपाली नियोग पनि सोमबार र मंगलबार बन्द गरिएको थियो।

'आँधीले अमेरिकामा बसोबास गर्ने नेपालीलाई क्षति पुर्‍याएको सूचना हालसम्म पाएका छैनौं,' परराष्ट्रका निमित्त सचिव थापाले भने।

परराष्ट्र सचिव भट्टराई संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद (इकोसोक) को चुनावमा नेपालको पक्षमा माहोल बनाउन न्युयोर्कमा छन्।

प्रकाशित: १५ कार्तिक २०६९ १०:५२ बुधबार