काठमाडौं– देशमा राजनीतिक अस्थिरता अन्त्य भएसँगै सरोकारवालाले विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियानको शुभारम्भ गरेका छन्।
बुधबार ‘फोरेन रिटर्न नेप्लिज फर नेपाल’ (एफओआरइएनएन) नाम दिइएको अभियानको रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच शुभारम्भ गरे। पूर्व शिक्षामन्त्री गंगाधर तुलाधरद्वारा परिकल्पना गरेको यो अभियानको उद्देश्य पढाई, रोजगार आदिका क्रममा विदेशिएका नेपालीहरुलाई स्वदेश फर्किन उत्प्रेरित गर्ने रहेको छ। साथै नेपालभित्र र विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई राष्ट्रियताको सुत्रमा एकीकरण गरी सबैलाई आर्थिक रुपमा समृद्ध र विकसित नेपाल बनाउन अग्रसर गराउने लक्ष्य पनि अभियानले बोकेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले मुलुकको विकास र समृद्धिका लागि आवश्यक नयाँ पहलकदमी प्रारम्भ भएको बताए। ‘यसले निरन्तरता पाउनुपर्छ, यो अभियान र सरकारले देखेको सपना समान छ, सरकारले गर्नुपर्ने के हो भन्नुस् हामी तयार छौं’, उनले भने।
देशको स्थितीबाट निराश भएर विदेशिने बाध्यताको अन्त्य गर्नुपर्नेमा मन्त्री पोखरेलको जोड छ। ‘राजनीतिक अस्थिरताले समाज भताभुङ्ग भयो। युवाहरु विदेशिए। गरिब हुनै नसक्ने र नपर्ने देश गरिबीको अवस्थाबाट आक्रान्त भयो। यो दुर्भाग्यपूर्ण सिलसिला तोडिनुपर्छ। यसो नभए विकास र समृद्धि अघि बढ्दैन्’, मन्त्री पोखरेलले सुझाए।
माइण्ड नेपालको सहयोगमा आयोजित कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बड, यूएईका राजदूत सइद हमाद अलनाकबीले नेपालको समृद्धिको यात्रामा सम्पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए। उनीहरुले नेपालमा लगानी गर्ने योजना समेत सुनाए।
कार्यक्रममा बैंकर अनिल केशरी शाह, शिक्षाविद् प्रा.डा. श्रीराम भगुत माथे, जलविद्युत विज्ञ विश्वनाथ कंडेल, स्मृति श्रेष्ठ, अनिल प्रधान, सुजन अर्याल लगायत विभिन्न क्षेत्रका विज्ञहरुले समृद्धिका लागि विदेशमा रहेका नेपाली आफूसँग भएको पूँजीसहित स्वदेश फर्किनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा माधव बराल, महावीर पुनसहित केही सामाजिक व्यक्तिलाई सम्मान गरिएको थियो।
तस्बिर र भिडियाे : सुजन श्रेष्ठ