विचार

जेन जीका नाउँमा !

मानव सभ्यताको अनेकौं विकासक्रमसँगै समाजमा राजनीतिक विकासको प्रकृया प्राचीनकालमा राजतन्त्रबाट सुरु भएर पछि त्यो मध्ययुगमा सामन्तवाद हुँदै आजको भूमण्डलीकृत पुँजीवादसम्म आइपुग्दा भूअर्थराजनीतिसँग जोडियो ।  

यहाँसम्म राजनीतिक प्रणालीले अनेक किसिमका आयामहरु पार गर्दै आज विश्वव्यापीकरण र लोकतन्त्रको विकासमा राजनीतिक हिसाबमा मुलुकहरुले कतै प्रतीनिधिमूलक लोकतन्त्र त कतै संवैधानिक राजतन्त्रात्मक व्यवस्थाको अवलम्वन गरेका छन् । ती मुलुकहरुमा सञ्चालित शासनपद्वति त्यहाँको मौलिकता र जनहितमा आधारित हुनुपर्छ ।

यो राजनीतिक सिद्धान्तको आधारभूत मान्यता हो ।  तर  हाम्रो जस्तो मुलुक अर्थात्  कथित  तेस्रो विश्व जहाँ ‘गोरुगाडा चढेर अमेरिका पुगिदैन।’  केपी शर्मा ओलीले भनेको कथन हाम्रो मौलिक भनिएको लोकतन्त्र माथिको निर्मम व्यङ्ग हो । माओवादी आन्दोलन हुँदै बृहद शान्ति सम्झौतासम्म आइपुग्दा निश्चय नै सन् १९९२ मा समाजवादी सोभियत संघ विगठनपछि विश्व राजनीतिक  उथलपुथलको परिदृश्यमाझ शक्तिको एकल ध्रुव अन्ततः जुन ठेलागाडा चढेरै भएपनि पुगिने पूँजिवादको अमेरिका नै हो । भन्ने कुरो लगभग सत्य सावित नै  भयो ।    

तत्कालीन नेकपा महासचिव मदन भण्डारीले रोपेको जबज विरुवाको फल टिप्ने सौभाग्य बारबार ओलीलाई नै प्राप्त भयो । खैर, तर १० वर्षे जनयुद्धको रोडम्याप पछि बृहद शान्तिसम्झौता माओवादी जनयुद्धको सैद्धान्तिकी अनुसार एक किसिमको अवसान थियो । यद्दपि लोकतन्त्रको कुरा गर्दैगर्दा राजतन्त्रको बिदाई र संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग तय गर्ने माओवादी जनयुद्धको सार नेपाली समाजमा सम्रग चिन्तन विकाससँग जोडिएको छ । तमाम बिमतिका बाबजुद देशमा कहिकतै लोकतन्त्रको निशान छ र त्यसलाई महसुस गर्न सकिन्छ भने माओवादी जनयुद्धलाई साधुवाद भन्न बिर्सिनु हुदैन । साथै नेपाली कांग्रेस जसको नेतृत्वमा परम्परागत बहुदलीय व्यवस्थामा विश्वासगर्ने दलहरुको सहमतिबाट २०४६ सालको सयुक्त जनआन्दोलनद्वारा ३० वर्षे लामो पञ्चायतलाई समाप्त पार्‍यो । जसबाट यसले नेपाललाई संवैधानिक बहुदलीय लोकतन्त्रमा प्रवेश गरायो । यसर्थ २०४७ सालको संविधान अघिसम्मको श्रेय नेपाली कांग्रेसलाई नै जान्छ । वास्तविक कुरा के हो भने , लोकतन्त्रको ठेलागाडा जसरी घच्याकघुचुक रुपमा २०७२ सालको संविधान हुँदै यहाँसम्म आइपुग्यो ती तीन पाङ्ग्रा माथि उल्लेखित दलहरु नै हुन । तर एक पाङ्ग्रो भने हमेसा पन्चर नै छ । जो नेपाली समाजको दुर्गती हो । चाहे ती राजावादी हुन या कुनै निश्चित उद्देश्यमा आधारित  मधेसवादी जस्ता क्षेत्रीय दल जो सगँ न त कहिल्यै संविधान संशोधनको पूर्ण म्याण्डेट प्राप्त हुन्छ । न त ठूला दल सरह सत्ता साझेदारीको हिस्सा रहन्छन । यसर्थ ती केवल मौसमी राजनीतिक उद्देश्यमा परिचालित सत्ता साझेदारका मामुली गोटीमा सीमित हुन्छन ।

