ब्लग

हारभित्र लुकेको नेपालको जित

मुम्बईको वानखडे रंगशाला आइतबार केवल एउटा क्रिकेट मैदान थिएन। त्यो दिन वानखडे नेपाली सपनाको मञ्च बनेको थियो। अरब सागरको हावासँगै लहरिँदै गरेका नेपाली झन्डा, ‘नेपाल–नेपाल’ का नाराले गुञ्जिएको रंगशाला, रातो, नीलो र सेतो जर्सीमा सजिएका हजारौँ समर्थक–सबैले मिलेर वानखडेलाई केही घण्टाका लागि सानो नेपाल बनाइदिएका थिए।

आइतबार विहान मुम्बईका सडकहरू अझै निदाइरहेका थिए। तर नेपाली समर्थकहरूको मन जागिसकेको थियो। बिहानैदेखि उनीहरू आफ्नो टिमलाई साथ दिन मैदानतर्फ लागिसकेका थिए। उनीहरूका आँखामा आशा थियो, छातीमा गर्व थियो र मनमा एउटै सपना–इंग्ल्यान्ड जस्तो दुई पटकको विश्व च्याम्पियनलाई हराउने।

तर क्रिकेट सधैं तथ्य र भावनाको दोधारमा चल्ने खेल हो। जहाँ कहिलेकाहीँ उत्कृष्ट खेल पनि हारमा बदलिन्छ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य कुनै पनि हिसाबले सजिलो थिएन। विश्व क्रिकेटमा शक्तिशाली मानिने टोली विरुद्ध यस्तो लक्ष्य पछ्याउनु आफैंमा चुनौती हो। तर नेपाली टोली त्यो चुनौतीबाट डराएन। कुशल भुर्तेल र आसिफ शेखले सुरुआतमै आक्रमण गरेर संकेत दिएका थिए–नेपाल डराएर मैदानमा आएको छैन। कुशलको ब्याटबाट निस्केका चौका–छक्का केवल रन मात्र थिएनन्, ती आत्मविश्वासका आवाज थिए।

त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी मैदानमा आए। उनीहरूको साझेदारी नेपाली इनिङ्सको मेरुदण्ड बन्यो। ८२ रनको त्यो साझेदारीले वानखडेमा आशाको उज्यालो फैलायो। दर्शकहरू कुर्सीमा बस्न सकेनन्, मोबाइल क्यामेराहरू खुल्न थाले, सामाजिक सञ्जालमा ‘आज इतिहास बन्छ’ भन्ने सन्देश फैलिन थाल्यो।

दीपेन्द्रको ब्याटबाट निस्केका सटहरूमा अनुभव झल्किन्थ्यो। २ हजार टी–२० रन पूरा गर्नु केवल व्यक्तिगत उपलब्धि थिएन। त्यो नेपाली क्रिकेटको परिपक्वताको प्रतीक थियो।

खेल जब अन्तिम ओभरतर्फ मोडिन थाल्यो, तब मैदानमा नयाँ नायक उदाए–लोकेश बम। उनका छक्काहरूले इंग्ल्यान्डका बलरहरूलाई दबाबमा ल्यायो। दर्शकहरूको स्वर अझ तीव्र बन्यो। १८औँ ओभरमा उनका तीन छक्का खेलको गति नै बदल्ने क्षण बने। १९औँ ओभरमा आएका वाइड बलहरू इंग्ल्यान्डको तनावको प्रमाण थिए।

अन्तिम ओभरमा जितका लागि १० रन चाहिन्थ्यो। पूरा रंगशाला शान्त थियो। सबैको आँखा पिचमा थियो। सबैको सास रोकिएको थियो। एक साथ धण्डकन धड्केको थियो। तर अन्तिम दुई बलमा भाग्यले नेपाललाई साथ दिएन। लोकेशले प्रयास गरे, शक्ति लगाए, आत्मबल खर्चिए। तर बल सीमापार जान सकेन। अन्तिम बलसँगै नेपाली सपनाको एउटा अध्याय आँसुसँग मिसियो। नेपाल ४ रनले पराजित भयो।

