प्रवास

न्युयोर्कमा स्यान्डीको सनक

न्युयोर्क, कात्तिक १४ (एजेन्सी)- प्रतिघन्टा ८५ माइलभन्दा तीव्र गतिमा अमेरिकाको उत्तरपूर्वी क्षेत्रतर्फ बढेको समुद्री आँधी सोमबार न्युयोर्क प्रवेश गरेको छ। स्यान्डी नाम दिइएको आँधीले प्रभावित क्षेत्रमा त्रास मच्चाएको छ। लङ आइल्यान्ड र न्युजर्सीको समुद्री तट र क्यारेबियन क्षेत्रमा विध्वंस मच्चाउँदै अमेरिकातर्फ हान्निएको स्यान्डीबाट भयंकर विनाश हुनसक्ने चेतावनी मौसमविदले दिएपछि राष्ट्रपति बाराक ओबामाले आइतबार न्युयोर्क क्षेत्रमा संकटकाल घोषणा गरेका छन्।

उनले समुद्री आँधीबाट जोगिन उत्तरपूर्वी क्षेत्रका बासिन्दालाई अपिल गरेका छन्। स्यान्डीले त्यस क्षेत्रका १२ राज्यका लाखौं बासिन्दा प्रभावित हुने अनुमान छ। स्यान्डीको बाटोमा पर्ने कतिपय राज्यमा मेट्रो रेल, बस र हवाइ यातायात बन्द गरिएको छ। न्युयोर्कका विद्यालय सोमबार र मंगलबार बन्द गरिएका छन्। एयर फ्रान्स, ब्रिटिस एयरवेज र भर्जिन एटलान्टिकलगायत एयरलाइन्सले अमेरिकाका पूर्वी तटीय सहर न्युयोर्क, बाल्टिमोर, नेवार्क, वासिङ्टन, बोस्टन र फिलाडेल्पि्कयाका एयरपोर्टबाट हुने ५ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द गरेका छन्। स्टक एक्सचेन्ज र न्युयोर्क बन्दरगाह पनि बन्द गरिएका छन्।

न्युयोर्कको तटीय क्षेत्रबाट ३ लाख ७५ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। निकै दिन घरभित्र बस्नुपर्ने आशंकामा न्युजर्सीको प्रशासनले त्यहाँका बासिन्दालाई आवश्यक सामग्री किनेर राख्न सचेत गराएको छ। न्युयोर्क प्रशासनले बाढीबाट प्रभावित हुनसक्ने तटीय इलाका ब्याटरी पार्क सिटी, कोनी आइल्यान्ड, म्यानहटन बिच, फार रकअवे एन्ड मिडल्यान्ड बिच र स्ट्याटन आइल्यान्डको दक्षिणी बीचका बासिन्दालाई अन्यत्र सारेको छ।

स्यान्डीका कारण बिजुली आपूर्तिमा समेत असर परेकेा छ। सोमबार बिहान बिजुली आपूर्ति बन्द भएपछि ५० हजार उपभोक्ता अन्धकारमा बस्न बाध्य छन्। उत्तरपूर्वी क्षेत्रमा रहेका सबै पेट्रोलियम प्रशोधन कम्पनी बन्द गरिँदा ७० प्रतिशत पेट्रोलियम प्रशोधन ठप्प छ। न्युयोर्कको हड्सन नदीमा पानीको सतह बढ्न थालेको छ। न्युयोर्कमा प्रशासनले विद्यालयमा ७६ आपतकालीन शिविर स्थापना गरेको छ।

१४ महिनायता उत्तरपूर्वी अमेरिकामा दोस्रोपल्ट समुद्री आँधी आएको हो। सोमबार बिहान नेवार्क एयरपोर्टमा ५२ माइल प्रतिघन्टा रहेको आँधीको गति साँझसम्म अझै तीव्र हुनेछ। न्युजर्सीको एटलान्टिक सिटीका १२ क्यासिनो बन्द गरिएका छन्। आँधीका कारण एक सातापछि हुने राष्ट्रपति चुनावसमेत प्रभावित गर्ने भएको छ। राष्ट्रपति ओबामा स्यान्डीबाट हुने विध्वंस न्यूनीकरणबारे छलफलमा लागेका छन् भने उनका प्रतिद्वन्द्वी मिट रोम्नीले चुनाव प्रचार अभियान परिवर्तन गरेका छन्।

प्रकाशित: १३ कार्तिक २०६९ १८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App