फेरि नायकको खोजी  

हरेक समाजले राजनीतिक संकटबिचमै नायकको खोजी गर्छ । यो कुनै नौलो कुरा होइन । समाजमा राजनीतिक हिसाबले परीक्षित र  योग्य नागरिक चुन्ने र  त्यस प्रतिनिधिमार्फत आफैले राज गर्ने यो प्रतिनिधिमूलक लोकतन्त्रको संस्कार हो । तर नेपालको सन्दर्भमा यस नायक बिम्बको निर्माण भने निहित व्यक्तिद्धारा शासन सत्ता दुरुपयोको उपज बन्न पुग्यो । यसलाई हामीले नायकको खोजी गर्ने समाज हमेशा परनिर्भरतामा बाँचेको हुन्छ भन्ने भाष्य निर्माण सम्ममा पुग्यौ । इतिहास साक्षी छ, संसारको कुनैपनि  मुलुकको सार्वभौमिकता त्यस देशको शीर्ष राजनीतिक नायकत्वले नै निर्माण गर्न पुगेको छ । बस यसमा समय सन्दर्भिकता कत्तिको छ भन्ने मात्रै हो । भारत कै सन्दर्भमा हेर्ने हो भने भारत स्वतन्त्रता  सङ्ग्रामको समयमा गान्धी र अम्वेडकर जस्ता व्यक्तिको उदय र प्रभावकारिता उति नरहन्थ्यो भने आजको भारतको अस्तित्व पनि पक्कै रहँदैन थियो ।

 साथै आज त्यो समाजले उनीहरुको नाम पनि सम्झादैन थियो होला । यद्द्पी आजको समाजले ठ्याक्कै त्यही फेरि एउटा बुद्ध पठाइदेउ, फेरि अर्को गान्धी जन्माइदेउ,  या त मार्क्स नै  चाहिन्छ भनेर हारगुहार गर्यो भने निश्चय नै असान्दर्भिक हुन्छ । किनकि इतिहास बिगत बुझ्ने र त्यसमाथि टेकेर  भविष्यको समाज  निर्माण गर्ने महत्वपूर्ण खजाना हो । नेपाली  समाज  पनि यतिखेर बिषम राजनीति परिस्थितिबाट हामीमाझँ भएको विकास अभ्यास र लोकतन्त्रबारे पुनर्परिभाषा गर्न  खोजेको छ ।  पङ्तिकारको आशय यसैबिच माथि उल्लेखित जस्तो फुत्त कोही झुक्लियो भने हामीले उसलाई नायकत्वको पगरी गुत्थ्न हिचकिचाउनु हुदैन भन्ने होइन  बरु  खण्डित समाजलाई राट्रब्यापी  रुपमा जोड्ने मौलिक विचारको उदयमा शीर्ष नेतृत्वलाई स्वागत गर्नुपर्छ भन्ने हो । सबै जल्यो भन्दैमा सबैले आत्महत्या गर्दैन । विकल्प खोजीरहेको समाजले  खरानी  भएपनि  तत्कालीन परिवेश बाटै उठ्ने  हो । अनि मात्र त्यस समाजको जरा गहिरो हुन्छ र भविष्य को बाटो उज्यालो हुन्छ ।  

