प्रवास

रसियाका उद्योगीलाई नेपालमा लगानी बढाउन आग्रह

नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यावसायिक संस्थाहरूबीच दुईपक्षीय हितका विषयमा छलफल भएको छ।

बुधबार परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरूबीच भएको व्यावसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरे।

लगानीका लागि नेपाल उर्वरभूमि रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकबीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने बताए।

व्यावसायिक भ्रमणको नेतृत्व गरिरहेका रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष सर्गेई कातरिनले देशको विकासका लागि निजीक्षेत्र सक्रिय हुन आवश्यक रहेको बताए।

नेपालमा लगानीका लागि रसियाका उद्योगी व्यवसायी तयार रहेको भन्दै उनले नेपालमा परिसंघसँग सहकार्य गर्दै केही न केही महत्वपूर्ण काम गर्ने बताए।

दुई देशका व्यवसायीहरूलाई प्रोत्साहन गर्न सँगै काम गर्न तयार रहेको बताए। यसैबीच, परिसंघ र रसियाका तीन व्यावसायिक संस्थाबीच दुईपक्षीय हितका विषयमा काम गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।

रसिया उद्योग वाणिज्य महासंघ, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघ र लिपेस्टिक उद्योग वाणिज्य संघसँग परिसंघको समझदारी भएको हो।

समझदारी पत्रमा परिसंघका अध्यक्ष अग्रवाल, रसिया उद्योग वाणिज्य महासंघका अध्यक्ष कातरिन, सेन्ट पिटर्सवर्ग उद्योग वाणिज्य संघका अध्यक्ष भ्लादिभिर कान्तेनेभ, लिपेस्टिक उद्योग वाणिज्य संघका अध्यक्ष आन्तेली गोस्ताभले संयुक्त रूपमा समझदारीपत्रमा हस्ताक्षर गरे।

प्रकाशित: १३ वैशाख २०८१ ०८:३८ बिहीबार

नेपाल उद्योग परिसंघ रसियाको व्यावसायिक संस्था व्यावसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल