प्रवास

अमेरिकामा समुन्द्रमा डुबेर नेपाली युवाको मृत्यु

सुबोध तण्डुकार

टेक्सास (अमेरिका)—अमेरीकाको टेक्सासस्थित कर्पसकृष्टि क्षेत्रमा पर्ने समुन्द्रमा डुबेर काठमाडौं थापाथली घर भएका एक नेपाली युवकको मृत्यु भएको समाचार छ। आइतवार बिदाको दिन पारेर साथीहरुसँग रमाइलो गर्न समुन्द्री तट गएका सुबोध तण्डुकारलाई सामुद्रिक छालले बगाएर समुन्द्रभित्र लगेको थियो।

डुबेर उनको ज्यान गएको उनलाई नजिकबाट चिन्ने फोर्टवर्थ निवासी बिजय लोहनीले बताए। नेपालमा काठमाडौंको थापाथली घर भएका करिब  ३० वर्षिय तण्डुकार टेक्सास अष्टिन बस्दै आएका थिए।

आइटी क्षेत्रमा कार्यरत तन्डुकारको शवलाई कर्पसकृष्टि क्षेत्रको एक स्थानीय अस्पतालमा राखिएको छ। न्युयोर्कमा रहेका मृतक तण्डुकारका मामा टेक्सास आउने तयारीमा रहेको र नेपालबाट पनि आमा बुबा ल्याउने प्रक्रिया शुरु भइसकेको उनले जानकारी दिए।

अन्तिम संस्कारको लागि नेपालबाट सुबोधका आमा बुवा आउने र अष्टिनमा उनको घर भएकोले अन्तिम संस्कारको लागि ग्रेटर अष्टिन नेपाली सोसाइटीले समन्वय र सहयोग गर्न लागेको ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपानेले बताए। मृतक तण्डुकारकी एक बहिनी छिन्। पिता शिक्षक हुन् भने अामा पूर्व बैंक कर्मचारी हुन्।

प्रकाशित: १६ जेष्ठ २०७४ ०५:०३ मंगलबार

अमेरिकामा समुन्द्रमा डुबेर नेपाली युवाको मृत्यु