बालेन एक बुम र्‍याङ

२०७९ स्थानीय तहको चुनावसम्म्मा नारा स्वरुप बालेन एक बेथितिको ब्यङ्ग थियो । जसलाई नेताराजको भ्रष्टाचार पद्धतिलाई  सुँइठ्याउने बिम्बात्मक रुपले लौरो चिन्हले प्रतिनिधित्व गरेर आम जनतामाँझ लोकप्रिय भयो। यहाँसम्म नेपाली समाजमा राष्ट्रव्यापी नायकको खोजमा थिएन । तर कार्यपालिकामा एउटा पारदर्शी कुशल प्रशासकको खोजीमा भने थियो । तुलनात्मक हिसाबले तिनै विकृत राजनीतिक पाटीका प्रतिद्वन्दी माँझ स्वतन्त्र र प्राविधिक हिसाबले पनि उनमा दक्षता देखिन्थ्यो । समयसाक्षेप भवानात्मक रुपले नेपालीको भावनालाई पकड्न सक्षम भए । जनताले बहुमतले जिताए पनि । यसबाट उनलाई समाजले उदयीमन शासकको रुपमा भविष्यवाणी गर्यो । तर अहिले एकाएक उनको आलोचन  भैरहेको छ । किन ?  सवालको जवाफ खोज्न निम्न प्रश्नहरुको चुरो सम्मै पुग्नु पर्छ ।  सुरुदेखि प्रशासनिक विकासको आकँडासहित चुनावी अभियामा खटेका उनले विजय पश्चात् के गरे ?  राजनीतिक पाटीका उम्मेदवारभन्दा त्यस्तो आम जनताले ठ्याक्कै सम्झनै लायक काम के गरे ?  सडकबाट गुजारा चलाउनेहरुको उठीबास गराउने , भत्काउने कामबाट साच्चिकै ‘गरीबको चमेली बोल्दिने कोही छैन’’ नै कुरा साबित गर्यो । दुखका साथ भन्नुपर्छ,  नेपाली  समाजले त्यस्तो शासक खोजेको हैन ।

कुशल शासकले आम जनतासामु  प्रत्यक्ष मौखिक अन्तर्क्रिया गर्छ ।  अध्यारो गुफाभित्र लुकेर सामाजिक सञ्जालमा उत्तेजित भाषामा स्टाटस लेखेर युवा भिड्लाई उराल्नु कुशल शासकीय परिचायक  होइन । हालै जेन-जी आन्दोलनलाई त्यो उत्कर्षमा  पुर्याउन उनी जति जिम्मेवार छन त्यतिकै घाइतेहरुलाई  भेटघाट मार्फत सान्त्वनासम्म पनि नदिनु  यसमा उनी गैर जिम्मेवारका उदाहरण हुन ।  उसो त उनको चुनाव अभियानको स्वतन्त्र नामको प्रोपगाण्डादेखि आफ्नो महानगरको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ नक्साले  राष्ट्रवादको सवालमा लगभग चरम शाह वंशीय परम्पराको सम्मुखमा नै पुर्यायो । त्यसबखत उनी  राप्रपा नेपालका सदस्य हुन या स्वतन्त्रका नाममा परिचालित  मेयर  ?  भन्ने  आंकलन सम्ममा  समाज नपुगेको पनि होइन । हालै जेन-जी आन्दोलनपछि अन्तरिम सरकार निर्माणमा उनको विवादास्पद भूमिकाले भने नेताहरुलाई सतोसराप गरि विदेशीको दलाल करार गर्दै  ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’ भन्ने  गीतका मर्महरु यतिबेला अर्थहिन भएका छन नै । 

सिंहदरवार जलाउने पूर्वअभिव्यक्ति  होस या देश जलिरहेको अवस्थामा महानगरको भूमिकाबाट बञ्चित भएर उल्टै निरोको शैलीमा सोसल मिडियामा भिड उचाल्ने आक्रोसको धुन ओकल्नु यो कुनै संयोग मात्र होइन। यसर्थ नेपालको राजनीतिक इतिहासमा भदौ २४ लाई लोकतन्त्र हत्यामा रचिएको एक प्रकारको कोतपर्व हो भन्न मिल्छ । नेताहरुलाई दलाल करार गर्ने उनीमाथी यतिबेला नेपाली समाज पुन: उनको राजनीतिक व्यक्तित्च परीक्षणमा  छ ।  

