पृष्ठभूमि
नेपाल राष्ट्रको ज्ञानपरम्परा केवल ग्रन्थ, मठ र मन्दिरमा मात्र सीमित देखिँदैन । यसको विस्तार लोकस्मृति, वंशपरम्परा, शिलालेख, ताम्रपत्र, प्राचीन सन्धि, अभिलेख, धार्मिक गुठी, भाषा-साहित्य र ऐतिहासिक चेतनासम्म देखिन्छ ।
यही बहुआयामिक ज्ञानसम्पदालाई खोज्ने, सङ्कलन गर्ने, संरक्षण गर्ने र समाजसामु पस्कने अत्यन्तै विरल व्यक्तिहरूमध्ये योगी नरहरिनाथको स्थान अत्यन्त विशिष्ट रहेको छ । उनी केवल धर्माचार्य वा योगसाधक नभएर संस्कृतवाङ्मयका विशिष्ट अध्येता, इतिहासका अन्वेषक, अभिलेखका सङ्ग्रहकर्ता, ग्रन्थसम्पादक, सांस्कृतिक चिन्तक र राष्ट्रिय चेतनाका प्रेरकसमेत हुन् । उनको व्यक्तित्वको मूल्याङ्कन केवल आध्यात्मिक प्रतिष्ठा अथवा धार्मिक आस्थाका आधारमा मात्र गर्नु पर्याप्त हुँदैन ।
उनले त परम्परालाई अनुसन्धानसँग, शास्त्रलाई इतिहाससँग र आध्यात्मिक चेतनालाई राष्ट्रिय सांस्कृतिक उत्तरदायित्वसँग जोड्ने अथक प्रयास गरेका छन् । उनको जीवनले यस तथ्यलाई प्रमाणित गरेको छ कि कसैको ज्ञानसाधना तथा विद्वत्ताले त्यतिवेला व्यापक सामाजिक अर्थ राख्दछ जब त्यो व्यक्तिगत उपलब्धिभन्दा अघि बढेर सामूहिक चेतना र राष्ट्रिय बौद्धिक सम्पदाको संरक्षणमा समर्पित बन्छ ।
त्यस्तै योगी नरहरिनाथको विद्वत्ता केवल शास्त्रीय अध्ययनमा मात्र सीमित थिएन अपि तु उनले प्राचीन ग्रन्थहरूको अध्ययनका साथै ऐतिहासिक अभिलेख, वंशावली, ताम्रपत्र, पाण्डुलिपि र सांस्कृतिक स्रोतहरूको सङ्कलन, सम्पादन र प्रकाशन गर्ने महनीय योगदान दिएका थिए । अर्थात् उनले ज्ञानसम्पदालाई ग्रन्थ तथा पुस्तकालयबाट निकालेर समाज, भूगोल, राष्ट्र र ऐतिहासिक जीवनसँग जोड्ने स्तुत्य कार्य सम्पन्न गरेका थिए ।
उनै महामना योगी नरहरिनाथको बहुआयामिक व्यक्तित्व र कृतित्वलाई संस्कृत वाङ्मय तथा राष्ट्रिय सांस्कृतिक चेतनाका सन्दर्भमा जुनकिरीले झैँ मधुरै रूपमा प्रकाश पार्ने दुस्साहसपूर्वक नेपाल संस्कृत विश्वविद्यालयद्वारा शिक्षा तथा खेलकुदमन्त्री तथा सहकुलपतिको समुपस्थितिमा सम्पन्न विश्वविद्यालयसभामा ‘राष्ट्रगुरु योगी नरहरिनाथ : अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने ऐतिहासिक निर्णयको स्वागतसहित प्रस्तुत संस्थालाई औपचारिक रूपमा अघि बढाउन आवश्यक कार्यदिशा/कार्यविधिका बारेमा बौद्धिक बहस प्रारम्भ गर्नु नै लेखकीय अभीष्ट हो ।
योगी नरहरिनाथको बहु-आयामिक व्यक्तित्व
आध्यात्मिक तथा योग साधक : योगी नरहरिनाथ नेपालको नाथ सम्प्रदायको साधना परम्पराद्वारा अनुप्राणित थिए । उनको विराटव्यक्तित्व त्याग, तपस्या, अनुशासन, ब्रह्मचर्य, योगाभ्यास र आध्यात्मिक चिन्तनद्वारा निर्मित देखिन्छ । उनको आध्यात्मिक व्यक्तित्व समाज राष्ट्र, संस्कृति र लोककल्याणसँग प्रत्यक्ष जोडिँदै अघि बढेको छ । शास्त्राध्ययनका साथै ज्ञानप्रसार तथा सांस्कृतिक संरक्षणमा उनको जीवनदृष्टि महत्त्वपूर्ण देखिन्छ ।
