प्रवास

विश्व राफ्टिङ च्याम्पियनसीपमा पहिलो पटक नेपालको झन्डा फहराउँदै

युएई—विश्व राफ्टिङ च्याम्पियनशिपमा नेपालले पहिलो पटक चन्द्र र सूर्य अङ्कित झण्डा फहराउने भएको छ।

अन्तरार्ष्ट्रिय राफ्टिङ महासंघ (आईआरएफ)ले युएईमा आजदेखि सुरु गर्न लागेको विश्व राफ्टिङ च्याम्पियनशिपमा नेपालले पहिलो पटक भाग लिएको हो।

हिमालयन रिभर गाइड एसोसिएशन र राफ्टिंग एण्ड क्यानोइङ एसोसिएशनको समन्वयमा नेपालले आफ्नो सहभागिता दर्ता गराएको थियो। मंगलबार अर्थात आज ३ बजेबाट सुरु हुन लागेको च्याम्पियनशिपमा नेपाल सहित विभिन्न २८ देशहरुले सहभागिता जनाएका छन्।

सहभागी देशहरुबाट विभिन्न विधामा भाग लिने नेपाल सहित ८६ वटा टिम रहेका छन्।

विभिन्न विधाहरुमध्ये  नेपालले ओप्पन म्यान विधामा प्रतिस्पर्धा गर्नेछ।  ओप्पन म्यान विधामा नेपालबाट पाँच जना खेलाडीले भाग लिँदैछन्।

खेलाडीहरु दोलखाका राजेन्द्र श्रेष्ठ (क्याप्टेन), नुवाकोटका टंक थिङग, चितवनका विकास गुरुङ, सिन्दुपालचोकका रामकुमार श्रेष्ठ र दोलखाका रामशरण श्रेष्ठ रहेका छन्।

च्याम्पियनशिप औपचारिक रुपमा आजदेखि सुरु भए पनि खेल नोभेम्बर २ बाट सुरु हुने क्याप्टेन राजेन्द्र श्रेष्ठले बताए। नेपालले ओप्पन म्यान विधा अन्तर्गत चार खेल खेल्नु पर्नेछ ।  जसमध्से पहिलो नोभेम्बर २ मा स्प्रिन्ट खेल खेल्नेछ भने भोलिपल्ट हिट टु हिट र सलालम खेल्ने छ। अन्तिम खेल नोभेम्बर ५ गते डाउन रिभर रेस खेल्ने छ।

ओप्पन म्यान विधामा नेपाल सहित विभिन्न देशका २२ वटा टिमहरु रहेका छन्। नेपालले जित हासिल गर्न ब्राजिल, अर्जेटिना र वेलायतसँग बढी प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

नेपालको झन्डा बोकेर खेल स्थलमा आई आफूहरुलाई हौषला बढाई दिन नेपाली खेलाडीले आग्रह गरेका छन्।

प्रकाशित: १६ कार्तिक २०७३ १०:४९ मंगलबार

विश्व राफ्टिङ च्याम्पियनसीपमा पहिलो पटक नेपालको झन्डा फहराउँदै