वास्तवमा उनी को हुन ? हालसालै एकजना  नेपाली राजनीतिक बिश्लेषकले कुनै एक टिभी अन्तर्वार्तामा उनीबारे (लुसिफर  इज अराइजी? )भनेको  कुरा कतै काफी त छैन ?  जुन  आजको विश्व व्यवस्था र भूराजनीति बुझ्नेलाई सिबोलिज्म हो ।  जुन षड्यन्त्र सिद्धान्त  (conspiracy theory) को सिधा सम्बन्ध ( न्यू वर्ल्ड अडर) नयाँ विश्व व्यवस्थासँग जोडिन्छ । यसर्थ रहस्यको केन्द्रमा छन बालेन । इतिहासमा यस्ता पात्रहरुको उदय रहस्यमय नै हुन्छ । तर राजनीतिक संकटकालीन अवस्थामा देशलाई लोकतान्त्रिक भविष्यको मार्गदिने नेपाली बौद्धिक जगत् बिचलनमा परेको बेला ती विद्धानले बालेनको (लुसिफर? )तस्बिर चिनाउने धन्न आँट गरे ।  उनलाई साधुवाद  । किनकी  जस्तो  देखिन्छन्  बालेन, वास्तव मै त्यस्तो होइनन उनी । यसकारण बालेन माथि पनि सन्देह छ ।  

कुन जेन जी?

आज अधिकांश विश्वको कुनैपनि देशको शासन लोकतन्त्रमा आधारित छ र राजनीतिक दलहरु नै यसका हिमायती हुन । तर नेपाली राजनीतिक दलहरुको चरित्रका कारण सिङ्गो लोकतन्त्रलाई लज्जित बनाएको छ नै । जेन जी आन्दोलन पछिको दृश्यले फेरि दलीय राजनीति गर्नेहरुलाई चुनौती पनि खडा गरेको छ । समग्रमा भाद्र २३ जेन जी आन्दोलन बेथितिको विरुध्द र लोकतन्त्रको पक्षमा थियो । न कि भाद्र २४ को सत्ता कू को रणनीतिमा आधारित । राज्यका तीन सर्वोच्च निकाय आगजनी र अपवादमा रास्वपा र राप्रपा बाहेक अन्य सम्पूर्ण नेताका घरमा आगजनी हुनु ।

संसद विगठन हुदै अन्तरिम सरकारमा रहस्यमय वा भनौ कथित परिचालित व्यक्तिहरुको नियुक्तिले जन्माएको आशंका त बेग्लै छ । तर दुई दिनमै सत्ता पटलको इतिहास रचेको जेन जी आन्दोलन यसपछि विविध धारमा छरपस्ट र घनघोर वैचारिक अन्यौलमा छ । स्वार्थसमूह केन्द्रित हारगुहारको माध्यमबाट सरकारमा जेन जी नियुक्तिको हल्लासँगै जेन जीलाई एउटा ठट्यौली आरोप पनि लागेको छ । वास्तवमा जेन जी सिकारी कालिज मार्न हिडेको  थियो, तर उसले बाघ मारेपछि परिणाम यस्तो बन्न पुगेको हो । उ सगँ न त  लोकतन्त्र सवलीकरणको सैध्दान्तिक दस्तावेज थियो, न यसको  विकल्प नै ।  