वैदिक विद्वान् तथा दार्शनिक : वेद उपनिषद, दर्शन, व्याकरण, पुराण, साहित्य, तन्त्र आदि शास्त्रीय विषयमा योगी नरहरिनाथको गहिरो रुचि र ज्ञान रहेको थियो । वैदिक जीवनमूल्य, सामाजिक समन्वय, नैतिकता, आध्यात्मिक चेतना र मानवीय उत्तरदायित्त्व आदि विषयमा उनको विचार अनुसन्धेय छ । त्यस्तै उनको वैदिक साम्यवाद सम्बन्धी अवधारणाको पनि आलोचनात्मक एवम् तुलनात्मक अध्ययन हुनु अत्यावश्यक छ ।
इतिहासकार एवम् अभिलेख अन्वेषक : योगी नरहरिनाथको अत्यन्त चहकिलो व्यक्तित्व वा पहिचान भनेकै अन्वेषक एवम् इतिहासकार हो । उनले नेपालका दुर्गम क्षेत्रमा पुगी ऐतिहासिक सामग्रीहरू; वंशावली, शिलालेख, ताम्रपत्र, सन्धिपत्र, वंशावली आदिको अन्वेषण, सङ्कलन र प्रकाशन गरेर नेपाल राष्ट्र र समाजप्रति अनुपम योगदान पुर्याएका छन् । हजारौँ अभिलेख र वंशावली आदिका अन्वेषक योगीजीका कतिपय सामग्री अहिले पनि अप्रकाशित रहेको भन्ने सूचनाले अनुसन्धानको व्यापक सम्भावनालाई प्रस्तुत गर्दछ ।
साहित्यकार, सम्पादक तथा प्रकाशक : योगी नरहरिनाथले संस्कृत तथा नेपाली भाषामा विविध विषयमाधि लेखन, सम्पादन र प्रकाशन गरेको देखिन्छ । उनीद्वारा लेखिएका तथा सम्पादन गरिएका साहित्यिक एवम् अनुसन्धानात्मक कृतिहरूको व्यवस्थित सङ्कलन, सूचीकरण, वर्गीकरण, सम्पादन र डिजिटाइलेसन (विद्युतीय संरक्षण) गर्नु महत्त्वपूर्ण आवश्यकता हो ।
राष्ट्रवादी तथा सांस्कृतिक अभियन्ता : योगी नरहरिनाथ राष्ट्रवादी व्यक्ति थिए र उनी नेपालको सांस्कृतिक सम्पदालाई राष्ट्रिय चेतनाको मूल आधार मान्थे । उनको राष्ट्रचिन्तन इतिहास, संस्कृति, भाषा, परम्परा र सभ्यतागत अस्तित्वसँग जोडिएको देखिन्छ । उनको राष्ट्रचिन्तनको अध्ययन समकालीन नेपालको ऐतिहासिक, समाजिक र राजनीतिक परिस्थितिको सन्दर्भमा गर्नु अपरिहार्य छ ।
संस्कृत विश्वविद्यालयको स्थापनामा योगीजीको योगदान
नेपाल संस्कृत विश्वविद्यालयको स्थापना नेपाली समाजमा संस्कृत शिक्षाको संरक्षण, संवर्धन र संस्थागत विकासका लागि लामो समयसम्मको सामूहिक प्रयासबाट भएको हो । यस अभियानमा शिक्षाप्रेमी, दानदाता, विद्वान्, सामाजिक अभियन्ता, र संस्कृतानुरागी व्यक्तिहरूको योगदान देखिन्छ । यस अभियानको प्रमुख प्रेरक, परिकल्पनाकार तथा नेतृत्वकर्तामा उनै योगी नरहरिनाथ रहेका थिए ।
दाङमा वि.सं. २०१० देखि प्रारम्भ भएको संस्कृत-विद्याकेन्द्रको स्थापना-अभियानले योगीजीकै कुशल अभिभावकत्वमा वि.सं. २०२६ मा महेन्द्र संस्कृत विश्वविद्यालयको घोषणा तथा २०३१ मा दाङमा संस्कृत अध्ययन संस्थानको डीन कार्यालय स्थापना हुँदै २०४३ साल मङ्सिर २५ गते महेन्द्र संस्कृत विश्वविद्यालयको औपचारिक स्थापना भएको हो ।
