प्रवास

२१ वर्षे बन्दी जीवनबाट मुक्त हुँदै बर्माकी लोकन्त्रवादी नेतृ सुची

रङ्गुन, कातिक २६ (बीबीसी)- बर्माकी लोकतन्त्रवादी नेतृ आङसाङ सुची २१ वर्षे बन्दी जीवनबाट मुक्त हुने भएकी छन्। २१ वर्षमध्ये १५ वर्ष नजरबन्दमा बिताएकी सुचीलाई रिहा गर्ने कागजातमा सैनिक अधिकारीले हस्ताक्षर गरेको बहु स्रोतहरुले पुष्टि गरेका छन्। उनको नजरबन्द अवधि शनिबार सकिँदैछ।

सूची रिहा हुने खबर फैलिए लगत्तै रङ्गुनस्थित नेशनल लिग फर डेमोक्रेसी कार्यालय रहेको स्थानमा  उनका समर्थक जम्मा भएका छन्।

अन्तरार्ष्ट्रिय समुदायले मान्यता नदिएको एउटा चुनावमा सैनिक नेतृत्व समर्थित दलले बहुमत हासिल गरे लगत्तै सुचीको रिहाइ हुन लागेको हो। लोकतान्त्रिक शक्तिले भाग नलिएको चुनावमा सैनिक सरकारद्वारा आर्थिक सहयोग प्राप्त युनियन सोलिडारिटी एन्ड डेभोलोप्मेन्ट पार्टीले बहुमत ल्याएको थियो।

बर्माको सैनिक सरकारले आर्थिक तथा अन्य व्यवधान खडा गर्दा धेरै निर्वाचन क्षेत्रमा प्रजातन्त्रवादी उम्मेदवारलाई प्रतिस्पर्धाबाट बञ्चित गरेको थियो। निर्वाचनमा भाग नलिएको भन्दै सैनिक सरकारले सुचीको दल नेशनल लिग फर डेमोक्रेसीलाई चुनाव अघि बिगठन गरिदिएको थियो।

सुचीलाई बर्माको प्रजातान्त्रिक आन्दोलनको सबैभन्दा प्रभावकारी व्यक्तिको रुपमा लिइन्छ। नोवेल शान्ति पुरस्कार विजेता सुचीलाई सैनिक सत्ताले भने सबैभन्दा ठूलो दुस्मनको रुपमा हेर्दै आएको छ।

सन् १९९० मा भएको चुनावमा सुचीको दल नेशनल लिग फर डेमोक्रेसीले दुई तिहाइ बहुमत प्राप्त गरेको थियो। जनमत प्राप्त सरकारलाई सेनाले बर्खास्थ गरेको थियो। त्यसपछि उनी बन्दी जीवन बिताइरहेकी छन्। लोकतन्त्रका लागि गरेको अथक संघर्षका लागि उनलाई १९९१ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: २६ कार्तिक २०६७ ०४:३६ शुक्रबार