वास्तवमा जेन जी लोकतन्त्रको विकल्प कस्तो व्यवस्था चाहान्छ ? वास्तमै अबको जेन जी के हो ?  यसको वास्तविक पहिचान के हुन्छ?  कुनै निश्चित राजनीतिक पाटी जस्तो हुन्छ कि ? या बेलाबखत सडकमा उत्रने  मौसमी विचार मात्र रहन्छ ?  र अब जेन जीले देशव्यापी रुपमा वैकल्पिक राजनीति मार्फत युवाहरुलाई कसरी जोड्छ ? अन्यथा जेन जी का नाममा प्रयोग भएर पुरानै दलहरुको दलनमा फस्ने त होइन?  शान्तिपूर्ण भनिएको आन्दोलन अन्तमा हिसांत्मक बन्न पुग्यो र देशमा भौतिक र मानवीय क्षति व्यापक  हुन गयो । यो कसरी भयो ?  र कसले गरेको हो ? यसमा जेन जी पुस्ता कत्तिको जिम्मेवार छ? आन्दोलनमा घुसपैठ भएर जेन जी प्रयोग भन्ने पनि हल्ला छ । यसमा कत्तिको सत्यत्ता छ ?  यस आरोपको खण्डन गर्न के  जेन जी तयार छ?  यी यावत् प्रश्नहरुको  बिच मैदानमा उत्रनु पर्ने हुन्छ । कुनै अमुख राजनीतिक दल घोषणा  मात्र यसको समाधान होइन  ।

यसैबिच राजावादी वा अन्य राजनैतिक स्वार्थ समूह  निकटका जेन जीहरुको पनि  आन्दोलनलाई दिशा दिने आफ्नै मेनिफेष्ट्रो हुनुसक्ला । तर सवाल  के  उ जेन जी चाहान्छ  भन्ने मात्र होइन । सवाल कस्तो बनाउनु आवश्य छ भन्ने पनि हो । त्यसैले वस्तुगत ढङ्गले नेपालको सामाजिकीबारे  नबुझि  नेपालको  समग्र विकास बारे पनि ठिक  ढङ्गले  सोच्न सकिदैन भन्ने हो  । तर दुर्भाग्य नेपाली समाजमा विकास होस या कुनैपनि आन्दोलन र विचारको मोडेल कहिल्यै मौलिक हुन सकेन । खैर यस अघिको जेन जी के हो,  त्यो त यस आन्दोलनले पुष्टि गरिसक्यो । सायद  अब स्वतन्त्र  उमेर समुह भित्रको परिभाषामा मात्रै  सीमित नरहला । यसले आफ्नो वैचारिक स्वरुप स्पस्ट नबनाए सम्म  अन्यथा भदौ २३ र २४  को  घटनाक्रम र समग्र आन्दोलन र त्यसको औचित्यमाथी प्रश्न गर्नुपर्ने  हुन्छ - कुन जेन जी?  

अबको बाटो  

स्वभाविक रुपमा यतिखेर लेखिने हरेक आलेखहरुका शीर्षक अन्तमा ‘अबको बाटो’ ? भन्ने तर्फ नै लक्षित छन । किनकि यसको न्यारेटिभ्स जेन जी आन्दोलनले निर्माण गरेको छ । यसै सन्दर्भमा बन्ने नेपाल कस्तो हुनेछ भन्ने भविष्य माथीको एउटा भाष्य  अहिले  लगभग तय छ । जसको ट्रेलर  गत भदौ २४ मै देखियो । अन्तमा भन्नुपर्ने कुरा ,राष्ट्रवाद एउटा ढोंग हो ।  

