प्रवास

लण्डनस्थित नेपाली दूतावासको भवन संकटमा

कार्यालयमा मुसा, साङ्ला र उडुसको बिगबिगी-
चिरन शर्मा, लण्डन, वैशाख २५- लण्डनस्थित क्यान्सिन्टन गार्डेनमा रहेको नेपाली दूताबासको भवनको मर्मत सम्भार हुन नसक्दा बेलायत सरकारसँग भएको लिज सम्झौता रद्द हुनसक्ने सम्भावना बढेको छ।  सम्झौताअनुसार हरेक ४ बर्षमा बाहिरी भागको रङ रोगन र ६ वर्षमा भित्री भागको मर्मत् तथा रङ रोगन गर्नुपर्ने प्रावधान नेपाल सरकारले पुरा नगर्दा लिज रद्द हुने स्थिति आएको हो।

दुतावासले बजेट अभावका कारण मर्मत गर्न नसकेको जनाएको छ। सरकारले दुतावासका लागि छुट्याउने बजेट सामान्य खर्चमै सकिने हुँदा मर्मत् सम्भार गर्न नसकिएको दूतावास स्रोत बताउँछ। भवनको भित्री भागको राम्रो मर्मत तथा स्याहार हुन नसक्दा केही महिनादेखि दूताबासमा मुसा, साङ्ग्ला र उडुस्को बिगबिगीले छ। कर्मचारी बस्ने कोठामा परेका उडुस र साँङ्ला परेका छन्। तिनलाई मार्न नसकिने बताउँदै कोठाका बेड र कार्पेट फेर्न एक कम्पनीले सुझाव दिएको छ।

भवनभित्रको पिउने पानी तथा ढलको पाइप बर्षौदेखि फेरिएको छैन। फुटेको पाइप फेर्न नसक्दा कार्पेटबाट ढुसीको गन्ध आउन थालेको छ। भवनभित्र बर्षौं पुराना विद्युतीय तार रहेकोले कुनैपनी बेला तार सर्ट भएर आगो लाग्ने खतरा रहेको राजदूत सुरेशचन्द्र चालिसेले बताउँछन्। 'दूताबास भवन धेरै बर्ष अघि नै पुनर्निर्माण गर्नुपर्ने थियो तर कानुनी तथा आर्थिक जटिलताका कारण काम हुनसकेको छैन' चालिसेले भने । २० वर्ष अघि गरिएको एउटा अध्ययनले भवनको पुनर्निर्माण र मर्मत लागि कारीव ५० करोड रुपैया लाग्ने देखाएको थियो ।

नेपाल सरकारले आर्थिक बर्ष २०६७-६८ मा भवन मर्मतका लागि छुट्याएको करिब दुई करोड रुपैयाँ सामान्य मर्मत मै सकिएको छ। राजदूत चालिसे भन्छन- 'त्यो बजेटले पानी चुइएको छत टाल्न, बाहिर रहेका विशेष प्रकारका स्टोन सफा गर्न, यसअघि टेप टासेर राखिएका झ्यालका शिशा फेर्न ठिक्क भयो।'

बेलायत सरकारको सम्झौताअनुसार दूताबास भवनको जिर्णोद्दार लाइसेन्स प्राप्त अधिकारीहरुले मात्र गर्न पाउने प्रावधान छ। भवन निर्माण वा पुअर्निर्माणका लागि उच्चस्तरीय विषेशज्ञ कम्पनीलाई मात्र दिइनु पर्ने कानुनी व्यवस्था छ। त्यस्ता कम्पनीहरु सामान्य कम्पनीभन्दा सयौं गुणा महँगा हुन्छन्। नेपाली दूताबासले भिसा, पासपोर्ट लगाएतबाट वाषिर्क करिब ३ करोड राजस्व संकलन गर्दै आएको छ। सो रकमबाट करिव २ करोड ५० लाख दूतावास सञ्चालनमा खर्च हुने गरेको राजदुत चालिसे बताउँछन्। दूतावासले सुरक्षा, सरसफाई, ढल, बिजुली पानी, इन्सुरेन्स आदिको वाषिर्क करिब १ लाख पाउण्ड खर्च गर्दै आएको छ भने लिज बापत बाषिर्क ४ हजार पाउण्ड मात्र बुझाउने गरेको छ।


अन्य देशका दुतावास भवन कार्यालयको लागि मात्र प्रयोजन गरिन्छ र आवासका लागि छुट्टै ब्यवस्था गरिएको हुन्छ तर नेपाली दुतावासमा कर्मचारी लगाएत स्वयं राजदुत पनि कार्यालय रहेको भवन मै बस्ने गर्दछन्। दूताबासमा कुटनीतिक नियोगका ५ र स्थानीय ८ जना कर्मचारी छन्। ती मध्ये कुटनीतिक नियोगका ५ जनाको आवास नै कार्यालय भावना हो जसका कारण दुतावासको कार्यालयमा पस्दा समेत भान्सा कोठाको गन्ध आइरहेको हुन्छ।

'साधारणतया नियोग प्रमुख र कर्मचारी एउटै भवनमा बस्ने चलन हुँदैन तर हामीहरुले दुःखसुख काम चलाएका छौं' चालिसेले भने- 'राजदूतको मर्यादा र पदको संवेदनशीलतालाई हेरेर आवास र कार्यालय छुट्टाछुट्टै हुनुपर्ने हो ।'

स्रोतका अनुसार दूतावासको मुख्य ढोका खोल्दा तरकारी, दाल भातको बास्ना आएको भनेर सर्वसाधारणले समेत गुनासो पोख्ने गरेका छन्। खाना पकाउने ठाउँमा सामान्य एडजस्टफ्न, भेन्टिलेसन समेत छैन ।

प्रकाशित: २५ वैशाख २०६९ ०२:०८ सोमबार