सामूहिक तथा सामाजिक अभियान चलाउँदै आवश्यक पूर्वाधारका लागि जग्गा-जमिन सङ्कलन गर्दै, शिक्षाविद् र राज्यस्तरीय संयन्त्रलाई ध्यानाकर्षण एवम् मार्गदर्शन गर्दै संस्कृत विद्या र प्राच्यज्ञानको महत्त्वपूर्ण केन्द्रका रूपमा संस्कृत विश्वविद्यालय स्थापना गर्न सफल योगी नरहरिनाथको सम्मान तथा स्मरण गर्नु विश्वविद्यालयको कर्तव्य, दायित्त्व र धर्म पनि हो ।
योगी नरहरिनाथको कृतित्वमाथि अनुसन्धानको आवश्यकता
यद्यपि योगी नरहरिनाथको राष्ट्रहित तथा लोककल्याणमा समर्पित जीवनचरितले नै उनको व्यक्तित्व नेपालको इतिहासमा सर्वदैव अमर रहने निश्चित छ तथापि नेपाल राष्ट्रकै लागि पनि उनका बारेमा समग्र, व्यवस्थित र बहुविषयक अनुसन्धान हुनु पर्दछ । राष्ट्रिय चेतनाका दृष्टिले योगी नरहरिनाथ अध्ययनका विषय हुँदै हुन्, त्यसभन्दा माथि उनको जीवनी र कृतित्व वैदिक धर्म, इतिहास, संस्कृति, नाथयोग परम्परा, संस्कृतअध्ययन आदिको व्यापक प्राज्ञिक विमर्शसँग सम्बद्ध छन् ।
योगी नरहरिनाथको मूल दार्शनिक दृष्टिको स्वरूप के हो ? उनको वैदिक साम्यवादको अवधारणा कुन शास्त्रीय आधारमाथि प्रतिष्ठित छ ? नेपालको इतिहास लेखनमा उनले सङ्कलन गरेका अभिलेख आदिको महत्त्व कत्तिको छ ? उनका प्रकाशित एवम् अप्रकाशित ग्रन्थहरूको विशेषता के हुन् ? संस्कृत विश्वविद्यालयको स्थापनामा उनले दिएका योगदानको तथ्यपरक स्वरूप के हो ? उनको ज्ञानदृष्टि तथा चिन्तनलाई नेपालको समकालीन शिक्षा, संस्कृति र सामाजिक विकाससँग कसरी जोड्ने ? आदि प्रश्नहरूको उत्तर खोजी गर्दै योगी नरहरिनाथका विषयमा अनुसन्धान गरी आधिकारिक एवम् प्रामाणिक शोधग्रन्थ तयार पार्नु र उनको ज्ञानदृष्टिलाई नेपाली समाजसामु पस्कनु नेपाल संस्कृत विश्वविद्यालयको नै प्रमुख दायित्व हो ।
अनुसन्धानका दृष्टिले योगी नरहरिनाथको पुनर्मूल्याङ्कन
योगी नरहरिनाथको जीवनी र कृतित्वमाथि अझै व्यवस्थित, बहुविषयक र प्रामाणिक अनुसन्धानको व्यापक सम्भावना छ तर उनको व्यक्तित्वको अध्ययन केवल धार्मिक अथवा जीवनचरितात्मक दृष्टिकोणले मात्र पर्याप्त हुँदैन । योगी नरहरिनाथलाई नेपालका सन्दर्भमा अध्ययन त गर्नुपर्छ तर नेपालकै सीमामा सीमित गर्न भने सकिन्न ।
उनको वैश्विक चिन्तन तथा समग्र मानवतावादी दृष्टिकोणलाई सम्मान गर्न सक्ने प्राज्ञिक अनुसन्धान गर्न अपरिहार्य हुन्छ । त्यसैले ७९ औँ विश्वविद्यालयसभाद्वारा प्रस्ताव तथा निर्णय गरिएको ‘राष्ट्रगुरु योगी नरहरिनाथ : अनुसन्धान तथा नवप्रवर्तनकेन्द्र’ लाई सम्मान, प्रमाण, आलोचनात्मक विवेक र नवप्रवर्तनको समन्वित आधारमा विकास गर्नु पर्दछ ।
अनुसन्धान तथा नवप्रवर्तनकेन्द्रको औचित्य
