उद्घाटन कार्यक्रममा अल्वर्टा प्रान्तीय सरकारका सभासद र एडमन्टन नगरका मेयरले शुभकामना दिँदै क्यानाडा एक बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सबै भाषा र संस्कृति जगेर्ना गर्नु महत्वपूर्ण हुने बताउँदै नेपाली भाषा र संस्कृति संरक्षणका लागि एनआरएन क्यानाडा र नेपाली मूलका स्थानीय संस्थाहरूको अहम् भूमिका रहनेमा जोड दिए। मन्तव्यकै क्रममा उनीहरूले क्यानडा आप्रवासीहरूकै मुलुक भएकाले उनीहरूको हकहित र पहिचानका लागि अल्वर्टा सरकार र एडमन्टन नगरका तर्फबाट आफूहरू सदा सकारात्मक रहने प्रतिबद्धता जाहेर गर्दै सम्मेलन सफलताको कामना गरे।
कार्यक्रममा अल्वर्टा सरकारका प्रमुख र एनआरएनएका अध्यक्ष जीवा लामिछानेबाट प्राप्त लिखित शुभकामना एनआरएन क्यानाडाका अध्यक्ष डा. विनोद केसीले पढेर सुनाएका थिए। नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन, नेप्लिज कम्युनिटी एसोसिएसन र नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गरीलगायत् क्यानडाका विभिन्न प्रान्तमा छरिएर रहेका एनआरएन क्यानाडाका संस्थागत सदस्यका प्रमुखहरूले पनि सम्मेलन सफलताको शुभकामना दिएका थिए।
लामो समयदेखि नेपाली मूलका गैरआवासीय नेपालीलाई अनवरत् रूपमा स्वयम्सेवी ढङ्गले सेवा गर्दै आएका अग्रज नेपाली डायस्पोरा डा. कुन्जरमणि शर्मा, लक्ष्मण त्रिपाठी र डा. जपनारायणबहादुर श्रेष्ठलाई उनीहरूको योगदानको कदर गर्दै कार्यक्रममा आउटस्टान्डिङ नेप्लिज डायस्पोरा मेम्बर इन क्यानडा नामक सम्मानले विभूषित गरिएको थियो।
नेप्लिज क्यानडियन सोसाइटी अफ एडमन्टनका अध्यक्ष मोहनाथ आचार्यको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा एनआरएन अमेरिका क्षेत्रका क्षेत्रीय सहसंयोजक रामचन्द्र खरेल, एनआरएनए आइसीसी सदस्य राधा बस्न्यात, एनआरएन क्यानाडाका सल्लाहकार तथा नेपालमा खुल्ला विश्वविद्यालय अभियानका अभियन्ता डा. द्रोण रसाली र पूर्व राजदूत डा. हर्षनारायण धौभडेलले पनि नेपालको विकासमा प्रवासीको भूमिका, गैह्रआवासीय नेपालीहरूको नेपाली नागरिकता निरन्तरता र प्रवासमा नेपाली पहिचानको महत्व विषयमा मन्तव्य राखेका थिए।
सम्मेलनको दोस्रो सत्रमा एनआरएन क्यानडा अध्यक्ष र सचिवद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतिले पारित गरिएको थियो भने विधान संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत संशोधन प्रस्ताव पनि छलफलपछि परिमार्जनसहित पारित गरिएको थियो। सम्मेलनमा एनआरएनको फ्ल्यागसीप परियाजनाको रूपमा रहेको खुल्ला विश्वविद्यालय अभियान, प्रोफेसनल मेन्टरसीप कार्यक्रम, नेपाली भाषा साहित्य संस्कृति, जनसम्पर्क, महिला तथा बालकल्याण कार्यक्रम, नेपालमा नमुना गाउँ कार्यक्रम, नेपाल लाइब्रेरी फाउन्डेसन,सदस्यता विस्तार, नेपाल-क्यानाडा साँस्कृतिक गृहलगायत् कार्यक्रमका सम्बन्धमा विस्तृत छलफल गरिएको थियो। क्यानाडामा बसाई सरी आउने दक्ष नेपाली जनशक्ति बढ्दै गएको सन्दर्भमा नया ठाउँमा उनीहरूलाई अवसरमा पहुँच बढाउन र सहज व्यावसायिक जीवन सुरु गर्न टेवा पुर्याउने उद्देश्यले प्रोफेसनल मेन्टरसीप कार्यक्रम एनआरएन क्यानाडाले हालसालै सुरु गरेको जानकारी अध्यक्ष डा. विनोद केसीले दिए।
- समाचार सङ्कलन तथा सम्प्रेषण सूचना तथा सञ्चार समिति, एनआरएन क्यानाडा
प्रकाशित: १५ जेष्ठ २०६९ ००:०७ सोमबार