विश्वका एक सय आठ मुलुकमा पुगेका नेपालीहरूले विदेशका कानुनी, सांस्कृतिक र परम्परागत नियमलाई नमिची आफ्नै पारामा दशैंको खुशीयाली बाँड्ने गरेका छन्। 'अचेल चाडबाड त देशमा भन्दा यहाँ पो अलि बढी मनाउन थालिएको छ। सांस्कृतिक कार्यक्रम, कलाकारहरूको घुइँचो पनि यतै हुने गरेको छ,' कतारको निर्माण कम्पनीमा कार्यरत सप्तरीका रामेश्वर शाहका अनुसार कतारमा दशैंका विभिन्न कार्यक्रम तयार भइरहेका छन्। 'त्यही पनि नेपालमा बसेर मनाएजस्तो त हुँदैन तर दशैंमा विभिन्न समितिले आयोजना गरेका कार्यक्रममा रमाउने त छँदै छ, हामीले पनि सामूहिक योजना बनाएका छौं,' शाह इमेलमा लेख्छन्, 'दशैं यहाँ भव्य रूपमा मनाउने तयारीमा लागेका छौं। दुर्गा थापेर टीका लगाएर त मनाउन पाइँदैन तर पूर्वदेखि पश्चिमसम्मका साथीहरू मिलेर खसी काटेर खाने योजना बनाएका छौं।'
उनी कार्यरत निर्माण कम्पनीमा रहेका नेपाली कामदारहरू मिलेर कम्तीमा छ सय रियाल अर्थात् १२ हजार रुपियाँ पर्ने खसी किन्ने योजना छ। भन्छन्, 'अरू त यहाँ के नै गर्न पाइन्छ र? पूजाआजा र टीकाको कुरा सम्भव भएन। खाएर सबैजना मिलेर रमाइलो गर्ने तयारी चाहिँ भव्य भइरहेको छ।'
गाउँघर र आफ्ना आफन्तसँग नभेटी मनाएको दशैं खल्लै हुन्छ। तर पनि दशैं भन्नासाथ आउने नयाँ उमंगलाई रमाइलोसँग मनाउने योजनामा छन्, दुबईमा मार्केटिङमा कार्यरत खगेन्द्र दंगाल। 'कम्पनीका धेरैले बिदा पाएका छैनौं, तर दशैंलाई खल्लो नबनाउन एउटा रमणीय ठाउँमा गएर पिकनिक गर्ने योजना बनाएका छौं,' उनले भने, 'यहाँको फुजैराह स्टेट सुन्दर भएकाले त्यहाँ गएर पिकनिक गर्ने योजना छ।' दंगालको समूहको सम्पर्कमा रहेका नेपालीहरू दुबई, अबुधाबी, शारजाह, अजमान, रास अल खेइमा र फुजैराहमा छरिएका रहेकाले दशैंलाई संयुक्त रूपमा मनाउने योजना बनाएका छन्।
मलेसियामा रहेका गिरीश पोखरेल साथीहरूसँग मिलेर एक रात सँगै बिताउने भएका छन्। दशैंका लागि उनीहरूले केही वाइनसँगै साथीहरूको गफगाफलाई मिसाउने तयारी गरेका छन्। 'निकै लामो व्यस्ततामा यहाँ रहेका साथीहरूसँग भेट हुन पाउँदैन। दशैंमा चाहिँ भेला भएर स्याम्पेन लिने तयारी भइरहेको छ,' पोखरेलले भने।
इजरायलमा दशैं मनाउन साथीहरूसँगको भेट सहज छैन। त्यसकारण एकै ठाउँमा जम्मा भएका केही साथी मिलेरै 'गेट टुगेदर' गरेर दशैं मनाउने तयारीमा जुटेकी छिन्, पार्वती पराजुली। इन्टरनेट च्याटमा उनी भन्छिन्, 'यहाँ साथीहरू अलि कम छन्। त्यसकारण हामी जति छौं, त्यति भेला भएर मनाउने तयारी गरिरहेका छौं।' जेरुसेलमस्थित अस्पतालमा कार्यरत रुब्बु थापाको पनि दशैंको खास योजना छैन। उनी इन्टरनेटमार्फत लेख्छिन्, 'यसपालिको दशैंमा नेपाल आउन पाइएन। यहाँ पनि दशैं मनाउन पाइँदैन।' उनले केही साथीसँग मिलेर डिनर गर्ने तयारी गरेकी छन्। भन्छिन्, 'डिनरसम्म गरिन्छ होला।'
कोरियामा दशैंका फरक-फरक तयारी भइरहेका छन्। कोही डान्स पार्टीको मजामा झुम्मिने तयारीमा जुटेका छन् भने धेरै समुद्रतटमा ग्यादेरिङको योजना बनाइरहेका छन्। कोरियामा कार्यरत वसन्त लुइँटेलका अनुसार यसपालि त्यहाँ बिच पार्टी हुन्छ। त्यहाँको एक धागो कम्पनीमा कार्यरत दीपक भारतीका अनुसार उनीहरूको १० जनाको समूहले खसी किन्ने योजना बनाएको छ।
युरोप तथा अमेरिकामा भने दशैं नेपाली पारामै मनाउने परिवार ज्यादा छन्। अमेरिकामा कुनै राम्रो ठाउँमा पारिवारिक भ्रमण गरेर दशैं मनाउने चलन बढ्न थालेको छ। क्यालिफोर्नियामा रहेका विराटनगरका मञ्जीव भट्टराई टेलिफोनमा भन्छन्, 'यहाँ नेपालीहरूको समाजले सामूहिक रूपमा दशैं मनाउँछ। संस्कृतिलाई फरक ढंगबाट मनाउने गरिन्छ, सबै सहभागी हुन्छन्।' जमरा राख्ने, टीका लगाएर भ्रमणमा जाने योजना व्यापक हुने गरेको छ। विदेशमा रहेका नेपाली र भारतीयहरूले विजया दशमीलाई मनाउने गरेका छन्। युरोपका सबै देश, अमेरिका र क्यानडामा रहेका नेपालीले दशैं मनाउँछन्।
प्रकाशित: ८ कार्तिक २०६९ ०९:५६ बुधबार



