प्रवास

दृष्टिबिहीनका लागि यौन पुस्तक

लण्डन, वैशाख १, (द टेलिग्राफ)- बेलायतमा दृष्टिबिहीनका लागि यौनजन्य सामग्री भरिपूर्ण छाम्ने पुस्तक प्रकाशित भएको छ। ट्याक्टाइल माइन्ड्स नामको उक्त पुस्तकमा १७ कामोत्तेजक चित्रलाई ब्रेललिपिमै छापिएको छ। दृष्टिबिहीन पाठकले छामेकै भरमा पुस्तकमा प्रकाशित तस्बिरबाट मजा लिन सक्ने छन् । क्यानेडियाली लिजा मर्फीले रचना गरेको उक्त पुस्तकको मूल्य १ सय ५० पाउण्ड राखिएको छ ।
 
वयस्कहरुको पत्रिका प्लेब्वाइले सन् १९७५ देखि १९८५ सम्म दृष्टिबिहीनका लागि ब्रेललिपिमा लेखिएको विशेष संस्करण प्रकाशित गरे पनि तस्बिरको प्रयोग गरेको थिएन ।

पुस्तककी रचनाकार लिजा मर्फीका अनुसार ब्रेललिपिमै तस्बिर प्रयोग गरिएको यो पहिलो पुस्तक हो। वयस्क दृष्टिबिहीन पाठकका लागि यौन साहित्यको अभाव पूर्ति गर्न यस्तो पुस्तक तयार पारेको रचयिता मर्फीले बताइन् । कामोत्तेजक तस्बिरको संस्कृतिमा दृष्टिबिहीन पछि परेको धारणा मर्फीको छ ।

प्रकाशित: १ वैशाख २०६७ ०६:१२ बुधबार