नेपाल संस्कृत विश्वविद्यालयद्वारा संस्थापक योगी नरहरिनाथको सम्मानमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने निर्णय अत्यन्त दूरदर्शी, ऐतिहासिक र शैक्षिक दृष्टिले महत्त्वपूर्ण रहेको छ । यस निर्णयले विश्वविद्यालयको ऐतिहासिक स्मृतिलाई जीवित राख्नुका साथै भविष्यको ज्ञानयात्रालाई नया दिशा निर्देश गर्ने क्षमता राख्दछ । यस केन्द्रको स्थापनाको औचित्यलाई निम्न आधारमा स्थापित गर्न सकिन्छ :
१. योगी नरहरिनाथका अप्रकाशित साहित्य-सिर्जना, ऐतिहासिक अभिलेख र पाण्डुलिपिहरूको सङ्कलन, संरक्षण, सम्पादन र प्रकाशन,
२. वैदिक दर्शन, संस्कृत वाङ्मय, नेपालका बहुजाति, बहुभाषा, बहुल संस्कृति, नेपाली इतिहास, पुरातत्त्व सम्बन्धी अनुसन्धान गर्ने संस्थाका रूपमा विकास,
३. नेपालको मौलिक ज्ञानपरम्परालाई आधुनिक विज्ञान र नवप्रवर्तनसँग संयोजन,
४. विश्वविद्यालय स्थापनाका क्रममा योगीजीको योगदानलाई प्रामाणिक दस्तावेजीकरण,
५. राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा योगी नरहरिनाथका विचार, कृतित्व र योगदानको प्राज्ञिक परिचय र प्रचार प्रसार,
६. हठयोग, आयुर्वेद-प्राकृतिक चिकित्सा, तन्त्रजस्ता प्रयोगप्रधान विषयहरूको देशव्यापी प्रशिक्षण सञ्चालन,
७. नेपालको धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्वरूप तथा नेपालको बृहत् परिचयात्मक ग्रन्थनिर्माण,
८. नेपालका विभिन्न जातिका संस्कृति, परम्परा, भाषा, रीतिरिवाज आदिको अनुसन्धान र प्रकाशन,
९. नेपालको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक स्थलहरूको अध्ययन र संरक्षणका उपायको दिग्दर्शन,
१०. नेपालमा प्राचीन कालदेखि प्रचलित लिपिहरूको अन्वेषण र प्रशिक्षणद्वारा तिनको विकासमा योगदान,
११. देशभरि संस्कृतमा लेखिएका अभिलेखहरूको मूलरूप र नेपाली तथा अङ्ग्रेजी भाषामा रूपान्तरण र प्रकाशन,
१२. नेपालका आयुर्वेदिक जडिबुटीहरूको परिचय र उपयोगिता सम्बन्धी अनुसन्धान र प्रकाशन,
१३. पौरस्त्य र पाश्चात्य भाषा एवम् दर्शनहरूको आलोचनात्मक तथा तुलनात्मक गहन अध्ययन,
१४. संस्कृतभाषा, राष्ट्रभाषा र राष्ट्रिय भाषाका उन्नयनमा समर्पित विशिष्ट भाषावाङ्मयसेवीको पहिचान र सम्मान,
१५. संस्कृतशिक्षाका लागि दानदातव्यबाट स्थापना गरिएका गुठीहरूको खोजी र तत्तत्स्थानमै समावेशी संस्कृत गुरुकुलको स्थापना र व्यवस्थित सञ्चालन आदि ।
यस प्रकार ‘योगी नरहरिनाथ : अनुसन्धान एवम् नवप्रवर्तन केन्द्र’ लाई सामान्य अनुसन्धान गर्ने अङ्गका रूपमा नभई नेपालको प्राचीन ज्ञानपरस्परा र आधुनिक अनुसन्धानका बीच महत्त्वपूर्ण सेतुका रूपमा विकसित गर्नुपर्छ र यस केन्द्रलाई आम नेपालीको साझा शैक्षिक तथा प्राज्ञिक संस्थाका रूपमा स्थापित गर्नु उपयुक्त हुन्छ ।
विश्वविद्यालय समक्ष नीतिगत सुझाव एवम् अपेक्षा
‘राष्ट्रगुरु योगी नरहरिनाथ : अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ को स्थापना गर्ने ऐतिहासिक निर्णयलाई संस्थागत उपलब्धिमा परिणत गर्नका लागि विश्वविद्यालयले निम्नलिखित विषयमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ :
१. अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका लागि स्पष्ट एवम् स्वतन्त्र कार्यविधिको निर्माण,
२. योग्य, अनुसन्धानशील र दूरदर्शी नेतृत्वको नियुक्ति,
३. योगी नरहरिनाथका सम्पूर्ण कृतिहरूको प्रामाणिक सूचीकरण वा सुरक्षण,
४. योगीका अप्रकाशित पाण्डुलिपि र अभिलेखहरूको संरक्षण र प्रकाशनमा प्राथमिकता,
५. वैदिक साम्यवाद तथा उनका मौलिक चिन्तनमाथि अनुसन्धान परियोजनाको प्रारम्भ,
६. अन्तरराष्ट्रिय विश्वविद्यालय तथा अनुसन्धान संस्थानसँग संस्थागत सहकार्य,
७. केन्द्रलाई विश्वविद्यालयको दीर्घकालीन शैक्षिक एवम् अनुसन्धानात्मक विकासको प्रमुख आधारका रूपमा ग्रहण आदि ।
उपसंहार : योगीजीको सम्मान र ज्ञानको पुनर्जागरण
योगी नरहरिनाथको जीवन त्याग, तपस्या, विद्वत्ता, अनुसन्धान र राष्ट्रचिन्तनजस्ता विषयको अद्वितीय समन्वय हो भन्ने सर्वविदित छ । उनले आफ्नो जीवनलाई ज्ञानको खोजी, ऐतिहासिक स्रोतको अन्वेषण, संस्कृत वाङ्मयको प्रचार-प्रसार र राष्ट्रिय सांस्कृतिक चेतनाको सम्वर्धनमा समर्पित गरे ।
नेपाल संस्कृत विश्वविद्यालयको स्थापनाका लागि उनले गरेको अथक प्रयास एवम् सार्थक योगदानले उनी अतीतका अध्येतामात्र नभएर भविष्यका लागि शैक्षिक संस्था निर्माण गर्ने दूरदर्शी प्रेरक व्यक्तित्व थिए । उनकै स्मृतिमा अनुसन्धान तथा नवप्रवर्तनकेन्द्रको स्थापना गर्ने निर्णयले संस्कृत विश्वविद्यालय आफ्नो ऐतिहासिक जरासँग जोडिएर भविष्यको अनुसन्धानात्मक चुनौती प्रति उत्तरदायी बन्न खोजेको देखिन्छ ।
आजको आवश्यकता भनेको योगीका नाममा संस्था खडा गर्नु मात्र होइन किन्तु उनीद्वारा सङ्कलित ज्ञानसम्पदालाई सुरक्षित राख्नु, उनका विचारलाई निष्पक्ष अनुसन्धान गर्नु र उनको उदात्त ज्ञानदृष्टिलाई नवीन पुस्तासम्म हस्तान्तरण गर्न सक्नु महत्त्वपूर्ण कुरा हो ।
त्यसैले प्रस्तावित अनुसन्धान तथा नवप्रवर्तन केन्द्रलाई एक सामान्य स्मृति-संस्थानका रूपमा सीमित नगरी नेपालको प्राचीन ज्ञानपरम्परा, ऐतिहासिक चेतना, दार्शनिक चिन्तन र आधुनिक अनुसन्धानको समन्वय गर्ने राष्ट्रिय एवं अन्तरराष्ट्रिय केन्द्र बनाउन आवश्यक छ ; यही नै योगी नरहरिनाथप्रति सच्चा सम्मान हुनेछ, यो नै नेपाल संस्कृत विश्वविद्यालयको जिम्मेवारी तथा कर्तव्य हो ।
विज्ञेषु किमधिकम् ? अन्तिममा यही शुभकामना- ‘राष्ट्रगुरु योगी नरहरिनाथको तपस्या, त्याग, विद्वत्ता, अनुसन्धानशीलता एवम् राष्ट्रिय चिन्तनमा समर्पित यो अनुसन्धान तथा नवप्रवर्ततकेन्द्र अतीतको ज्ञानसम्पदाको संरक्षक, वर्तमानको बौद्धिक चेतनाको संवाहक तथा भविष्यको नवप्रवर्तनको प्रेरणास्रोत बन्न सकोस् ।’
जयतु संस्कृतम् !!
लेखक घिमिरे नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुन् ।
प्रकाशित: २१ कार्तिक २०८३ १४:४० शनिबार