आजको विश्वमा कुनैपनि देश सार्वभौम हुने वा नहुने भन्ने कुराको निर्क्यौल भौतिक रुपमा बाह्य हस्तक्षेपको प्रत्यक्ष प्रभाव मात्रै रहेन । त्यसको लागी मट्टितेल आफैँ छर्किएर र सलाई नेपाली जनताकै हातमा थमाए पुग्यो । बस् त्यसपछि आफै जल्छ सिहंदरवार । यद्दपी प्रधानमन्त्री सुशीला कार्कीका शब्द अनुसार यदि यो देश ‘सिहंदरवार जलाउने हात नेपालीका होइनन्’ भने सलाई कोर्ने हात पत्ता लगाउने  जिम्मा पनि जेज जीले भरोसापूर्वक उनैलाई नै सुम्पेको छ । यो अवसरबाट  उनी नचुकुन । त्यसपछि मात्र यस आन्दोलनको औचित्य रहन्छ । फाल्गुन २१ मा निर्वाचन तोकिसकेको सरकारबाट यो भन्दा  ज्यादा अपेक्षा पनि रहेन । यद्दपी आगामी निर्वाचन पश्चात्  प्रत्यक्ष कार्यकारी सहितको वर्तमान  संविधान कायम रहेको  खण्डमा  त्यसलाई जेन जी आन्दोलनको  एक अद्धितिय उपलब्धि मान्नुपर्ने  हुनेछ । जेन जी  कै न्यारेटिभ्स अनुसार पुराना दलका पुराना भ्रष्ट नेता होइन, युवा सहभागिता सहितको सुधारिएको लोकतन्त्र चाहिएको हो । बरु यसैबिच दलहरुमा शिर्ष नेतृत्व पुन निर्माणको खाँचो औंल्याईएको छ ।  

आगामी निर्वाचन सम्म नेपाली कांग्रेसमा पाटी अधिवेशन र  देउवा तहको  नेतृत्व बहिर्गमन नभए यसको हालत भारतिय कांग्रेसकै जस्तो नहोला भन्न सकिन्न । त्यसपछि भारत जोडो अभियान चलाएर बस्ने राहुल गान्धी जस्तै बन्ने हुन ,गगनहरु । एमालेबाट यसको अपेक्षा पनि गर्न सकिदैन । यसभित्र ओली एकल डन हुन । उनकै कार्यकालमा यो देश खरानी हुदापनि उनले एक सार्वभौम संस्थाको तर्फबाट तत्कालीन सरकारले गरेका गल्ति कमजोरीहरुको जिम्मेवारीपूर्ण स्विकारोक्ती सहित आत्म आलोचना गर्नु त कता हो कता झनै व्यक्तिगत तहमा ओर्लेर  निम्न अभिव्यत्ति दिएर भस्मासुर साबित भए । यसर्थ उनी सुध्रिने छनक पनि देखिदैन । बरु उल्टै मोदी बनेर पाटीलाई भाजपा जस्तो बनाउने  बाटोमा छन । 

कथम् कदाचित नख्खु कारागारबाट रबि लामिछाने निस्के भने, ओलीलाई उछिन्ने उनै हुन । यसमा किनारको साक्षी भने माओवादी नै बन्ने देखिन्छ । यसैबिच नँया दल उदयको  सम्भावना पनि छ । चाहे  पूँजिवादी संसदीय व्यवस्थासँग विमति राख्ने वैज्ञानिक समाजवादी तप्का हुन या यहि व्यवस्थाभित्र विकल्प खोज्ने अन्य उदयीमन राजनीतिक शक्ति तिनीहरुले पनि आफ्नो  सैध्दान्तिक दस्तावेज जेन जी पुस्तासामु पुनर्ब्याख्या गर्नुपर्ने  बेला आइसकेको छ । यसै आन्दोलन बिच राजनीतिक दल  निर्माणबारे चर्चामा आएका हर्क साम्पाङ राईले पाटीको नाम ,चुनाब चिन्ह माटो लगायतका कार्यसमितिको हल्ला जायज हो भने ,उनको माटोमा रोपेको श्रम क्रान्तिको विचारले समग्र नेपालीलाई पोषण गर्ने उन्नत जातको मौलिक राजनीतिक विचार नभई केवल एकल नश्लिय परम्पराको फल प्राप्त हुने पक्का छ । बालेन ?  नेपाली समाजको लागी ऊ अब एक बुमर्‍याङ हो  । जसको बारेमा सुरुमै भनियो ।

तथास्तु ! 

प्रकाशित: ३ कार्तिक २०८२ १६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App