यो हार केवल स्कोरबोर्डमा देखिने हार थिएन। यो एउटा पीडादायी तर गर्विलो हार थियो। नेपाल जितको मुखमै पुगेर रोकियो। तर त्यो रोकाइ कमजोरीका कारण होइन, अनुभवको कमीका कारण थियो।

इंग्ल्यान्डको जित केवल रनको आधारमा मात्र थिएन। त्यो अनुभवको जित थियो। आत्मविश्वासको जित थियो। ज्याकोब बेथेल र ह्यारी ब्रुकको अर्धशतकले उनीहरूको इनिङ्स टिमलाई बलियो बनायो। युवा बेथेलको आत्मविश्वास र ब्रुकको धैर्यताले इंग्ल्यान्डलाई सुरक्षित स्कोरसम्म पु¥यायो। पुछारतिर विल ज्याक्सको विस्फोटक ब्याटिङले स्कोरलाई १८४ सम्म पु¥यायो, जुन अन्ततः निर्णायक बन्यो। बलिङमा लियम डावसनजस्ता खेलाडीहरूले दबाबका बेला सही लाइन र लेन्थ राखे। यही सन्तुलन नै ठूलो टिम र उदाउँदै गरेको टिमबीचको फरक हो।

यस खेलको अर्को उज्यालो पक्ष थिए–शेर मल्ल। पहिलो विश्वकप, पहिलो बल, पहिलो विकेट। फिल साल्टलाई आउट गर्दा उनले इतिहास लेखे। उनको प्रदर्शनले देखायो–नेपाली क्रिकेट अब केवल अनुभवी खेलाडीमा निर्भर छैन। नयाँ पुस्ता पनि जिम्मेवारी लिन तयार छ। एनपीएल, अभ्यास खेल र घरेलु क्रिकेटले जन्माएका यस्ता खेलाडीहरू नेपाली क्रिकेटको भविष्य हुन्।

वानखडेमा उपस्थित हजारौँ नेपाली समर्थकहरू केवल दर्शक थिएनन्, उनीहरू ऊर्जा थिए। जब नेपाल रन बनाउँथ्यो, स्टेडियम हल्लिन्थ्यो। जब विकेट झथ्र्यो, सामूहिक सास फेर्न थालिन्थ्यो। विदेशी भूमिमा बसेर पनि आफ्नो पहिचान, भाषा र माया बोकेर टोलीलाई साथ दिनु नेपालीपनको सुन्दर उदाहरण हो। यी समर्थकहरूले प्रमाणित गरे–नेपाल सानो देश भए पनि यसको समर्थन विशाल छ।

यो खेल कागजमा हार हो। अंक तालिकामा हार हो। तर मनको हिसाबले जित हो। नेपालले इंग्ल्यान्डसँग बराबरी स्तरको प्रतिस्पर्धा ग¥यो। कुनै पनि बेला कमजोर देखिएन। डराएन, झुकेन। यो हारले दुई वर्षअघिको दक्षिण अफ्रिकासँगको पीडा सम्झायो। तर फरक यति हो–अब नेपाल सिक्दै छ, बढ्दै छ। अब नेपाल ‘अन्डरडग’ मात्र होइन, ‘खतरा’ बन्दैछ।

वानखडेमा त्यो रात नेपाली खेलाडीहरू हारेर पनि विजेता बने। उनीहरूले देशको आत्मसम्मान जिते। करोडौँ नेपालीको मन जिते। क्रिकेट केवल खेल होइन, यो भावनाको भाषा हो। र त्यो दिन नेपाली टोलीले त्यो भाषा सुन्दर ढंगले बोले। हारले आँसु ल्यायो, तर आँसुसँगै आशा पनि जन्मायो। आज नेपाल ४ रनले हारेको छ, भोलि इतिहास जित्नेछ। किनभने यो टोलीसँग आत्मा छ, यो टोलीसँग सपना छ, र त्यो सपना वानखडेबाट अझ बलियो भएर फर्किएको छ।

प्रकाशित: २६ माघ २०८२ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App