प्रवास

२५ वटा औँला भएका अर्पण (फोटोसहित)

नयाँ दिल्ली, कात्तिक १५ (नागरिक) - सामान्य मानिसको हातमा १० र खुट्टामा १० गरी २० औँला हुने गर्छ। तर भारतको भोपालमा बस्ने चार वर्षका अर्पण सक्सेनाको २५ औँला छन्। पोलिदाक्टिल नामको दुर्लभ जेनेटिक डिसअर्डरका कारण उनको हातमा १३ औँला र खुट्टामा १२ औँला छन्  रोगका कारणै यस्तो भएको भए पनि उनी अहिले स्थानीय रुपमा सेलिब्रिटी बनेका छन्। उनीबारे विदेशी अखबारले समेत फोटो सहितका समाचार लेख्न थालेका छन्। 

देशविदेशबाट फोटो खिच्नेहरु आउँदा उनलाई खुसी लाग्छ। तर खुसी पछाडि दुःख पनि छ। उनी धेरै हिँड्न सक्दैनन्। किनभने उनको खुट्टामा कुनै जुत्ता फिट हुँदैन। 

उनका ३५ वर्षीय बुबा अनील सक्सेना रिक्सा चालक हुन्। उनका अनुसार अर्पण जन्मँदा २६ औँलाका साथ जन्मिएका थिए। तर दुई वर्षको उमेरमा दुर्घटना हुँदा उनको एउटा औँला गुम्यो। 

अर्पणकी ३० वर्षीया आमा तनुले उनलाई अपरेसन गर्न सहयोग गर्न धेरैले इच्छा देखाए पनि त्यसो नगर्ने बताउँछिन्। सबै आमाबुबाको इच्छा आफ्नो सन्तानले नाम कमाओस् भन्ने हुन्छ, अर्पण अहिले भोपालभर चर्चित छन्। सानो उमेरमै अपरेसन गर्दा समस्या पनि आउन सक्छ, उनी भन्छिन्। 

धेरै औँला भएको विश्व रेकर्ड भने उनको नाममा हुने छैन। यो रेकर्ड भारतकै अक्षत सक्सेनाको नाममा छ जसका ३४ औँला छन्। 




प्रकाशित: १५ कार्तिक २०६९ ०७:११ बुधबार